0
प्रतिक्रिया
पोखरा । तनहुँस्थित बन्दीपुर केबुलकार एण्ड टुरिजम लिमिटेडको आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेकालाई आईपीओ खुल्न लागेको छ ।
जारी पूँजी दुई अर्ब ८३ करोडको २०दशमलव७० प्रतिशत शेयर अर्थात् ५८ लाख ६० हजार कित्ता सर्वसाधारण समूहमा निष्काशन गर्न लागिएको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए ।
उनले भने, ‘अंकित मूल्य एक सयका दरले कम्पनीको आईपीओ निष्काशन हुनेछ, जसमध्ये आयोजना प्रभावित स्थानीयका लागि पाँच लाख ६६ हजार कित्ता छुट्याइएको छ ।’
बिक्री प्रवन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ । आयोजना प्रभावितका रुपमा तनहुँ जिल्लाका बन्दीपुर गाउँपालिकाका सबै वडा, आँबुखैरेनी गाउँपालिकाका सबै वडा, भानु नगरपालिका वडा नं १ तथा गोरखा जिल्लाको पालुङटार नगरपालिका वडा नं ७ का स्थानीय पर्ने उनले बताए ।
यस्तै वैदेशिक रोजगारमा गएकालाई पाँच लाख २९ हजार चार सय कित्ता छुट्याइएको र वैदेशिक रोजगारमा रहेकाले छिटोमा साउन ९ गतेसम्म र सो दिनसम्म सम्पूर्ण रुपमा बिक्री नभएमा ढिलोमा २० गतेसम्म आवेदन दिन सक्नेछन् ।
आयोजना प्रभावित स्थानीयले छिटोमा साउन २० गते र ढिलोमा भदौ ४ गतेसम्म न्यूनतम १० तथा अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सकिने अध्यक्ष शर्माको भनाइ छ ।
आयोजना प्रभावित स्थानीयले केबुलकारको कार्यालय, आँबुखैरैनी गाउँपालिकाको कार्यालय, भानु नगरपालिका वडा नं १ को कार्यालय तथा गोरखाको पालुङटार नगरपालिका वडा नं ७ को कार्यालयमार्फत फारम लिन र तिनै कार्यालयमा पनि बुझाउन सक्नेछन् । वैदेशिक रोजगारमा रहेकाले भने अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सक्नेछन् ।
अध्यक्ष शर्माले भने, ‘कम्पनीको मुख्य बिजनेस भनेको केबुलकार सेवा हो, बन्दीपुरमा केबुलकार व्यवसायिक रुपमा सञ्चालनमा आएको छ, केयर रेटिङ नेपालबाट बीबी रेटिङ पाएको छ, जसले दायित्व वहनमा कम्पनीलाई मध्यमस्तरको संकेत गर्दछ ।’
ब्याजसहित आयोजनाको कुल अनुमानित लागत तीन अर्ब ८५ करोड छ । गत चैत मसान्तसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ ९२ रुपैयाँ ४१ पैसा छ । त्यस्तै प्रतिशेयर आम्दानी दुई रुपैयाँ ८४ पैसा ऋणात्मक छ भने सञ्चित नोक्सानी १० करोड छ लाख रुपैयाँ छ ।
Copyright © 2024 | All rights reserved.