0
प्रतिक्रिया
२०८२ श्रावण महिनाको मासिकफल
यस महिनामा ग्रहस्थिति साधारणतया उत्तम छन् । बिहीबारको संक्रान्ति तथा औँशीको योग बनेको छ । राम्रो वर्षा र बजार व्यवस्था समर्घताले जनमानसमा केही प्रशन्नता रहनेछ । सन्तुलित राजनीतिले जनतामा केही सुधारात्मक व्यवस्थको अनुभूति हुनेछ । यो महिनामा सुनचाँदी आदिको मूल्य कम हुने, रुई, सुती कपडा, खाद्यान्न, खाद्य तेल, इन्धनको मूल्य तेजी रहनेछ । शेयर बजारमा अत्यधिक उतारचढाव रहनेछ । बर्सेवाली सामान्यतः राम्रो रहनेछ ।
यो महिनाको १, १६, २३, २५ र २९ गते धेरै वर्षा हुने सक्नेछ । यो महिना नयाँ रोगव्यादीको प्रकोप हुन सक्नेछ । यस महिनामा खीरदानको विशेष महत्व छ । वस्त्र, घृत, दूध, वनौषधि, रत्न, यज्ञोपवित आदिको दान, विश्रामस्थलको निर्माण, ब्राम्हणलाई पायसको भोजनले वंशवृद्धि हुन्छ ।
२०८२ साउन महिनाको राशिफल
मेषः सूर्य मेष राशिबाट चौथो स्थान वा कर्कट राशिमा हुनेछ । त्यसैले यो महिना चुनौतीपूर्ण हुनेछ । परिवार र कामका बीच सन्तुलन कायम गर्न समस्या पर्नेछ । मानसिक दबाबले बेचैनी हुन सक्छ, जसले तपाईंको निद्रामा समस्या ल्याउनेछ । परिवारमा अनावश्यक विवाद आउन सक्छ । साउन महिनामा तपाईं र आमाको स्वास्थ्यमा समस्या देखिन सक्नेछ । आत्मविश्वासमा कमी आउन सक्छ । प्रेम सम्बन्धमा पनि आपसी बादविवादबाट बच्नुपर्नेछ । यो महिना घमण्ड र जिद्दीपना बढ्ने भएकाले प्रत्येक कुरामा अडान लिने बानीले दुःख पाइने छ । शनिका कारण आत्मबल र जीवनीशक्तिमा कमी भएको अनुभूति हुनेछ भने आँफूलाई कमजोर भएको अनुभूति हुनेछ । व्यर्थको काममा आफ्नो ऊर्जा नाश हुनेछ । परिवारजनको अस्वस्थताले तपाईंको मन अशान्त हुनेछ । आफ्नो अधिकार प्रातिका लागि खूब संघर्ष गर्नु पर्नेछ । घरमा आमा हुनुहुन्छ भने उहाँको स्वभावमा कडापन देखिने र परिवारका अन्य सदस्य र केटाकेटीसँग विवाद हुने वातावरण बन्न सक्छ । यस अवधिमा विद्यार्थी तथा किशोर अवस्थाका व्यक्तिमा आत्मविश्वासको कमी हुनेछ, त्यसैले उनीहरू लक्ष्यप्रति भ्रमित बन्न सक्छन् । घरेलु समस्याले सताउने छ । मित्रले धोका दिनेछन् । विश्वास गरेकाहरुले धोका दिँदा बद्नाम हुन सक्छ । समयमा निर्णय नहुँदा आफ्नो काममा अरुले अधिकार जमाउनेछन् । शैक्षिक क्षेत्रमा घरेलु कारणले बाधा आउनेछ ।
तर सम्पत्ती किन्न चाहनेका लागि यो महिना शुभ र राम्रो अवसर हुनेछ । अन्य क्षेत्र सामान्य रहन सक्छ । संघर्ष गरेरै काम सम्पादन गर्नुपर्नेछ । अवसर खोज्दा व्यवधान आए पनि मिहिनेतले सफलता मिल्नेछ । अरूको भरपर्दा काम रोकिन सक्ने भएकाले तपाईं आँफै जुट्नुहोला । कतिपय काममा मर्यादा र नियम मिचेर अघि बढ्नुपर्ने हुन सक्छ । विद्यार्थीलाई महिनाको उत्तरार्ध बढी फलदायी रहनेछ । विदेश जाने अवसर मिल्न सक्छ । १७ गते लाभदायक यात्राको सम्भावना ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिन्छ । तपाईंको चलाखीपूर्ण बोलीले सङ्कल्प सिद्ध हुनेछ । परिश्रमअनुसार उपलब्धि राम्रै पाइनेछ । आर्थिक पक्ष मजबुत देखिन्छ । व्यवसाय वा नोकरीको सन्दर्भमा वा वैदेशिक प्रयोजनको काममा घरबाहिर जानु पर्ने परिस्थिति बन्नेछ ।
साथै यो महिना विद्या, बुद्धि र विवेकको प्रयोग गरी सुखसुविधा बढाउन ध्यान दिनु हुनेछ । तपाईं विवाहित हुनुहुन्छ भने पति वा पत्नीले बढुवा वा प्रशंसा पाउने समय छ । बुध ग्रहको प्रभावले नयाँनयाँ व्यक्तिसँग सम्पर्क हुनाले भाग्य बढ्ने छ । शुक्रको प्रभावले भाग्य वृद्धि हुनेछ । मनले इच्छाएको काम पूर्ण गर्न सकिने छ । छोराछोरीको उन्नति प्रगति र व्यक्तित्व विकासका निमित्त खर्च बढ्ने छ । साउन महिनामा भाग्य भावमा सामान्य कमजोरी देखिए पनि पेशागत रूपमा विद्यार्थी, व्यापारी, उद्यमी, गृहिणी तथा कर्मचारी सबैले आआफ्नो कर्मक्षेत्रमा खटेअनुसारको परिणाम पाउने महिना देखिन्छ । विद्यार्थीले आआफ्नो क्षमताको प्रदर्शन गर्दै सरकारी वा गैरसरकारी सेवामा नोकरी प्रवेश गर्न तत्परता देखाउने छन् र सफलतासमेत हासिल गर्नेछन् । व्यापारीको दैनिक आम्दानीमा बृद्धि हुनेछ, घरायसी सुख र पारम्परिक काममा केही धनराशि खर्च हुनेछ । गृहिणीले भ्रमण, पर्यटनमा जाने तथा नयाँनयाँ वस्त्र र आभूषण जोड्ने समय छ । कर्मचारीले बढुवा वा प्रशंसा प्राप्त गर्ने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिन्छ । यसैगरी वैदेशिक कार्यमा र व्यवसायमा घरबाहिर बसेर गरेको निर्णय बढी प्रभावकारी हुनेछ । नोकरी तथा राजनीतिमा प्रतिस्पर्धाले मात्र सफलता मिल्नेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । भाग्य बलियो छ । धन लाभ पनि राम्रै हुनेछ । संयमता भने महिना भरि नै अपनाउनु पर्नेछ । प्रेम गर्ने अवसर मिल्नेछ । नयाँ कामको सुरुवात हुनेछ । सफलताका लागि गोपनीयतामा जोड दिनुहोला ।
यो महिनाका लागि शुभ अङ्क १, २ र शुभ रङ्ग हल्का पहेंलो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महाकालीजीको ध्यान गरी कार्य आरम्भ गर्दा शुभफल प्राप्त हुनेछ । राशिस्वामी नीचगृहमा रहेकाले तपाईंले आठमुखे रुद्राक्ष मन्त्रसिद्ध गरी धारण गर्नु वा मुगा रत्न धारण गर्नु राम्रो हुन्छ । हरेक काम गर्दा भगवान् सिद्धि गणेश वा हनुमानजीको उपासना गर्ने बानी बसालेमा समेत शुभफल पाउन सक्नुहुन्छ । सामान्यतया यस महिनाको ६, ७, ८, १५, १६, १७, २४ र २५ गतेको चन्द्रमा तपाईंका लागि प्रतिकुल रहने भएकाले हरेक काममा सतर्क हुन आवश्यक छ । साउन महिना तपाईंका लागि ६० प्रतिशत फलदायी रहनेछ ।
वृषः २०८२ सालको साउन महिनाभर सूर्य वृष राशिबाट तेस्रो स्थानमा रहनेछ । यो गोचर वृष राशि भएका व्यक्तिका लागि राम्रो रहन सक्छ । साहस र बहादुरीले काम वा व्यवसायको क्षेत्र मजबुत हुनेछ । एक भन्दा बढी अवसर प्राप्त हुने सम्भावना छ, जसले भविष्यमा लाभको मार्ग प्रशस्त गर्दछ । तपाईंको व्यावसायिक जीवनमा परिवर्तन यसै महिना सम्भव छ । विद्यार्थीले पढाईमा राम्रो परिणाम पाउन सक्छन् । काम विशेषको यात्राको सम्भावना रहेको छ । यो महिना तपाईंका लागि अत्यन्त सकारात्मक पनि रहनेछ । शुक्र ग्रहले साउन महिनामा कामको लक्ष्य प्राप्ति हुनेछ । बहुप्रतीक्षित इच्छा, आकांक्षा र उद्देश्य सफल हुन सक्छन् । आकस्मिक रूपमा धन प्राप्तिको सम्भावना समेत छ । स्वास्थ्यका दृष्टिकोणले पनि यो महिना राम्रै रहनेछ । महिनाको उत्तरार्द्धमा घरायसी सुखसुविधा, अचल सम्पति, वाहन सुख, स्त्रीसुख जुटाउने समय रहेको छ । व्यापारीले उचित ठाउँमा धन लगानी गर्ने र भविष्य सपार्ने समय रहेको छ । गृहिणीले आम्दानीको मार्गमा वृद्धि भएको अनुभूति गर्नेछन्, नयाँ जग्गा जमिन जोड्ने वा पतिको कार्यप्रगति हुने सम्भावना देखिन्छ । कर्मचारीले मनले चाहेको जिम्मेवारी प्राप्त गर्नुका साथै अचल सम्पत्ति खरिद गर्न अनुकूलता प्राप्त गर्नेछन् । इच्छा र आकांक्षा पूर्ण हुनेछ ।
वृष राशिमा जन्मिएका गृहिणी, उद्यमी र व्यापारी तथा कर्मचारीले राम्रो परिणामको आशा गर्दा हुन्छ । परिस्थिति अनुकूल बन्दै जाने र नयाँ अवसर जुट्नेछन् र मिहिनेतले उपलब्धि दिलाउनेछ । प्रतिष्ठित व्यक्ति पनि तपाईं सहयोगी बन्नेछन् । बल, तेज, पराक्रम बढ्नुका साथै आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सफल भइनेछ । उद्योगधन्दा तथा पेसा–व्यवसाय फस्टाउनेछ । आर्थिक पक्ष सबल बन्नेछ । महिनाको ग्रह गोचर राम्रो रहने भएकाले मनमा उत्साह र शरीरमा उमंग बढ्नेछ । नयाँ कामहरु गर्ने अवसर मिल्नेछ । भाग्य बलियो हुनुको धन मनग्य कमाउने अवसर मिल्नेछ। मान सम्मान पाउने योग छ । बैदेशिक कार्यमा संलग्न हुने र अरुको विश्वास जितेर काममा सफलता पाउने योग छ । पढाइमा सफलता राम्रै मिल्नेछ ।
तर यो महिना यात्रामा समस्या पनि हुन सक्छ । तपाईं र तपाईंको निकटका साथीहरु बीच बारम्बार असहमतिको सम्भावना छ, त्यसैले सावधान हुनुहोस् । व्यवसाय वा काममा बढी मिहिनेत गर्ने हुँदा स्वास्थ्य स्थितिमा नकारात्मक असर पर्न सक्छ । भाग्येश शनिश्चरले खर्चको मात्रा बढ्ने छ र कुनै गुप्त कारोबार वा गतिविधिका क्रममा हानी ब्यहोर्नु पर्नेहुन्छ । आकस्मिक रूपमा स्वास्थ्यमा बाधा र धनहानीसमेत हुन सक्नेछ । अन्धविश्वास र भ्रमले डेरा जमाउने देखिन्छ । महत्वाकांक्षा र असम्भव आशा जाग्नाले निराश हुन सक्नुहुन्छ । यसैगरी राहु र केतु ग्रहका कारण विद्यार्थीमा भ्रम र महत्वाकांक्षा हाबी हुने खतरा रहने छ, उमेर पुगेका विद्यार्थीको प्रेमप्रसंग र प्रणय सम्बन्धतर्फ आकर्षण देखिनाले पढाइ प्रभावित बन्न सक्छ, सचेत हुनुहोला । यो महिनाको उत्तरार्धबाट तनाव बढेको महसुस हुनेछ । नजिकका व्यक्तिबाट कार्यमा बाधा आउनेछ । हठ गर्ने बानीले साथीभाइ भने टाढिन सक्छन् । यो महिनाको २२ गते सामाजिक र राजनैतिक कार्यमा बाधा आउन सक्छ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । बोल्दा विचार पुर्याउनु होला नत्र कुरा काट्नेहरुले मौका हेरेर फसाउने प्रयत्न गर्नेछन्। घरेलु समस्याले सताउने हुँदा सफलता प्राप्तिको लागि घरबाहिरै रहनु उचित हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिन्छ ।
यो महिनाका लागि शुभ अङ्क २, ७ र शुभ रङ्ग सेतो रहेको छ । कुनै शुभकर्म गर्नु पूर्व अथवा यात्रामा जानु अघि महादेवको आरधना गर्नु उत्तम हुनेछ । अशुभ परिणाम प्राप्त नहोस् भन्ने उद्देश्यले तपाईंले हरेक दिन शनि ग्रहको बीजमन्त्रको जाप गर्ने वा आफ्नो जन्मलग्नको अनुकूलता हुने गरी नीलम, नीली वा जामुनिया रत्न धारण गरेको जाति हुन्छ । सामान्यतया यस महिनाको ८, ९, १०, १७, १८, १९, २६, २७ र २८ गते तपाईंको राशिबाट अशुभ गृहमा चन्द्रमाको उपस्थिति रहने देखिन्छ । साउन महिना तपाईंका लागि ७० प्रतिशत फलदायी रहनेछ ।
मिथुनः २०८२ सालको साउन मिहनामा सूर्य साउन महिनाभर तपाईंको राशिबाट दोस्रो भावमा रहनेछ । यो गोचरले तपाईंलाइ कार्यस्थलमा ऊर्जा र उत्साह दिनेछ । यो महिना पैसा बचतमा ध्यान दिँदा राम्रो हुनेछ । पदोन्नति वा तलब वृद्धिको राम्रो सम्भावना हुनेछ । तपाईंको आधिकारिक प्रकृतिले नेतृत्व गुणहरू दिनेछ । अधीनस्थलाई प्रेरित गर्दा कठोर शब्द त्याग्न प्रयास गर्नुहोस् । तपाईं दीर्घकालीन लक्ष्यमा पैसा लगानी गर्न प्रयास गर्नुहुनेछ । भौतिक सुख–सुविधा प्राप्त भइरहनेछन् । अध्ययन र अनुभवलाई व्यवहारमा उतार्ने समय छ । मिहिनेतले सफलताको उचाइ प्राप्त गर्न सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । विद्यार्थीले कुनै पनि परीक्षाको नतिजाको प्रतीक्षा गर्दै हुनुहुन्छ भने कर्मअनुसारको राम्रो परिणाम पाउनु हुनेछ ।
यो महिना धन सम्पत्तिको सञ्चय गर्ने मानसिकता बन्नेछ, तर आर्थिक दृष्टिले यस अवधिमा लाभ मिल्नेछैन । महत्वाकांक्षा राख्नाले निराशा हात लाग्नेछ । पारिवारिक झैझमेला र समस्या बढ्नाले मन विचलित हुन सक्छ र पारिवारिक जीवनमा निराशापना देखिने सम्भावना छ, प्रेम जीवन र दाम्पत्य जीवनमा कलहको सम्भावना भएकाले घरायसी समस्या र परिवारजनका भावनालाई समेटेर अघि बढ्नु राम्रो हुनेछ । नोकरी र कार्यक्षेत्रमा सन्तोषजनक परिणाम प्राप्त हुनेछ । स्वास्थ्यतर्फ आँखा र मुखको क्षेत्र कमजोर छन् । बोलीमा पनि अङ्कुश लगाएकै बेस हुनेछ । चाहिंँदो नचाहिंँदो कुरामा उत्साही र साहसी प्रवृत्ति देखा पर्नेछ । तर यस अवधिमा मनले इच्छाएको परिणाम प्राप्त गर्न कडा मिहिनेत गर्नुपर्छ । पेशा वा व्यवसायसँग सम्बद्ध परिवर्तन गर्न खोज्नु हानिकारक हुन्छ । जग्गाजमिनको किनबेच गर्ने प्रक्रियालाई स्थगित राख्नु बेस हुनेछ ।
यो महिना कर्मचारी र सामाजिक कार्यकर्ताले झमेला, किचलो र लफडामा फँस्ने समय चल्दैछ । राशिस्वामीमा बक्रता र अस्तावस्था रहेकाले राजनीति, समाजसेवा र सार्वजनिक प्रशासनमा काम गर्ने व्यक्तिले हरेक काममा गहिरो सोचविचार गर्नु बुद्धिमानी हुनेछ, नत्र आफैंले खनेको खाल्डोमा आफैं जाकिने डर हुन्छ । गृहिणीले सामान्य दैनिकीमा दौडधूप गर्दागर्दै कुनै खिन्नता र विषाद नब्यहोरी यो महिना बिताउनु हुनेछ भने व्यापारीहरूको आम्दानीको मार्गमा उतारचढाव आउने परिस्थिति बन्ने छैन । महिनाको प्रारम्भमा आफ्नै राशिमा उपस्थित राशिस्वामी बुधको बक्रताबाट प्राप्त हुने दुष्परिणाम प्राप्त नहोस् भन्ने उद्देश्यले तपाईंले आचरणको शुद्धतामा विशेष ध्यान पुर्याउनु पर्दछ । साथै तपाईंको झूटा गर्वले कठिन परिस्थितिमा लैजान सक्छ । पूर्वज सम्पत्तीले झगडा र तर्कहरू गराउन सक्छ । स्वास्थ्यमा समस्या देखिन सक्छ । सम्बन्धका लागि तपाईंले पार्टनरको भावनाहरुलाई सम्मान गर्नुपर्छ । व्यवसायमा केही मन्दी आए पनि नियमित आम्दानी भइरहनेछ ।
यो महिनाका लागि शुभ अङ्क ३, ८ र शुभ रङ्ग हरियो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरेमा कार्यसिद्धि मिल्नेछ । कला र गलाको प्रभाव बढ्दै जानेछ । कुनै देवीस्थानमा गएर एक आवृत्ति दुर्गा सप्तशती चण्डी पाठ गरिदिनु वा कुनै कन्यालाई रातो वस्त्र उपहारका रूपमा प्रदान गर्नु राम्रो देखिन्छ । सामान्यतया यस महिनाको १, २, ३, ११, १२, १९, २०, २१, २८, २९ र ३० गतेको चन्द्रमा तपाईंका लागि अनुकुल रहने देखिंदैन । साउन महिना तपाईंका लागि ६५ प्रतिशत फलदायी रहनेछ ।
कर्कटः २०८२ साल साउन महिनामा सूर्य तपाईंकै राशिमा आउँदैछ । जसले गर्दा ग्रह गोचर राम्रो रहनेछ । यो समयमा तपाईंको नेतृत्व कौशल सुधार हुनेछ । कडा इच्छा शक्तिले तपाइँको व्यावसायिक जीवनमा सफलता ल्याउँछ । तपाईं न्यायको पक्षमा रहनुहुनेछ । तपाईंले आफ्नो प्रतिभाले सबैलाई प्रभावित गर्न सक्षम हुनुहुनेछ । विद्यार्थीले अध्ययनमा ध्यान केन्द्रित गर्छन् जसले उनीहरुलाई सफलताको सही मार्ग पत्ता लगाउन मद्दत गर्नेछ । यो महिना प्रेम सम्बन्ध शुरू गर्नका लागि पनि राम्रो रहेको छ । राजनीतिमा सक्रिय व्यक्तिले उच्च सफलता प्राप्त गर्न सक्नेछन् । तपाईंको ध्यान वृद्धि, लाभ र इच्छा पूरा हुनेछ । तपाईं धन सञ्चय र दीर्घकालीन लगानीमा लाग्न सक्नुहुनेछ । वैदेशिक कार्यमा संलग्न भई अरुको साथ पाउँदा मनोबल बढ्ने र आँटेको काममा सफलता मिल्नेछ । परिश्रम गर्दा धन मनग्य कमाउने अवसर मिल्नेछ । पराक्रमको गति अरु बढ्नेछ । अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग पनि छ । व्यापारमा सुधार आउनेछ । टाढाको धार्मिक यात्रा गर्ने अवसर पनि मिल्नेछ । भेटघाटमा रमाउन सकिने छ । राज्यमा आफ्नो दक्षता प्रस्तुत गर्ने अवसर पनि मिल्नेछ । अरुको विश्वास जितेर महत्वपूर्ण उपलव्धि हासिल गर्न सकिनेछ । यो महिना पति अथवा पत्नीले कार्यक्षेत्रमा मानसम्मान पाउने र बढुवा भएको समाचार सुन्न पाउनु हुनेछ भने चलअचल सम्पत्ति जोड्ने, पुरानो लेनदेन मिलाउन सकिने छ । यस्तै छोराछोरीले आफ्नो कार्यक्षेत्रमा राम्रो उन्नति गर्नेछन् । व्यापारीले कारोबार विस्तारका लागि प्रयास गर्दा सफल हुनेछन् ।
तर साउन महिनामा कर्कट राशि भएका व्यक्तिको परिवारमा अहंकारले झगडा हुन सक्छ, त्यसैले कृपया बोल्नु अघि धेरै सोच्नुहोला । अप्ठ्यारा काममा हात हाल्नाले समस्याबाट बाहिरिन समय लाग्नेछ । महिनाको उत्तरार्धमा पहिले गुमेको उपलब्धि हातपार्न सफल भइनेछ । बलभन्दा बुद्धिविवेकले काम लिने चेष्टा गर्नुहोला । यो महिना योजना ठूलो बने पनि उपलब्धि हातपार्न समय लाग्नेछ । विश्वास गरेकाले साथ नदिने र कुरा काट्नेहरु षड्यन्त्र गर्न थाल्ने भएकोले संयम भएर काम गर्नुपर्ने छ । यो महिना बृहस्पति ग्रहको प्रतिकूलताले आफन्तले उपेक्षा गर्नेछन् । जसले तपाईंको मन अशान्त बनाउने छ । आफै निर्णय गर्न गाह्रो हुने भएकोले काम गर्दा सोचेर मात्र गर्नु पर्नेछ । जागिरमा उतारचढाव आउने भएकाले डटेर सामना गर्नुपर्नेछ । तपाईंले गरेका निर्णयमा कुटुम्ब वा चेलीबेटीको चित्त नबुझ्न सक्छ, ध्यान पुर्याउनुहोला । साथै यो महिनामा बृहस्पति र शनि ग्रह बक्री हुने भएकाले पति वा पत्नी अस्वस्थ हुने सम्भावना देखिन्छ भने धनमाल हराउने, चोरी हुने सङ्केत पनि छ, होस गर्नुहोला ।
यो महिनाका लागि शुभ अङ्क ५, ९ र शुभ रङ्ग सेतो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि सूर्य पूजा आरधना गर्दा अधिक लाभ मिल्नेछ । ग्रहपरिवेशमा देखिएको कमजोरीलाई व्यवस्थित तुल्याउन र वृहस्पतिको अनुकूलताका लागि हरेक बिहीबारका दिन गाईलाई कुनै पाकेको फल प्रदान गर्नु राम्रो हुनेछ । साथै इष्टदेवताको नित्य पूजापछि पहेंलो केशरी वा अष्टगन्धको टीका लगाउनु भएमा शुभफल प्राप्ति हुनेछ । सामान्यतया यस महिनाको ३, ४, ५, १३, १४, १५, २१, २२, २३ र ३१ गते तपाईंको राशिस्वामी चन्द्रमाले अशुभ घरको यात्रा गर्ने समय रहेकाले यी दिनमा तपाईं निकै सचेत हुनुहोला । साउन महिना तपाईंका लागि ६० प्रतिशत फलदायी रहने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिन्छ ।
सिंहः २०८२ साल साउन महिनामा सूर्य तपाईंको राशिबाट बाह्रौं भावमा आउँदैछ । जसका कारणले ग्रहले मध्यम फल दिनेछ । बहुर्राष्ट्रिय कम्पनीमा काम गर्ने वा निर्यात व्यवसायमा संलग्न व्यक्तिका लागि यो सूर्यको गोचर अनुकूल हुनेछ । कामको महत्व प्रमाणित गर्न कडा मेहनत गर्नुपर्नेछ । लामो पेशागत यात्राको सम्भावना रहेको छ । जसले काममा बढावा दिन्छ । परिश्रमले मनग्य धन कमाउने र व्यापारमा गरेको लगानीमा प्रगति राम्रो हुनेछ । प्रयत्न गर्दा काममा पनि उच्च सफलता मिल्नेछ । पढाइबाट लाभ पाउने योग छ । मान सम्मान पाउने महिना पनि रहेको छ । यो महिना जोस र जाँगर धेरै बढ्ने भएकाले नयाँ काममा संलग्न भई सफलता प्राप्त गरेर आनन्द पनि लिन सकिनेछ । धन आर्जन पनि राम्रै हुनेछ । नोकरी तथा राजनीतिमा सफलता पाउने ग्रहयोग रहेको छ । आध्यात्मिक क्षेत्रमा लाग्न चाहनेका लागि यो महिना राम्रो समय छ । यस महिनामा दाजुभाइ र दिदीबहिनीले आआफ्नो कार्यक्षेत्रमा उन्नति गरेको समाचार सुन्न पाइनेछ । महिनाको उत्तरार्धमा प्रेम प्रसङ्गमा सफलता मिल्नेछ । महिनाको अन्त्यमा सद्विचारले अभिप्रेरित हुनेहरूलाई विस्तारै लाभ हुनेछ । कुटुम्बबाट विशेष सहयोग मिल्नेछ ।
तर यो महिना खर्च गर्दा सावधान हुनुपर्छ, अनावश्यक खर्चले आर्थिक समस्या पनि आउन सक्छ । प्रेम जीवनको लागि बलियो हुनेछ तर विवाहित व्यक्तिबीच झगडा र मतभेदको सम्भावना हुन सक्छ । कानूनी मुद्दाहरूबाट बच्न नियम र कानूनको पालना गर्नुहोस् । अप्रत्याशित परिस्थितिबाट बच्नको लागि स्वास्थ्यको ख्याल राख्नुहोस् । विवादास्पद काममा हात हाल्नाले दुःख पाइनेछ । परिस्थिति अनुकूल नभएसम्म कार्ययोजना अघि नबढाउनुहोला । अनावश्यक दौडधुपमा समय बित्नेछ । सहयोगको नाउँमा आफ्ना कमजोरीको फाइदा उठाउनेहरू सक्रिय हुनेछन् ।
महिनाभरि राशिस्वामी सूर्य बाह्रौं भावमा रहने भएकाले अपव्यय, तनाव, झमेला र कष्टको परिस्थिति देखिन्छ । पानी वा कुनै प्राकृतिक वस्तुको प्रकोप रहने छ, शिरमा अहङ्कार र क्रोधले निवास गर्नेछन्, आफन्तका बीचमा मनमुटाव भइरहन्छ । लामो समयदेखि मनमा उठेका चाहना, कर्तव्य र इच्छा पूर्ण हुने परिस्थिति बन्नेछैन । जुनसुकै काममा आवेग, हडबड र शीघ्रतालाई बन्देज लगाउनु पर्छ । कर्मचारीको स्वास्थ्यमा आउने उतारचढावका कारण कार्यालयले महत्वपूर्ण अवसर र लाभ गुमाउनु पर्ने अवस्था आउनेछ । घर परिवारमा झैझमेलाको अवस्था आउने, सरकारी निकायको भय रहनेछ । यो महिना सूर्य र राहुको ग्रहको प्रतिकूलताले स्वास्थ्यमा संकट आउने, विवाद बढ्ने तथा चिन्ता बढ्ने योग पनि छ । अरुको काम धेरै गर्नुपर्ने तर जस नपाउने भएकाले तपाईंले विचार गर्नुहोला । यो महिनामा कुरा काट्नेहरु बढ्नेछन् । विश्वास गरेका व्यक्तिले धोका दिनेछन् । धनमाल हराउन सक्छ, झुटा आरोप लाग्ने सम्भावना भएकोले गोपनीयतामा ध्यान दिनुहोला ।
यो महिनाका लागि शुभ अङ्क १, ५ र शुभ रङ्ग सेतो वा रातो हो । यात्रा अथवा कुनै शुभकर्म गर्नु अघि हनुमानजीको आरधना गर्नु उत्तम होला । सिंह राशिका व्यक्तिले द्वादश भावमा रहेको राशिस्वामी सूर्य र मङ्गल ग्रहको बल प्राप्त गरेमा हरेक चुनौती र विघ्नमा सफलता प्राप्त गर्नुहुनेछ, त्यसैले तपाईंले यस महिनामा किशोर अवस्थाका बालकलाई पठनपाठनमा प्रयोग हुने कुनै चिजबिज दान गर्ने र दैनिक सूर्यनारायणलाई अर्घ्य दिने काम गर्नु बुद्धिमानी हुनेछ । सामान्यतया यस महिनाको ६, ७, ८, १५, १६, १७, २४ र २५ गतेको चन्द्रमा तपाईंका लागि प्रतिकूल रहने सङ्केत छ । साउन महिना तपाईंका लागि ५० प्रतिशत फलदायी रहनेछ ।
कन्याः २०८२ साल साउन महिनामा सूर्य तपाईंको राशिबाट एघारौं भाव अर्थात कन्या राशिमा आउँदैछ । यो कन्या राशिका लागि ज्यादै अनुकूल गोचर हो । जसले यस महिनामा तपाईंको सपना साकार हुन सक्नेछ । पदोन्नति प्राप्त गर्ने राम्रो सम्भावना हुनेछ । आर्थिक लाभ र सामाजिक स्थितिमा वृद्धि प्रदान गर्दछ । तपाईं एक भन्दा बढी कार्यमा सामेल हुन सक्नु हुनेछ । लगानीका लागि राम्रो महिना रहेको छ साउन । जसले भविष्यमा फलदायी परिणाम दिने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिन्छ । शेयर बजार जस्ता जोखिमपूर्ण लगानीले राम्रो प्रतिफल दिन सक्छ । यस अवधिमा आफन्तबाट पनि आर्थिक लाभ लिन सक्नुहुनेछ । मिहिनेतले सफलताको उचाइ प्राप्त गर्न सकिनेछ । सेवा तथा परोपकारी कर्मले तपाईंलाई प्रसिद्धि दिलाउनेछ । परिवारमा सुख-समृद्धि बढ्नेछ ।
साउन महिनामा पैसा मनग्य कमाउने अवसर मिल्नेछ । यात्रा गर्ने अवसर मिल्नेछ । व्यापारमा पनि लाभ मिल्नेछ । नोकरी तथा राजनीतिमा सम्मान पाउने योग छ । बोलीको प्रभाव बढ्ने क्रम यथावत रहनेछ । बौद्धिक कार्यमा रुचि बढ्नेछ । घर तथा सवारी साधन जोड्ने अवसर मिल्नेछ । साथै राज्यस्थानको सूर्य र कर्म स्थानको राशिस्वामी बुधको प्रभाव रहने महिना भएकाले साउन तपाईंका लागि अत्यन्त लाभकारी महिना हुनेछ । श्रावण महिना तपाईंका इच्छा र आकांक्षा पूर्ण गराउने महिना हुनेछ । बृहस्पति ग्रह पराक्रम स्थानमा रहेकाले यो महिना कन्या राशिका विद्यार्थीले गरेको मिहिनेतभन्दा राम्रो परिणाम प्राप्त गर्नेछन्, उपहार, पुरस्कार वा चिट्ठाको अवसर मिल्ने हुँदा छात्रवृत्ति वा शोधका लागि प्रयास गर्ने समय रहेको छ ।
तर व्यर्थ घमण्डले हानी गर्न सक्छ । प्रेम सम्बन्धका लागि गाह्रो महिना रहेको छ, सम्बन्ध बलियो बनाउन अहंकारलाई अलग राख्नुहोला । यो महिना राम्रो भए पनि शनि अढैयाका कारण खर्च बढ्ने, विबाद बढ्ने र शत्रु बढ्ने भएकोले गोपनीयता अपनाउनु उचित हुनेछ । स्वास्थमा बाधा, परिवारिक समस्या र मित्रसँग विवाद हुँदा बुद्धिले काम नगरेर समस्या आउनेछ । पढाइमा सानो सफलतालाई पनि धेरै परिश्रम गर्नु पर्ने, काममा लगानीको प्रतिफल पाउन निकै कसरत गर्नु पर्नेछ, संयम रहनु होला । व्यापार अघि बढाएमा लक्ष्य प्राप्तिमा पनि बाधा पुग्नेछ । पेशा अचानक परिवर्तन हुने, ठाउँ छाड्नु पर्ने परिस्थिति पनि बन्न सक्छ । घरायसी परिबन्द वा बाध्यात्मक काममा खर्चको मात्रामा नियन्त्रण गर्न सकिंदैन । अरुले गरेको अनुत्तरदायी क्रियाकलाप र असफलताका कारण चिन्तित बन्नुपर्नेछ । गृहस्थी जीवन र प्रेम सम्बन्धमा हुने झण्झट वा विवादबाट जोगिनु बेस हुनेछ । यो महिना विशेष काममा वा धन लगानी गर्ने दीर्घकालीन कारोबार गर्ने निर्णय लिनुअघि जान्ने बुझ्नेसँग परामर्श गरेमा राम्रो हुनेछ । कार्यक्षेत्रमा बोझ बढ्ने छ, पेशा वा रोजगारीका कारण घर व्यवहारमा समय दिन नसक्नाले अनावश्यक तनाव थपिन सक्नेछ, सतर्क हुनुहोला ।
साउन महिनाका लागि शुभ अंक २, ८ र शुभ रंग खरानी वा सेतो हो । कुनै शुभ कर्म गर्दै हुनुहुन्छ अथवा यात्रामा जाँदै हुनुहुन्छ भने शिवजीको ध्यान गर्दा अधिक लाभ हुनेछ । अशुभ पक्षको निवारण होस् भन्ने उद्देश्यले तपाईंले कुलपितृको आशीर्वाद ग्रहण गर्ने र लग्नेश बुधको बलप्राप्तिका लागि हरेक बुधवार वा अष्टमी तिथिका दिन माता दुर्गाको उपासना गर्नु राम्रो हुन्छ । सामान्यतया यस महिनाको ८, ९, १०, १७, १८, १९, २६, २७ र २८ गते तपाईंको राशिबाट अशुभ गृहमा चन्द्रमाको उपस्थिति रहने भएकाले सबै कार्यमा सतर्क हुनुपर्नेछ । साउन महिना कन्या राशिका लागि ७५ प्रतिशत फलदायी रहनेछ ।
तुलाः २०८२ सालको साउन महिनामा तुला राशिबाट सूर्यको परिवर्तन दशौं घरमा भइरहेको छ । सूर्यको गोचरले तपाईंलाई एक शक्तिशाली स्थिति प्रदान गर्नेछ । आधिकारिक पदमा नयाँ अवसर प्राप्त गर्नुहुनेछ, जसले आर्थिक लाभ र सामाजिक स्थिति बढाउँछ । राजनीतिमा रुचि राख्ने व्यक्तिले पनि स्थान बनाउने मौका पाउनेछन् । सरकारी काम वा ठेक्का पाउने सम्भावना छ । तपाईंको कडा मेहनत र प्रतिबद्धताले फलदायी परिणाम दिनेछ । व्यवसायको क्षेत्रमा विस्तारको सम्भावना छ । यो महिनामा प्रयास गर्दा सफलता धेरै काममा मिल्ने, बोलीको प्रभाव बढ्ने र अरुको विश्वास जिते तथा मान सम्मान पाउने योग छ । धन मनग्य कमाउने अवसर पनि साउन महिनामा मिल्नेछ । पराक्रम बढनुका साथै अधुरा काम बन्ने तथा नयाँ काम पाउने ग्रहयोग छ । नोकरी तथा राजनीतिमा गरेका प्रयासहरु प्रशंसनीय हुनेछन् । विदेशको सभा सम्मेलनमा जाने अवसर मिल्नेछ । तपाईँको लगनशीलता र इमान्दारीको प्रशंसा गर्नेको कमी हुनेछैन । व्यापारमा पनि सफलता पाउने योग छ । यात्रामा पनि लाभ मिल्नेछ । पढाइमा रुचि बढ्ने, मनोबल बढने, धार्मिक कार्यमा रुचि बढ्ने, विदेशबाट शुभ समाचार आउनेछ ।
साउन महिना तपाईंका लागि अत्यन्त क्रियाशील र व्यस्त रहने कर्मक्षेत्रको परीक्षणको समय हो । व्यापार र नोकरीका माध्यमबाट लाभ मिल्नेछ, हाकिम, माता पिता र वरिष्ठ व्यक्तित्वको सहयोग र सद्भाव मिल्नेछ । नयाँ व्यवसाय वा रोजगारीको प्रबल सम्भावना छ । मंगल ग्रहको प्रभावले सन्ततिपक्षबाट खुसीको समाचार प्राप्त हुनेछ, नयाँ दम्पतिले सन्तान जन्माउने योजना बनाउन यो महिना उत्तम समय देखिन्छ । तुला राशिका विद्यार्थी र कर्मचारीले यो महिनाले हरेक क्रियाकलापमा उपलब्धी हासिल गर्नेछन् । नवम, दशम र एकादश भावमा राशिस्वामीको यात्रा हुने भएकाले नयाँ रोजगारीका लागि प्रयास गर्नेले सानो प्रयासले प्रतिस्पर्धा र प्रतियोगितामा सफलता हासिल गर्नेछन् । शैक्षिक प्रक्रियाद्वारा विदेश जान खोज्ने विद्यार्थीले उच्च सफलता हासिल गर्नेछन् । कर्मभावमा सूर्य रहेकाले कर्मचारीले बढुवा, प्रशंसा र आर्थिक लाभ लिने समय चल्दैछ । यो महिना अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । व्यापार व्यवसायमा औसत लाभ हुनेछ । नयाँ कार्यको थालनी हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । सजिलै अरुको बिश्वास जित्न सकिनेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ महिना रहेको छ ।
तर बुध ग्रहको प्रभावले सरकारी काम वा मुद्दामामिलामा झन्झट ब्यहोर्ने समय छ, सचेत हुनुहोला । पद र प्रतिष्ठामा आँच आउने डर हुनेछ । जुनसुकै काम जान्ने बुझ्ने र जानकार व्यक्तिको सल्लाहमा मात्रै गर्नुहोला । पिता वा परिवारका ज्येष्ठ सदस्यको स्वास्थ्य स्थितिप्रति सचेत हुनुपर्नेछ । राहु ग्रहको उपस्थितिका कारण आर्थिक पक्ष असन्तुलित बन्ने देखिन्छ । साथै गृहिणी र बन्दव्यापारमा संलग्नले प्रत्येक काममा बाधा र किचलोको सामना गर्नुपर्नेछ । आफ्नै लापरबाहीले गर्दा सरकारी दण्ड वा जरिवानामा पर्ने देखिन्छ । बृहस्पतिका कारण हरेक काममा विवाद र झैझगडाको परिस्थिति बन्ने भएकाले बोल्दा विचार गरेर बोल्नु वा मुख बाँध्नु नै राम्रो हुन्छ । यो महिना परिवारका सदस्यसँग वैचारिक असहमति उत्पन्न हुन सक्छ, विशेष गरी पिताजीको साथ सम्बन्ध बलियो बनाउन प्रयास गर्नुहोस् । अनावश्यक विवादबाट टाढा रहनुहोस् । यो महिना स्वास्थ्यको लागि सामान्य छ, तर तपाईको जोशले चोटपटकको जोखिम हुन सक्छ ।
यो महिनाका लागि शुभ अङ्क १, ४ र शुभ रङ्ग सेतो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवालयको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ । यो महिना तपाईंले बृद्धाश्रम वा अनाथालयमा गएर गुलियो भोजन गराउनु र कुलपितृ तथा शिवका उपासनामा जोड दिनु राम्रो हुनेछ । सामान्यतया साउन महिनाको १, २, ३, ११, १२, १९, २०, २१, २८, २९ र ३० गतेको चन्द्रमा तपाईंका लागि अनुकुल रहने देखिंदैन । त्यसैले यी दिनहरुमा तपाई निकै सतर्क हुनुहोला । तुला राशिका लागि साउन महिना ६५ प्रतिशत फलदायी रहनेछ ।
वृश्चिकः २०८२ साल साउन महिनामा सूर्यले नवौं घरमा परिवर्तन गर्दैछन् । साथै अत्यन्त सकारात्मक रूपमा श्रावण महिनाको आगमन हुँदैछ । यसले वृश्चिक राशिका व्यक्तिलाई निकै राम्रो हुनेछ । यो महिना धार्मिक यात्राको सम्भावना छ । समाजसेवामा संलग्न हुने अवसर प्राप्त हुनेछ । तपाइँको धार्मिक गतिविधिले मनमा शान्ति र सन्तोष दिनेछ । परिवारको समर्थन पाउनु हुनेछ, जसले तपाइँको आत्मविश्वासमा वृद्धि गर्दछ । कार्यस्थलमा सम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ । तपाइँको ज्ञान र बुद्धिमत्ताले नयाँ अवसरहरूको मार्ग खोल्नेछ । यो समय उच्च शिक्षा प्राप्त गर्ने वा अनुसन्धानमा लाग्न इच्छुक व्यक्तिहरूका लागि अनुकूल छ । प्रेम सम्बन्ध सुदृढ हुनेछ । यो महिना स्वास्थ्यको दृष्टिकोणले सामान्य रहेको ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिन्छ । साथै नोकरी तथा राजनीतिमा सोचेजस्तै लाभ पाउन सकिने, आम्दानीका स्रोत प्रशस्तै जुट्ने तथा नयाँ काम प्राप्त हुने ग्रहयोग छ । घर जग्गा जोड्ने तरखरमा हुनुहुन्छ भने सफलता मिल्नेछ । वैदेशिक क्षेत्रबाट पनि सफलता मिल्नेछ । साउनमा पिता, परिवार वा वंशकै मानसम्मान र प्रतिष्ठामा वृद्धि हुने देखिन्छ ।
तर यो महिना मनोवैज्ञानिक तनावबाट बच्न आवश्यक छ । अरुबाट सहयोग पाउने सम्भावना निकै कम रहेको छ । शनि तथा बृहस्पतिको प्रतिकूलताले स्वास्थ्यमा बाधा आउन सक्ने, व्यापारमा सफलता प्राप्त नहुने र बोल्दा पनि अलि विचार पु¥याउनुपर्ने देखिन्छ । छिटो धन कमाउने सोचमा अङ्कुश लगाउनु राम्रो हुनेछ । परिवारका सदस्यको अस्वस्थताले पनि तपाईंलाई चिन्तित तुल्याउन सक्छ । आफू स्वयंलाई पाचनप्रणाली वा पेटको रोगले सताउन सक्ने ग्रहगोचर छ । शनि ग्रहका कारण विद्यार्थीले निकै मिहिनेत गर्नुपर्ने समय चल्दैछ । आफ्नै लापरवाही र लहडी स्वभावका कारण हातमा आएको नतिजा पनि उल्टिन सक्नेछ । व्यापारी र उद्यमीले जुनसुकै काम गर्दा पनि सतर्कता अपनाउनु आवश्यक छ । किनकी कामदार वा विश्वासपात्रले धोका दिने समय चल्दैछ । शीघ्रता र आवेगमा गरेको परिणामले दुःखी तुल्याउने समय छ । गृहिणीहरूको पनि पतिसँग विवाद र नोकझोक चल्ने समय रहेको छ । पति वा घरका बृद्ध पुरुषको स्वास्थ्यमा आउने उतारचढावले मानसिक संकट पनि बढ्न सक्छ । यात्रा गर्दा पनि निकै सचेत हुनुपर्नेछ ।
साउन महिनाका लागि शुभ अङ्क ३, ९ र शुभ रङ्ग गुलावी हो । कुनै शुभकर्म गर्नु पूर्व मृत्युञ्जय भगवानको ध्यान गरी कार्य आरम्भ गर्नुहोला । बक्र बृहस्पति र नीच मङ्गलको दुष्प्रभावले दैनिकी सञ्चालनमा बाधा नपुगोस् भन्ने उद्देश्यले तपाईंले सूर्यदेवको उपासनामा जोड दिन सक्नुहुनेछ । साथै कुल र पितृको प्रशन्नताका लागि केही न केही काम गरिदिएका राम्रो हुनेछ । सामान्यतया यस महिनाको ३, ४, ५, १३, १४, १५, २१, २२, २३ र ३१ गते तपाईंको भाग्येश चन्द्रमाले अशुभ घरको यात्रा गर्ने भएको यी दिनमा तपाईं सतर्क हुनुपर्नेछ । साउन महिना ७० प्रतिशत फलदायी रहने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिन्छ ।
धनुः २०८२ साल महिनामा सूर्य धनु राशिबाट आठौं घरमा परिवर्तन हुँदैछ । जसको प्रभावले यो समय तपाईंका लागि चुनौतीपूर्ण हुन सक्छ । अनावश्यक खर्चबाट टाढा रहनुहोस् र वित्तीय योजना बनाउनुहोस् । गोपनीयता कायम राख्न प्रयास गर्नुहोला । अनावश्यक छलफलबाट टाढा रहनुहोला । काममा बाधा आउन सक्ने भएकाले सतर्क हुनुहोला । धैर्यता र संयमले मात्रै समस्या समाधान गर्न सकिन्छ । तपाईंले आफ्नो स्वास्थ्यका लागि निकै ध्यान पुर्याउन आवश्यक छ । यो महिनामा विशेषगरी पेटसम्बन्धी समस्याले सताउन सक्छ । दुर्घटना र चोटपटकको जोखिम पनि रहेकाले सावधान रहनुहोला । परिवारमा समस्या उत्पन्न हुन सक्ने महिना पनि रहेको छ । तपाईंको अहंकारको कारण झगडा हुन सक्ने भएकाले तपाईं सतर्क हुनुहोला । प्रेम सम्बन्धमा पनि धैर्य र समझ्दारीको आवश्यकता रहेको छ । यो महिना सूर्य, राहु, बुध, मंगल र केतुको प्रतिकुल प्रभावले स्वास्थ्यमा संकट आउने भएकोले खानपान गर्दा संयम हुन जरुरी छ । रिसको बेग पनि बढ्नेछ । लेनदेनमा विवादको सामना गर्नुपर्नेछ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ । यो महिना शङ्कास्पद कारोबार र क्रियाकलाप सहभागी नबन्नु राम्रो हुनेछ, महत्वपूर्ण कागजातमा हस्ताक्षर गर्नुअघि राम्ररी पढ्नु उपयुक्त हुनेछ । पढाइलेखाइमा समय दिन निकै कठिन हुनेछ । उमेर पुगेका विद्यार्थीमा विपरीत लिंगी साथीको क्रियाकलापले मानसिक खिन्नता बढ्ने समय रहेको छ । कर्मचारीका लागि यो महिना जोखिमपूर्ण देखिन्छ ।
तर यो महिना केही ग्रह अनुकुल भएकोले आफन्तको सहयोग मिल्ने, बोलीको प्रभावले व्यापारमा सफलता पाउने, धन मनग्य कमाउने तथा यात्रा गर्ने अवसर मिल्नेछ । भेटघाटलाई अरुले सकारात्मक लिने हुँदा पर्याप्त सहयोग प्राप्त हुनेछ । भाग्यले साथ दिने, धर्ममा रुचि बढ्ने कर्मसमेत बलियो भएकाले नोकरी तथा राजनीतिमा सोचेको स्थान र मान मिल्नेछ । अरुको विश्वास जितेर अघि बढ्ने योग छ । राज्यबाट पनि सम्मान पाउने ग्रह गोचर रहेको छ । यो महिना गृहिणीका लागि शुभ समय छ । पतिपत्नीका बीचमा सुमधुर सम्बन्ध कायम हुनेछ । टाढा बसेका जीवन साथीले घर आउने मौका पाउने छन् वा राम्रो आर्थिक लाभ प्राप्त गरेको समाचार सुन्न पाइने छ । व्यापारीहरू व्यवसाय प्रवर्द्धनका लागि देशपरदेशको भ्रमण गर्न पाउनेछन् । नयाँ कारोबारमा धननिवेश गर्ने सोच आउने छ ।
साउन महिनाका लागि शुभ अङ्क ३, ९ र शुभ रङ्ग पहेँलो वा हरियो रहेको छ । शुभकर्म गर्नु पूर्व बंगलामुखीको ध्यान गरी आरम्भ गर्दा अत्यन्त लाभ प्राप्त हुनेछ । हरेक गतिविधिमा शुभता प्राप्त होस् भन्ने उद्देश्यले हरेक बिहीबारका दिन गाईलाई हरियो घाँस खानदिनु राम्रो हुन्छ । अझ आठौं भाव दुर्घटनाकारक भाव भएकाले यो महिनाको सुरुमा नै मासाधिपति सूर्य र मङ्गलको समेत उपस्थिति हुने हुँदा यो महिना सवारी हाँक्दा, बाटो काट्दा वा हातहतियारको प्रयोग गर्दा अत्यन्त सावधान हुनु राम्रो हुन्छ । सामान्यतया यस महिनाको ६, ७, ८, १५, १६, १७, २४ र २५ गतेको चन्द्रमा तपाईंका लागि प्रतिकुल रहनेछ, त्यसैले यी दिनमा तपाईं सतर्क हुन आवश्यक छ । साउन महिना तपाईं लागि ५० प्रतिशत फलदायी रहनेछ ।
मकरः २०८२ साल साउन महिनामा सूर्य मकर राशिबाट सातौं घरमा परिवर्तन गर्दैछ । जसको प्रभावले तपाईंको व्यवसायिक जीवन अनुकुल हुनेछ । व्यापारमा विस्तारको सम्भावना रहेको छ । नयाँ साझेदारी वा ठूला सम्झौता यही महिनामा हुनेछन् । तपाईंले वैवाहिक जीवनमा सन्तुलन कायम राख्न प्रयास गर्नुहोला । तपाईंको सामाजिक सञ्जाल विस्तार हुनेछ र नयाँ सम्पर्क स्थापना हुनेछन् । काम विशेषले विदेश यात्रा गर्नुपर्ने सम्भावना छ । विद्यार्थीका लागि यो महिना अनुकल हुनेछ, उच्च शिक्षा र प्रतिस्पर्धात्मक परीक्षामा सफलता मिल्नेछ । प्रेम सम्बन्ध सुदृढ हुनेछ । तपाईंको जीवन साथीले आफ्नो कार्यक्षेत्रमा उन्नति प्रगति गर्नेछन् । बुध ग्रहको प्रभावले व्यवसायिक र घरायसी खर्चमा रोकथाम र नियन्त्रण गर्न सकिने छ । महिनाको उत्तरार्द्धमा पेशागत र व्यवसायिक परिस्थतिमा सुधार आउने छ । आत्मविश्वास बढ्ने छ, पारिवारिक उत्थानका निम्ति कुनै महत्त्वपूर्ण कार्य गर्न प्रयास गरिने छ ।
यो महिना विपरीत परिस्थिति आएमा प्रतिरोधात्मक शक्तिलाई विकसित तुल्याउने प्रयास गर्नु राम्रो हुनेछ । मकर राशिका विद्यार्थी, व्यापारी, उद्यमी र कर्मचारीले यो महिना राम्रै परिणाम प्राप्त गर्नेछन् । शुक्र ग्रहका कारण विद्यार्थीले सीप र प्रविधिको प्रयोग गरी राम्रो उपलब्धि हासिल गर्नेछन् भने उच्च शिक्षाका लागि छात्रवृत्ति पाउने वा विदेश जाने अनुकुलता पाउने छन् । चिसो चिजबीज, रसादि, तुलफूल र खाद्यान्नका विक्रेताले सम्झनलायक आम्दानी गर्नेछन् । कर्मचारीले पनि व्यक्तित्व विकासको अवसर पाउने, तालिम वा सेमिनारमा सहभागी बन्ने तथा आयस्रोत बढाउने अवसर पाउने छन् । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । घरमा शुभ कार्यको चर्चा चल्नेछ । कला र गलाको प्रभाव बढ्नेछ । ठूला व्यक्तिले तपाईंको मेहनतको प्रशंसा गर्नेछन् ।
तर यो महिना खर्चको तीब्रता कायमै रहनेछ । आफन्तबाट सफलताको प्रयत्न त हुनेछ तर सफलता पाउन निकै कठिन हुनेछ । आम्दानीको स्रोत चौतर्फी जुटे पनि हात लगाउन मिल्ने छैन । कुरा काट्नेहरु सलबलाउन थाल्नेछन् । ठूला व्यक्तिसँग विनाकारण विबाद बढेर अघि बढ्न असहज हुनेछ । मनमा चिन्ता सिर्जना हुनेछ । लेनदेनमा पनि सतर्क हुनुहोला । अरुको विश्वासमा अघि बढेमा धोका हुनसक्ने भएकोले काम गर्दा आफ्नै प्रयासले मात्र अघि बढ्नु उचित हुनेछ । गृहस्थी र गृहिणीले बढी तनाव ब्यहोर्ने समय चल्दैछ । मिल, मेसिनरी र जग्गा जमिनका कारोबारीका लागि यो महिना सामान्य रहने छ । मंगल ग्रहको प्रभावले मकर राशिका व्यक्तिले यो महिना रौसिने काम र तुजुक देखाउने काम नगर्दा राम्रो हुनेछ । महिनाको अन्तिम सातामा राजनैतिक कार्यमा बाधा आउनेछ । स्वास्थ्यमा तथा सौन्दर्यतामा धन खर्च हुनेछ ।
यो महिनाका लागि शुभ अङ्क ६, ८ र शुभ रङ्ग लिलो वा पहेलो हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरी गरेको कार्यबाट अधिक सफलता मिल्नेछ । यसको दुष्प्रभाव दैनिकीमा नपरोस् भन्ने उद्देश्यले तपाईंले हनुमान् जी, कालभैरव वा माता दुर्गाको उपासना गर्नु राम्रो हुनेछ । सामान्यतया साउन महिनाको ८, ९, १०, १७, १८, १९, २६, २७ र २८ गते तपाईंको राशिबाट अशुभ गृहमा चन्द्रमाको उपस्थिति रहने भएकाले यी दिनमा तपाईं सतर्क हुनुहोला । साउन महिना तपाईंका लागि ६५ प्रतिशत फलदायी रहनेछ ।
कुम्भः २०८२ साउन महिनामा कुम्भ राशिबाट सूर्य छैटौं घरमा परिवर्तन हुँदैछ । जसको प्रभावले यो महिना तपाईंका लागि चुनौतीपूर्ण हुन सक्छ । कामको बोझ र मानसिक तनावले स्वास्थ्यमा असर पर्न सक्छ । आराम र आत्म–संरक्षणमा ध्यान दिन आवश्यक छ । अनावश्यक खर्चबाट टाढा रहनुहोला । कामको क्षेत्रमा प्रतिस्पर्धा बढ्नेछ । पारिवारिक जीवनमा केही तनाव उत्पन्न हुन सक्छ । प्रेम सम्बन्धमा केही उतार–चढाव आउन सक्छ । लेनदेनमा बल नगर्दा राम्रो होला । शुक्र र मंगल ग्रहको प्रतिकुलताले गलत विचार बढ्नुका साथै परिवारिक झमेलामा चिन्तित हुनुपर्नेछ । मानसम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ । कुम्भ राशिका व्यापारी र उद्यमी दूरगामी प्रयोजनको लागि लगानी बढाउने सोच राख्नेछन्, जुन भविष्यका लागि राम्रो कदम हुनेछ । विशिष्ट व्यक्तिको भेटघाटले मन प्रशन्न बनाउनेछ । लामो समयदेखि रोकिएका अधुरा काम पूरा हुनेछन् । आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन् । आर्थिक र व्यवसायिक समस्या समाधान हुनेछन् ।
प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । तर परिश्रम गर्नु परे पनि सफलता धेरै कुरामा मिल्नेछ । व्यापारमा सुधार आउँदा सामाजिक सम्मानले मन प्रशन्न हुने योग छ । निर्णयको दक्षताले महत्व पूर्ण काम बन्न सक्ने भएकोले काममा सक्रिय रहनु उचित होला । परिश्रमले एक पछि अर्काे सफलता प्राप्त हुनेछ । नोकरी तथा राजनीतिमा आफ्नो बर्चस्व बढाउँदै अघि बढन सकिनेछ । व्यापारमा सोचे भन्दा बढी नै लाभ पाउने योग छ । यात्रा रमाइलो हुनेछ । साथीसँगको भेटघाटले अघि बढ्न प्रेरित गर्नेछ । राजनीतिज्ञलाई देशको प्रतिनिधित्व गर्दै विदेश जाने अवसर पाउनुहोला । धन मनग्य कमाउने अवसर मिल्नेछ । प्रशंसा गर्नेहरु प्रशस्तै हुनेछन् । पराक्रम बढने क्रम यथावत रहनेछ । लेखन मार्ग बलियो छ । प्रेममा सफलता मिल्नेछ, वैवाहिक चर्चाले तीब्रता लिनेछ ।
तर यो महिना दाम्पत्य जीवनमा कलह देखिनेछ । उधारोमा लिएको वा दिएको धनका कारण प्रशासनिक झमेला वा मुद्दामामिलामा संलग्ने हुनुपर्ने परिस्थिति बन्ने देखिन्छ । जीवन साथी, सहयोगी र साझेदारसँग विवाद हुने सम्भावना हुन्छ, पारिवारिक किचलो र बिना उद्दश्यको यात्रामा समयको बर्बादी हुन सक्छ । घमण्ड र अहंकारको मात्रामा बृद्धि हुनेछ । दैनिक कामकाज र व्यवहारमा अनेक कठिनाई सिर्जना हुन सक्छन् । जीवनसाथी वा आत्मीय मित्रको प्रतिकुल स्वास्थ्यका कारण चिन्तित बन्नुपर्ने छ, होस गर्नुहोला । राशिस्वामी शनिश्चरमा बक्रतासमेत भएकाले आकस्मिक र बाध्यताकारी खर्च अनायासै बृद्धि हुने सम्भावनासमेत देखिन्छ । कुम्भ राशिका विद्यार्थीले यो महिना झैझगडा, विवाद र कलहबाट जोगिनु राम्रो हुन्छ । पढाइलेखाइका तुलनामा अतिरिक्त क्रियाकलापमा बढी समय व्यतित हुने समय भएकाले राम्रो स्कोर कायम राख्न अलि बढी मिहिनेत गर्नुपर्ने हुन्छ । यो महिना गृहिणीमा घमण्ड र दम्भ हाबी हुने महिना छ, जस्तोसुकै परिस्थितिमा पनि साहस र हिम्मत बढ्ने समय भएकाले बल र जाँगर देखाउने काममा दिलचस्पी बढ्न सक्छ । कर्मचारीले कार्यक्षेत्रमा परिश्रमपूर्वक खट्नु पर्ने समय चल्दैछ । मिहिनेतअनुसारको पारिश्रमिक नपाउँदा मन खिन्न हुनेछ ।
यो महिनाका लागि शुभ अङ्क ४, ५ र शुभ रङ्ग कालो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको दर्शन गरी आरम्भ गर्दा सफलता प्राप्त हुनेछ । ग्रहजन्य दुष्प्रभावबाट जोगिन कुम्भ राशिका सबै व्यक्तिले यो महिना अस्पतालमा रहेका रोगीको सेवा गर्नुका साथै मुगा रत्न धारण गरेमा अथवा शनिदेवको उपासनामा जोड दिएमा राम्रो हुन्छ । सामान्यतया यस महिनाको १, २, ३, ११, १२, १९, २०, २१, २८, २९ र ३० गतेको चन्द्रमा तपाईंका लागि अनुकुल रहने देखिंदैन । यो महिना तपाईंका लागि ५० फलदायी हुनेछ ।
मीनः २०८२ को साउन महिनामा सूर्य मीन राशिबाट पञ्चम घरमा परिवर्तन हुँदैछ । जसको प्रभावले यो महिना तपाइँका लागि अनुकुल हुनेछ । तपाईको सृजनात्मकता र प्रतिभाले सबैलाई प्रभावित गर्नेछ । विद्यार्थीका लागि अनुकूल हुनेछ, उच्च शिक्षा र प्रतिस्पर्धात्मक परीक्षामा सफलता मिल्नेछ । प्रेम सम्बन्ध सुदृढ हुनेछ, नयाँ सम्बन्ध सुरु गर्न अनुकूल समय हो । वैवाहिक जीवनमा सन्तुलन कायम हुनेछ, साथीको साथ सम्बन्ध बलियो हुनेछ । व्यापारमा विस्तारको सम्भावना छ, नयाँ साझेदारी वा ठूला सम्झौता हुनेछन् । सन्तानको शुभकार्यमा संलग्न हुने र सोच्ने शक्ति बढने योग छ । धन मनग्य कमाउने अवसर मिल्नेछ । अरुको विश्वास आफूतिर रहने, पराक्रम बढ्नुको साथै अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । आफना कुराले अरुको मन जित्न सकिनेछ । नोकरी तथा राजनीतिमा प्रयास गर्दा सफलता पाउन सकिनेछ । व्यापारमा गरिने यात्राले मनमा खुसी बढाउनेछ । प्रेममा आनन्द आउने भएकाले उत्सुक रहनु उचित हुनेछ । यस अवधिमा मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ । मातापितासँग सम्बन्ध सुमधुर रहनेछ । सञ्चारमाध्यमबाट शुभ समाचार प्राप्त हुनेछ । घरपरिवारमा कुनै शुभ संस्कार सम्पन्न हुने सङ्केत पनि छ । आम्दानीमा वृद्धि हुनेछ । आकस्मिक यात्राको अवसर आउन सक्छ । मीन राशिका विद्यार्थी र पेसाकर्मीले यो महिना राम्रो परिणाम प्राप्त गर्ने समय रहेको छ । कर्मचारीले कार्यक्षेत्रमा प्रशंसा र मानसम्मान पाउनुका साथै घरजग्गा वा घरायसी सुखसुविधाका सामाग्री वा मोटर वाहन खरिद गर्ने अनुकुलता पाउने छन् । लगनशीलताले काम अघि बढ्नेछन । एकपछि अर्को अवसर आउनाले मन प्रशन्न रहनेछ ।
तर यो महिना बोल्दा विचार गर्नुपर्नेछ । बृहस्पतिको प्रतिकुलताले रोग बढ्ने, खर्च बढ्ने, विवाद बढ्ने तथा चिन्ता बढ्नेछ । बिनाकारण संकट आउन सक्ने भएकाले मनमा शंका उपशंका बढ्ने, काममा अवरोध आउन सक्ने भएकोले महत्वपूर्ण काम संयम भएर गर्नुहोला । महत्वाकांक्षा बढ्नाले मनमा सन्तुष्टि नहुन सक्छ । बालबच्चाको खानपिन र स्वास्थ्यस्थितिप्रति सचेत हुनुपर्नेछ । प्रेम जीवनमा उतारचढाव आउनेछ । कसैलाई फकाउने र फुस्ल्याउने काम पनि यो महिना नगर्नुहोला । विलासिताका सामग्रीमा खर्च बढ्नेछ । पढाइलेखाई र बौद्धिक क्रियाकलापका लागि उचित समय छ, तर चिन्तन मननमा डुबिएमा हानिकारक बन्नसक्छ । उद्यमी र व्यापारी तथा गृहिणीहरूमा बोझ बढ्ने समय रहने छ । व्यापारको व्यापारमा मन्दी छाउने छ । दूरगामी प्रयोजनको धन लगानीका लागि केही समय पर्खिएमा राम्रो हुनेछ । गृहिणीले घरभित्रैका झिनामसिना काममा समय यापन गर्नुपर्ने हुन्छ । घरमा रहेका बृद्धबृद्धाको स्वास्थ्यस्थिति नाजुक बन्नाले दुःख खेप्ने समय चल्दैछ ।
यो महिनाका लागि शुभ अङ्क ३, ७ र शुभ रङ्गे रातो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु अघि महालक्ष्मीजीको आरधना गरी यात्रा गर्नाले अधिक सफलता मिल्नेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन तर महत्त्वकांक्षी योजना गोप्य राखेर अघि बढ्नुपर्छ । राशिस्वामी बक्र भएकाले मीन राशिका सबै व्यक्तिले सधैं वा सकेसम्म यस महिनाभरि पुष्पराज रत्न मन्त्रसिद्ध गरी धारण गरेको राम्रो हुन्छ । त्यसबाहेक ग्रहजन्य अशुभताको निवारणका लागि तपाईंले कुलपितृको उपासनामा जोड दिनु वाञ्छनीय देखिन्छ । सामान्यतया यस महिनाको ३, ४, ५, १३, १४, १५, २१, २२, २३ र ३१ गते तपाईंको पञ्चमेश चन्द्रमाले अशुभ घरको यात्रा गर्ने समय रहने छ । त्यसैले यी दिनमा तपाईं सतर्क हुनुपर्नेछ । साउन महिना तपाईंका लागि ६५ प्रतिशत फलदायी रहनेछ ।
Copyright © 2024 | All rights reserved.