साउन ०३, २०८२, शुक्रबार

जनकवि केशरीको शालिक निर्माणमा जोड


clock icon 12 hours, 11 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । राष्ट्रले चिनेको लोक सर्जक जनकवि केशरी धर्मराज थापालाई आफ्नै क्षेत्रले सम्मान दिन नसकेको पोखरामा आयोजित एक कार्यक्रमका वक्ताले बताएका छन् ।

जनकवि केशरीको १०१औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमका वक्ताले यस्तो बताएका हुन् ।

बाटुलेचौरको माटोमा जन्मिएर हुर्किएका जनकविलाई स्मरण गरेर मात्र नपुग्ने भन्दै उनीहरुले शालिक निर्माण गर्नुपर्नेमा जोड दिए । 

गण्डकी प्रदेशसभा सदस्य राजकुमारी भुजेलले बाटुलेचौर साहित्य र लोक संगीतको उर्वर भूमि भएको भन्दै जनकवि केशीको सम्मानले नै समाज सम्मानित हुने बताइन् ।

सांसद भुजेलले गन्धर्व समुदाय र सारङ्गीलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै जनकवि केशरीको स्मरण गरिन् ।

पोखरा-१६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले जनकवि केशरी यस क्षेत्रका साहित्यक व्यक्तित्वको उचित सम्मान र योगदानलाई चिरस्थायी बनाउन प्रतिष्ठानले कार्ययोजनासहित अगुवाई गर्नुपर्नेमा जोड दिए ।

उनले जनकवि केशरीको शालिक निर्माणका लागि महेन्द्र गुफा परिसर उपयुक्त हुने र त्यसको स्थलगत निरीक्षण गरिएको बताए । उनले शालिक निर्माणमा पोखरा महानगरपालिका पनि सकारात्मक रहेको स्पष्ट पारे ।

शालिक निर्माणका लागि जनकवि केशरीका परिवार पनि तयार रहेको भन्दै उनले वडाले केही बजेट विनियोजन गरिसकेको जानकारी दिए । प्रतिष्ठानले अगुवाई गरेमा शालिक निर्माणल् सार्थकता पाउने उनको  भनाइ छ ।

पोखरा-१९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले जनकवि केशरी कुनै क्षेत्र विशेषको नभएर राष्ट्रिय गौरवको लोक साधक भएको स्मरण गरे । उनले जनकवि केशरीको व्यक्तित्व र कृतित्वलाई जीवन्त राख्न स्थानीय सरकारले पनि भूमिका खेल्नुपर्नेमा जोड दिए ।

साहित्यकार असफल गौतमले जनकवि केशरीको जीवनी प्रस्तुत गर्दै लोक साहित्य र संगीतको मेरूदण्डका रूपमा चित्रित गरे ।

प्रतिष्ठानका अध्यक्ष दुर्गादेवी बस्नेत गौतमको अध्यक्षतामा भएको कार्यक्रममा कवि एवं सल्लाहकार शिव त्रिपाठी, प्रतिविम्ब वाङ्मय प्रतिष्ठानका अध्यक्ष शिवहरि आचार्य, शिक्षासेवी यमनकाजी गुरुङ, पूर्व जनप्रतिनिधि कोमलप्रसाद बास्तोला, विन्ध्येश्वरी माविका प्रधानाध्यापक श्रीराम आचार्य, कार्यक्रम संयोजक हरिबहादुर थापा, प्रतिष्ठानका सचिव रामप्रसाद पौडेल, वरिष्ठ उपाध्यक्ष गीता भण्डारीलगायतले जनकविको जन्मघरलाई कविकुञ्जको रूपमा विकास गरी त्यसको संरक्षण र प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका थिए । 

कार्यक्रममा प्रतिष्ठानका पूर्व अध्यक्ष नेत्रबहादुर बानियाँ, पूर्वसदस्य डोबबहादुर केसी लगायतले जनकवि केशरी थापाका कालजयी लोक गीत प्रस्तुत गरेका थिए । 

Copyright © 2024 | All rights reserved.