साउन ०४, २०८२, शनिबार

पोखरा विश्वविद्यालय २९औँ वर्षमा प्रवेश


clock icon 22 hours, 5 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरा विश्वविद्यालय २९औँ वर्षमा प्रवेश गरेको छ । पोखरा विश्वविद्यालय ऐन, २०५३ अनुसार २०५४ साल साउन १ गते स्थापना भएको हो । 

वार्षिकोत्सवको अवसरमा विश्वविद्यालयमा २५ वर्षभन्दा बढी सेवा गरेका शिक्षक तथा कर्मचारीलाई दीर्घसेवाबाट सम्मानित गरिएको छ ।

विश्वविद्यालयले रजिष्ट्रार सह-प्राडा अजय थापा, सह-प्रशासक गोवर्धन भट्टराई, उप-प्रशासक सीतादेवी ढकाल, मुख्य सहायकहरू विमल कार्की र पुरूषोत्तम रानाभाट, सवारी चालक झगबहादुर कमर तथा कार्यालय सहयोगी दुर्गा रेग्मी र जोगिराम नेपालीलाई दीर्घसेवा सम्मानबाट सम्मानित गरेको हो ।
    
प्रत्येक वर्ष विभिन्न कार्यक्रमका साथ मनाउँदै आएकामा यस वर्ष दीर्घसेवा पदक सम्मान कार्यक्रमसहित विश्वविद्यालय परिसरमा वृक्षरोपण गरिएको छ ।

विश्वविद्यालयका उपकुलपति प्राडा वेदराज केसीले विश्वविद्यालय उच्च शिक्षाको एक महत्वपूर्ण संस्थाका रूपमा स्थापित भइसकेको बताए ।

उपकुलपति केसीले विश्वविद्यालयको हालको उचाइमा पुग्न योगदान दिने पूर्वपदाधिकारी, समाजसेवी, शिक्षासेवीप्रति आभार प्रकट गरे । उनले २५औँ विश्वविद्यालय सभामार्फत अघि सारिएका नीति तथा कार्यक्रम अझ प्रभावकारी हुने विश्वास व्यक्त गरे ।
    
पोखरा विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा तीर्थराज अर्यालले आयोगले विश्वविद्यालयको मार्गनिर्देशानुसार कार्य गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि लक्ष्य र योजनासँग समन्वय गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
    
रजिष्ट्रार सह-प्राडा अजय थापाले पोखरा विश्वविद्यालयसँगै आफू हुर्किएको अनुभव सुनाउँदै २५ वर्ष निरन्तर सेवामा रहन पाउँदा गर्व महसुस भएको बताए । 
    
उनले सुरुमा स्नातकोत्तर तहमा १२-१५ जना र स्नातक तहमा २८ जना विद्यार्थी तथा १० जना कर्मचारीबाट सुरु भएको विश्वविद्यालय हाल ६५ कलेजमार्फत ३५ हजारभन्दा बढी विद्यार्थीलाई उच्च शिक्षाको अवसर प्रदान गरिरहेको उल्लेख गरे ।

उनले यस सफलताको श्रेय सम्पूर्ण संस्थापक, पदाधिकारी, शिक्षक, कर्मचारी र विद्यार्थीलाई जाने धारणा राखे ।

कार्यक्रममा पूर्वरजिष्ट्रार प्राडा दीपकबहादुर भण्डारी, व्यवस्थापन सङ्कायका डीन सह-प्राडा दयाराज ढकाल, प्राध्यापक सङ्घका सभापति सह-प्राडा निरञ्जन श्रेष्ठ, स्कूल अफ बिजनेसका निर्देशक सह-प्राडा श्रृजन ज्ञवालीलगायतले सबैको साथ र सहयोगमा विश्वविद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्रका रुपमा विकास गर्नुपर्ने बताए ।

Copyright © 2024 | All rights reserved.