साउन ०५, २०८२, आइतबार

होटल प्रतिनिधि समाजको हस्पिटालिटी तथा मार्केटिङ व्यवस्थापन तालिम


clock icon 3 hours, 23 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । होटल प्रतिनिधि समाज पोखराले हस्पिटालिटी तथा मार्केटिङ व्यवस्थापन तालिम शुरुआत गरेको छ । एक सातासम्म सञ्चालन हुने तालिममा ४० जना प्रतिनिधि सहभागी छन् । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको सहकार्यमा तालिम शुरुआत भएको हो । 

उनीहरुलाई पर्यटन विज्ञ दीपेन्द्र पहारी, समिर बराल र तारागाउँ रिसोर्टका शिवराम ढकालले प्रशिक्षण दिनेछन् । 

कार्यक्रम उद्घाटन गर्दै नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले हस्पिटालिटी तथा मार्केटिङ व्यवस्थापन तालिम अत्यन्तै आवश्यक भएको बताए ।

तालिमले पर्यटन, होटल, रेष्टुरेन्ट, यात्रा सेवा, तथा ग्राहक सेवा जस्ता क्षेत्रमा यो तालिमले महत्वपूर्ण योगदान पुर्‍याउनेमा आफू विश्वस्त रहेको उनले बताए ।

‘आजको समय केवल उत्पादन र सेवा दिनेमात्र होइन, त्यो सेवा कसरी ग्राहकसम्म प्रभावकारी रूपमा पुर्‍याउने भन्ने कुराले पनि ठूलो महत्व राख्छ’, उनले भने, ‘त्यसैले मार्केटिङ व्यवस्थापन सीपले होटल प्रतिनिधिलाई बजारमा प्रतिस्पर्धी बनाउनेछ भने हस्पिटालिटी अर्थात् आतिथ्य सेवाको ज्ञानले ग्राहकप्रति सहानुभूति र आत्मीयता विकास गर्नेछ ।’

तालिमबाट सीप, व्यवहार तथा आत्मविश्वासका नयाँ आयाम सिक्ने र सिकेका कुरालाई व्यवहारमा उतार्न सकेमा व्यक्तिगत तथा व्यावसायिक यात्रा अझ सफल हुने उनले दावी गरे ।

समाजको यो तालिम यस बर्षको पहिलो भएको भन्दै उनले यस्ता तालिम देशब्यापी बनाउने स्पष्ट पारे ।

तालिमका प्रशिक्षक एवं पर्यटन विज्ञ दीपेन्द्र पहारीले नेपाल जस्तो प्राकृतिक, सांस्कृतिक र धार्मिक रूपमा धनी देशमा पर्यटनको सम्भावना अपार रहेको र यो सम्भावनालाई अवसरमा रूपान्तरण गर्न हामीसँग गुणस्तरीय सेवा, प्रभावकारी प्रचारप्रसार, र ग्राहकमैत्री व्यवहार हुनु अनिवार्य रहेको स्पष्ट पारे ।

हस्पिटालिटी भनेको केवल मुस्कानका साथ स्वागत गर्नु मात्र नभई यो संस्कार, व्यवहार, समयमै सेवा दिने क्षमताको सम्मिलित अभ्यास पनि भएको उनले स्पष्ट पारे ।

मार्केटिङ भनेको केवल प्रचार मात्र नभई गन्तव्य, सेवा र अनुभव बेच्ने कलासमेत भएको उनको भनाइ छ । तालिमबाट सिकेका कुरालाई जीवनमा व्यवहारमा उतार्न सकिए प्रशिक्षार्थी स्वयंले मात्र होइन, सिङ्गो समुदाय, शहर र देशको पर्यटन व्यवसायले लाभ लिन सक्ने पहारीको भनाइ छ ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्ण आचार्यले प्रत्येक पर्यटकसँगको सन्तुष्टि नै हाम्रो दीर्घकालीन सफलता भएको भन्दै यसका लागि हामीसँग व्यावसायिक ज्ञानमात्र होइन, ग्राहकसँगको व्यवहार र सेवा दिने कला पनि हुनुपर्ने बताए ।

उनले भने, ‘गण्डकी प्रदेश, विशेषतः पोखरा र वरिपरिका ट्रेकिङ क्षेत्रमा पर्यटनलाई अझ व्यवस्थित र गुणस्तरीय बनाउन आवश्यक छ । यस्ता तालिमबाट युवाहरूले व्यावसायिक सीप, आत्मविश्वास र जिम्मेवारी सिक्नेछन् भन्नेमा विश्वस्त छु ।’

‘हामी ट्रेकिङ एजेन्सीहरू पनि अब केवल सेवा पुर्‍याउने संस्थामात्र होइन, गन्तव्य प्रवर्द्धन गर्ने, ग्राहकको अनुभव सम्हाल्ने र दीर्घकालीन सम्बन्ध बनाउने भूमिकामा छौँ’, अध्यक्ष आचार्यले भने, ‘त्यसैले मार्केटिङ व्यवस्थापन र हस्पिटालिटीको राम्रो तालमेल नै हाम्रो आगामी यात्राको दिशानिर्देशक हुनेछ ।

यो सिकाइको अवसरलाई गम्भीरतापूर्वक लिएर अभ्यासमा उतार्नु र नै भोलिका सक्षम पर्यटन व्यवसायी बन्न उनले सुझाव दिए ।
पोखरा ६ का वडा सदस्यसमेत रहेका संस्थाका पूर्वअध्यक्ष दीपेद्र पहारीले हामीले यो संस्था स्थापनाको सुरूवात गर्दा यस्तै व्यवहारिक र सीपमूलक तालिमलाई प्राथमिकता दिएको बताए ।

हस्पिटालिटी र मार्केटिङ जस्ता विषय किताबमा पढेर बुझिने कुरा नभएको भन्दै उनले यी विषय जीवनशैली, व्यवहारमा, बोलीचालीमा र सेवामा देखिने बताए ।

पोखरा पर्यटन परिषद्का महासचिव जीवनराज सापकोटाले आजको प्रतिस्पर्धी बजारमा कसरी राम्रो सेवा दिने, कसरी आफूलाई र आफ्नो संस्थालाई चिनाउने भन्ने कुरा बुझ्न सक्नु एक सफलताको सुत्र भएको उनले बताए । उनले वर्तमान समयमा तालिम निकै प्रभावकारी हुने दावी गरे ।

समाज अध्यक्ष माधव लम्सालले आजको प्रतिस्पर्धी बजारमा युवालाई व्यवहारिक सीप र व्यावसायिक ज्ञानले सुसज्जित बनाउन तालिम आयोजना गरिएको स्पष्ट पारे ।

‘नेपाल विशेषगरी गण्डकी प्रदेश पर्यटनको समृद्ध सम्भावनाले भरिएको क्षेत्र हो, यहाँको सम्भावनालाई पूर्ण रूपमा उपयोग गर्न हामीसँग दक्ष जनशक्ति हुनुपर्छ’, अध्यक्ष लम्सालले भने, ‘हामीलाई केवल डिग्री होइन, कस्टमरसँग कसरी व्यवहार गर्ने, कसरी सेवा प्रभावकारी बनाउने र कसरी आफ्ना सेवा तथा उत्पादनलाई प्रवर्द्धन गर्ने भन्ने सीप आवश्यक छ ।’

संस्थाले स्थापनादेखिनै व्यवहारिक तालिम, नेतृत्व विकास र युवा सशक्तीकरणलाई प्राथमिकतामा राख्दै आइरहेको भन्दै उनले यो तालिम त्यसै शृंखलाको निरन्तरता भएको स्पष्ट पारे ।

तालिम औपचारिकताका रूपमा होइन, आफ्नो भविष्य निर्माणको एक अवसरको रूपमा लिन आग्रह गर्दै उनले भने, ’सिकेका कुरा अभ्यासमा उतार्नुस्, नयाँ सोच विकास गर्नुस् र आत्मविश्वासका साथ अघि बढ्नुस् ।’

समाज अध्यक्ष लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष जीवराज उपाध्यायले स्वागत र महासचिव शिव पौडेलले सञ्चालन गरेका थिए । 

कार्यक्रममा अध्यक्ष लम्सालकाे भनाइ

Copyright © 2024 | All rights reserved.