0
प्रतिक्रिया
पाेखरा । बंगलादेशको ढाकामा जारी साफ यू-२० महिला फुटबल च्याम्पियनसिपअन्तर्गत आज अन्तिम खेलमा नेपालले बंगालदेशको सामना गर्दैछ ।
नेपालले उपाधि जित्न आज हुने बंगलादेशविरुद्धको खेल जित्नै पर्ने भएको छ । यो खेल आज साँझ नेपाली समय अनुसार ६:४५ बजेदेखि शुरु हुनेछ ।
हालसम्म सम्पन्न ५-५ खेलपछि बंगलादेश अपराजित रहँदै पाँचै खेल जितेर १५ अंकसहित शीर्ष स्थानमा छ । नेपाल भने बंगलादेशविरुद्ध एक हार बेहोरेर ५ खेलमा १२ अंकसहित दोस्रो स्थानमा छ ।
नेपालले यस प्रतियोगिताका ५ खेलमा ३० गोल गरेको छ । र गोल अन्तरमा बंगलादेशभन्दा ६ गोलले अगाडि रहेकाले अन्तिम खेलमा बंगलादेशलाई पराजित गरेमा उपाधि जित्ने छ । त्यस्तै तेस्रो स्थानमा रहेको भुटानले ५ खेलमा एकमात्र जित हासिल गरेको छ भने श्रीलंकाले पाँचै खेलमा हार बेहोरेको छ ।
नेपालले बंगलादेशसँगको खेलमा अन्तिम मिनेटमा गोल खाएर ३-२ को दुर्भाग्यपूर्ण हार बेहोरेको थियो । अन्य खेलमा नेपालले शानदार प्रदर्शन गरेको छ । नेपालले श्रीलंकालाई दुवै खेलमा ७-० को अन्तरले हरायो भने भुटानलाई पहिलो खेलमा ६-१ र दोस्रो खेलमा ८-० ले हरायो ।
प्रतियोगितामा नेपालकी पूर्णीमा राईले सर्बाधिक १० गोल गरेकी छन् भने मीना देउवाले ७ गोल गरेकी छन् ।
नेपालसहित बंगलादेश, श्रीलंका र भुटानले भाग लिइरहेको यो प्रतियोगिता जुलाई २१ सम्म चल्नेछ । यो प्रतियोगिता डबल राउण्ड रोबिनका आधारमा खेलाईदैछ ।
हरेक देशले एक अर्काविरुद्ध २-२ पटक खेलेपछि शीर्ष स्थानमा रहने देश विजेता हुनेछ ।
Copyright © 2024 | All rights reserved.