0
प्रतिक्रिया
पोखरा । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सम्मानित अभिभावकको भूमिकामा रहनुपर्ने बताएका छन् ।
नेकपा एमाले कास्कीले बुधबार पोखरामा ४७औँ पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजना गरेको विचार गोष्ठीमा उनले राष्ट्रपति जस्तो गरिमामय पदमा पुगेको व्यक्ति दलीय राजनीतिको सक्रिय प्रतिस्पर्धाभन्दा माथि उठ्नुपर्ने जिकिर गरे ।
उनले देशमा लोकतन्त्र र गणतन्त्रमाथि सङ्कट आइपर्दा पूर्वराष्ट्राध्यक्षले अभिभावकीय भूमिका खेल्नुपर्नेमा जोड दिए ।
साथै उनले एमाले गल्तीलाई ढाकछोप गर्ने रामनामी खास्टो नभएको भन्दै गलत काम गर्नेलाई एमाले भएकै कारण संरक्षण नदिइने स्पष्ट पारे ।
‘तपाइँले गर्ने व्यक्तिगत कारोबारको जिम्मा तपाइँ नै हो, एमाले भनेको तपाइँले गरेका गल्तीलाई ढाकछोप गर्ने रामनामी खास्टो होइन’, उनले भने, ‘त्यस कुरामा हामी बहुत प्रष्ट हुनु जरुरी छ ।’
पोखरास्थित लिचिघारी जग्गा प्रकरणबारे नेता ज्ञवालीले जुन औँलामा विष लाग्छ त्यो औँला झर्ने तर्क गरे ।
‘नेकपा एमालेको स्पष्ट नीति छ जुन औलामा विष लाग्यो त्यो औंला झर्छ, त्यसले सिङ्गो शरीरलाई असर पर्न दिन हुन्न’, उनले भने ।
‘अस्ती यहीं पोखराको एउटा जग्गाको बारेमा विवाद आयो । प्रधानमन्त्रीले ब्ल्याङ्क पेपर देखाएर भन्नुभयो, मन्त्रीज्यू के लेख्ने हो यहाँ लेख्नुहोस्, उहाँले राजीनामा दिएर बाहिर जानुभयो ।’
अब छानबिन हुँदा निर्दोष भए उन्मुक्ति पाउने दोषी भए कारबाही भोग्नुपर्ने उनले स्पष्ट पारे ।
नेकपा एमाले स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले पनि राष्ट्रपति भइसकेको व्यक्ति प्रत्यक्ष राजनीतिमा फर्कनु उचित नहुने बताए ।
उनले पार्टी सदस्यताबारेको कुराहरू प्राविधिक कुरा भएकाले राष्ट्रपति जस्तो गरिमामय पदमा पुगिसकेपछि सबै पार्टीलाई अभिभावकत्वको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।
कोशी प्रदेशका पूर्वप्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी, एमाले गण्डकी प्रदेश सचिव धनञ्जय दवाडी, कास्कीका उपाध्यक्ष भेषराज बराल, एमाले कास्की इन्चार्ज कृष्ण थापालगायतले पुष्पलालको योगदानको बारेमा चर्चा गरेका थिए ।
एमाले कास्की अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
पुष्पलाल स्मृति दिवसको अवसरमा युवा संघ नेपाल कास्कीले बुधबार गरेको रक्तदानमा एक सय दुई युनिट रगत संकलन भएको थियो ।
त्रिदिवसीय कार्यक्रमअन्तर्गत ५ गते पोखरा ७ नुवारथोकस्थित पुष्पलाल स्मृति पार्कको सरसफाई र ६ गते पुष्पलाल अनुसन्धान केन्द्र पोखरा २१ फेदीपाटनमा श्रद्धाञ्जली सभा आयोजना गरिएको अध्यक्ष क्षेत्रीले जानकारी दिए । कार्यक्रम सञ्चालन पार्टी सचिव दर्शन लामाले गरेका थिए ।
Copyright © 2024 | All rights reserved.