0
प्रतिक्रिया
पोखरा । पोखरा महानगरपालिका वडा नं ८ सिद्धार्थचोकस्थित सिद्धार्थ क्लबले मनसुनजन्य विपद्लाई लक्षित गरेर नेपाल रेडक्रस सोसाइटी कास्कीलाई विपद् राहत सामग्री हस्तान्तरण गरेको छ । विपद्बाट प्रभावितलाई प्रदान गर्न क्लबले रेडक्रस कास्कीलाई २५ थान त्रिपाल हस्तान्तरण गरेको हो ।
रेडक्रस कास्कीका निवर्तमान सभापति तथा स्वास्थ्य समिति संयोजक डण्डराज शर्मा पौडेलले संस्थागत सामाजिक उत्तरदायित्वका लागि सिद्वार्थ क्लबले देखाएको सक्रियता सराह्रनीय भएको बताए ।
उनले समग्र विपद् व्यवस्थापनको लागि गर्ने १० क्लष्टरको काममध्ये रेडक्रसले अस्थायी आवास तथा गैर खाद्य सामग्री व्यवस्थापनको क्षेत्रमा काम गर्ने जनाए ।
विपद् तथा मानवीय सेवाको क्षेत्रमा काम गर्ने रेडक्रससँग आफ्नो स्रोत र साधन नभएको भन्दै उनले सामाजिक संघसंस्थाबाट सहयोग जुटाएर राहत तथा उद्वारको क्षेत्रमा काम गर्दै आएको बताए ।
उनले रेडक्रस कास्कीले यस्ता सहकार्यलाई उच्च महत्व दिने उल्लेख गर्दै प्राप्त सहयोगलाई आवश्यक समुदायसम्म छिटो र प्रभावकारी रूपमा वितरण गरिने जनाए ।
सिद्वार्थ क्लबका अध्यक्ष देवेन्द्र पराजुलीले रेडक्रस कास्कीमार्फत बाढी पहिरोबाट प्रभावितलाई राहत सामग्री प्रदान गर्न पाउँदा सन्तोष मिलेको बताए ।
आगामी दिनमा समेत मानव कल्याणको काममा क्लब सक्रियतापूर्वक काम गर्ने उनले जानकारी दिए । सामुदायिक विकास कार्यक्रमअन्तर्गत क्लबले स्थानीय स्रोत र साधनको अधिकतम् प्रयोग गरी समृद्व र स्वस्थ समाज निर्माणमा ध्यान दिँदै आएको उनले बताए ।
Copyright © 2024 | All rights reserved.