0
प्रतिक्रिया
पाेखरा । सिन्धुलीबाट बेपत्ता भएका भनिएका हायु परिवार पोखरामा भेटिएपछि उनीहरुमाथि पूर्वाग्राही ढंगले टिप्पणी भएको भन्दै हायू समाज नेपालले आपत्ति जनाएको छ ।
अध्यक्ष लक्ष्मण हायुले विज्ञप्ति जारी गर्दै सिन्धुलीको गोलन्जोर गाउँपालिका-६ छेत्पाबाट सम्पर्कविहीन भइ कास्कीको पोखरा महानगरपालिका-३० गगनगौँडामा भेटिएका उर्मिला हायूका परिवारलाई सामाजिक सुरक्षा भत्तासँग जोडेर गलत टिप्पणी गरेको भन्दै आपत्ति जनाएका हुन् ।
विज्ञप्तिमा भनिएको छ-'यस घटनालाई लिएर केही सञ्चार माध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताबाट हचुवा र आधारहीन समाचारहरु अनर्गल तरिकाले प्रसारण गरिएको पाइयो । परिवारको अस्थायी बसाइ र श्रमसँग सम्बन्धित उनीहरुको स्वेच्छिक निर्णयलाई सामाजिक सुरक्षा भत्तासँग जोडेर गरिएको आग्रह पूर्वाग्रपूर्ण गलत टिप्पणीप्रति हामी गहिरो खेद प्रकट गर्दछौं । घोर आपत्ति जनाउदछौँ । यस्ता आग्रह पूर्वागह्रपूर्ण गलत टिप्पणी सर्वथा असभ्य, अशिष्ट र विकृत मानसिकताको उपज बाहेक अरु केही हैन । हाम्रो हायू समुदाय आफ्नो श्रम, इमानदारिता र आत्मसम्मानमा जीवनयापन गरिआएको आदिवासी समुदाय हो । यस्तो आधारविहीन र हचुवा प्रचार-प्रसारले केवल यो परिवारजनलाई हैरानीमात्र होइन, समग्र समुदायको भावना र सम्मानमाथि प्रहार भएको अनुभूति हामीले गरेका छौं । सबै सञ्चार माध्यमलाई सत्य, तथ्यमा आधारित भई आधिकारिक एवं प्रमाणिक समाचारमात्र सम्प्रेषण गर्न आग्रह गर्दछौं । साथै, समाजमा भ्रम र अफवाह फैलाएर आफ्नो दुनो सोझ्याउने गतिविधिबाट समुदायका सबैलाई सतर्क र सचेत रहन अनुरोध गर्दछौं ।'
साथै समाजले यो परिवारको पुनःस्थापना र व्यवस्थापनका लागि स्थानीय सरकार, प्रदेश र केन्द्र सरकारसँग माग पनि गरेको छ ।
स्थानीयले खबर गरेपछि सोमबार खोजी गर्दै जाँदा उनीहरु पोखरा-३० गगनगौँडामा भेटिएका थिए । उनीहरुले आफूहरुको आर्थिक स्थिति कमजोर भएको र पोखरामा मजदुरी गर्न आएको बयान प्रहरीमा दिएका छन् ।
Copyright © 2024 | All rights reserved.