0
प्रतिक्रिया
पोखरा । नेपाल अडिटर्स एसोसिएसन (अडान) को साउन २० गते मनाउँदै आइएको स्थापना दिवस(अडान डे) का अवसरमा देशैभर सप्ताहाव्यापी कार्यक्रम गर्ने योजना अनुरुप अडान कास्कीले विभिन्न कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमअन्तर्गत अडान कास्कीले साउन १६ गते बिहान मानव सेवा आश्रम हेम्जामा रहेका करिब एक सय ८० जनालाई भोजन गराउनुका साथै वेल वृक्षरोपण गरिएको हो ।
कार्यक्रम अडानका केन्द्रीय उपाध्यक्ष चन्द्रबहादुर सुवेदीको प्रमुख आतिथ्यतामा गरिएको थियो ।
उक्त दिन संस्थाका सदस्यलाई नवीनतम् प्रविधिको जानकारी गराउने उद्देश्यका साथ व्यवसायिक अभ्यासमा कृतिम बौद्धिकताका अवसर तथा चुनौती विषयक प्रशिक्षण दिइएको थियो ।
कार्यक्रममा संस्थाका पूर्वअध्यक्षहरू केशबहादुर केसी, चन्द्रबहादुर सुवेदी, राजेन्द्र पौडेल, रुद्रनाथ पौडेल, कमलबहादुर रेग्मी र गण्डकी प्रदेशका निवर्तमान अध्यक्ष पदमबन्धु पोखरेललाई सम्मान गरिएको थियो ।
कार्यक्रमका गण्डकी प्रदेशका आर्थिक मामिला सचिव अर्थ विज्ञ टंक पाण्डेले रजिष्टर्ड अडिटर्सले प्रमाणपत्र मात्र लिएर नभई पेशा व्यवसायमा आवश्यकता अनुसार व्यावसायिक ज्ञान र शिप हासील गर्न जरुरी रहेको बताए ।
अडानका केन्द्रीय उपाध्यक्ष चन्द्रबहादुर सुवेदीले नेपाल अडिटर्स एसोसिएसन २०६३ श्रावण २० मा स्थापना भएको बताउँदै संस्था स्थापनाको उद्देश्य, सदस्यको पेशागत हक हितका पक्षमा सस्थाले गरेका कामहरू बारे जानकारी गराए ।
लेखापरीक्षण व्यवसायमा आएका नवीनतम् मापदण्डको प्रयोग एवं व्यवसायमाथि गैर व्यवसायी विचौलियाको आक्रमण नियन्त्रण गर्न चुनौती भएको उल्लेख गर्दै उनले सम्पूर्ण लेखा व्यवसायीले अनुशासित भै व्यवसाय गर्नुपर्नेमा जोड दिए ।
आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिव शर्माले लेखापरीक्षकले प्रचलित ऐन कानून मापदण्ड समेतलाई अध्यन गरी वित्तीय विवरण पेश गर्न सुझाव दिए ।
कार्यक्रममा काठमाडौं विश्वविद्यालय एआइ विज्ञ मनोज शाक्यले प्रशिक्षण दिएका थिए ।
अडान कास्कीका अध्यक्ष गुणनीधि पाण्डेको अध्यक्षता भएको कार्यक्रमको सञ्चालन सदस्य कृष्णराज ढुङ्गनाले सञ्चालन गरेका थिए ।
Copyright © 2024 | All rights reserved.