0
प्रतिक्रिया
पोखरा । नेपाली सिनेमा मोहरको प्रचारप्रसारका लागि आयोजित मोहर साँझ कार्यक्रम पोखरामा सम्पन्न भएको छ ।
चलचित्र यही साउन २३ गतेबाट अल नेपाल प्रदर्शन हुँदैछ । कार्यक्रमले लामो समयदेखि प्रतिक्षामा रहेका फिल्मप्रेमीलाई उत्साहित बनाएको छ ।
कार्यक्रममा अभिनेता पल शाह र गायक थानेश्वर गौतमको विशेष प्रस्तुति रहेको थियो । साथमा अन्य कलाकारको समेत प्रस्तुति रहेको कार्यक्रममा दर्शकको उल्लेखनीय उपस्थिति थियो भने पृथ्वीचोकको माहोल निकै रमाइलो र सांगीतिक बनेको थियो ।
सिनेमा प्रचारका लागि पोखरा आएका पल शाहलाई दर्शकले उत्साहपूर्वक स्वागत गरे । स्टेजमा नै केक काटेर उनको स्वागत गरिएको थियो । जसले कलाकार र फिल्म दुवैप्रति पोखरेली दर्शकको माया झल्किएको छ ।
सिनेमा मोहर को कथावस्तु, प्रस्तुति र कलाकारहरूको समर्पणले नेपाली चलचित्रमा नयाँ स्वाद दिने विश्वास गरिएको छ ।
प्रचारप्रसारको यो शैलीले दर्शक र कलाकारबीचको सम्बन्धलाई अझ बलियो बनाएको देखिन्छ ।
चलचित्र मोहरको कथा पश्चिम नेपालका ग्रामिण परिवेश, सामाजिक द्वन्द्व, प्रेम, र सांस्कृतिक अस्मितालाई केन्द्रमा राखेर निर्माण गरिएको छ । फिल्ममा सांगीतिक भावनालाई जीवन कथासँग जोड्ने प्रयास गरेको अभिनेता पल शाहले जानकारी गराए ।
सिनेमामा पल शाह प्रमुख भूमिकामा छन् भने पारिवारिक सम्बन्ध, प्रेममा विश्वासघात, अनि आत्मसम्मान जस्ता गम्भीर विषयहरूलाई सशक्त रुपमा प्रस्तुत गरिएको छ । यसले विशेष गरी युवापुस्ता र ग्रामीण परिवेशका दर्शकलाई प्रत्यक्ष रुपमा जोड्ने अपेक्षा गरिएको निर्माण पक्षले जनाएको छ ।
पोखरामा आयोजित मोहर साँझमा पल शाहले दर्शकलाई धन्यवाद दिँदै ‘मोहर’ आफ्नो करियरको विशेष सिनेमामध्ये एक भएको उल्लेख गरे । चलचित्रको विषयवस्तसँग आफू निक्कै नजिक भएको र सिनेमाको कथाले दर्शकको मन छुने विश्वास उनको छ ।
गायक थानेश्वर गौतमले ‘मोहर’ को गीत दर्शकलाई सुनाए । सिनेमा लोक शैली र जीवन्तताका विषयमा प्रकाश पार्दै मोहरमा समावेश अन्य गीतसमेत समकालीन लोकभावनामा आधारित रहेको जानकारी उनले गराएका छन् ।
सांगीतिक, कथात्मक र दृश्यात्मक दृष्टिले मोहर एक अलग शैलीको सिनेमाका रूपमा चिनिने आँकलन गरिएको छ।
लोकसंस्कृतिमा आधारित समसामयिक कथावस्तु, लोकप्रिय कलाकारको सहभागिता र संगीतको गहिरो प्रभावले गर्दा चलचित्रले राम्रो स्थान बनाउने विश्वास समेत गरिएको छ ।
ओम प्रतिकको कथा र निर्देशन रहेको मोहरमा पल शाहसँगै अर्जुनजंग शाही, बेनिशा हमाल, नीति शाह, मिथिला शर्मा, रवीन्द्र झा, लक्ष्मी गिरी, मिस पबीलगायतका कलाकारको अभिनय छ । फिल्ममेकरको प्रस्तुतिमा निर्माण भएकाे चलिचत्रका निर्माता चुम्बनजंग शाही हुन् ।
Copyright © 2024 | All rights reserved.