असोज १८, २०८२, शनिबार

बाटुलेचौरमा तीज मेला हुने


Advertisement Image
clock icon 1 month, 3 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखराको बाटुलेचौरमा तीजको अवसरमा तीज मेला हुने भएको छ । पोखरा महानगरपालिका वडा नं १६ को समन्वयमा भदौ ९ र १० गते तीज मेला गर्न लागिएको हो ।

मेला बाटुलेचौर खेल मैदानमा हुने वडासदस्य राजकुमारी बानियाँले जानकारी दिइन् । परापूर्वकालदेखि बाटुलेचौरमा हुँदै आएको मेलालाई निरन्तरता दिन र पर्वको धार्मिक तथा सांस्कृतिक पक्षलाई जोगाउन मेला आयोजना गरिएको बानियाँले बताइन् ।

मेला सञ्चालनका लागि आयोजित भेलाले वडासदस्य बानियाँ संयोजक र मञ्जु नेपाली सहसंयोजक रहेको मूल समिति र विभिन्न आठ वटा उपसमिति गठन गरिएको छ । 

उपसमितिअन्तर्गत आर्थिक व्यवस्थापनमा अनिल बस्नेत, प्रचारप्रसारमा मोहन थापा, स्वास्थ्यमा दुर्गा केसी थापा, लोक नृत्य व्यवस्थापनमा रामबहादुर बानियाँ, मञ्च व्यवस्थापनमा गुरूदत्त भट्टराई, महिला दौडमा नन्दा गुरुङ, खाजा व्यवस्थापनमा कमला तिमिल्सिना र तीज गीत तथा सांस्कृतिक कार्यक्रम व्यवस्थापन सचिवालयले गर्ने गरी संयोजक तोकिएको छ ।

मेलाको पहिलो दिन भदौ ९ गते बिहान मैदानदेखि महेन्द्र गुफासम्म प्रभातफेरी र महिला दौड, विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता, १० गते मेलाको मुख्य आकर्षणको रुपमा समूहगत तीज गीत प्रस्तुति एवं सांस्कृतिक कार्यक्रम गरिने प्रचारप्रसार संयोजक मोहन थापाले जानकारी दिए । 

भेलामा वडासदस्य राजकुमारी बानियाँले तीज मेलालाई मौलिक र ऐतिहासिक बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको बताइन् ।

संस्कृतिकर्मी रामबहादुर बानियाँले तीज पर्व दुःख, सुख बिसाउने चौतारी भएको स्पष्ट पार्दै, यसको मौलिक र सांस्कृतिक पक्षलाई जोगाउनु पर्नेमा जोड दिए ।

शाह वंशको राजा कुलमण्डन शाहको पालादेखि नै बाटुलेचौरमा लामाचौर, अर्मला, घार्मी, कुरेचौर, हरिपाउँ, जुम्लेटी, भलामलगायतका क्षेत्रका महिला जम्मा भएर तीज गीत गाउने प्रचलन रहेको जानकारहरु बताउँछन् ।

Copyright © 2024 | All rights reserved.