0
प्रतिक्रिया
पोखरा । पोखराको नयाँबजारस्थित गण्डकी मेडिकल कलेज (जीएमसी) ले आयोजना गरेको छैटाैँ आधारभूत सर्जिकल कार्यशाला बिहीबार सम्पन्न भएको छ । दुइ दिन चलेकाे कार्यक्रममा १८ जना एमडीका विद्यार्थी सहभागी थिए ।
सहभागीलाई सर्जिकलका दौरान प्रयोग हुने विभिन्न सामग्री, प्रयोग विधि, पुनः प्रयोग हुने विभिन्न सामग्रीको शुद्धीकरणबारे जानकारी गराइएको जीएमसीका एसोसियट प्रोफेसर एवं हाडजोर्नी विशेषज्ञ रविमोहन ढकालले जानकारी दिए ।
उनका अनुसार सर्जरीसँग सम्बन्धित विज्ञमार्फत एमडी र पीजीका विद्यार्थीलाई शल्यक्रियाको तयारी, चिरफार र सिलाईसम्बन्धी आधारभूत ज्ञान दिइएको हो ।
कार्यशालामा सहभागी विद्यार्थीले आगामी दिनमा स्तरीय सेवा दिनसक्ने यसबाट बिरामीलेसमेत विशेषज्ञ सेवा लिन सक्ने कार्यक्रम संयोजक डा. ढकालको विश्वास छ ।
‘कार्यशालाबाट प्राप्त ज्ञानले उहाँहरुलाई भावी दिनमा टप सर्जन बन्न सहयोग पुग्ने छ’, ढकालले भने ।
कार्यशालामा सहभागी डा. जभा खातुनले शल्यक्रियाबारे विविध ज्ञान लिने अवसर प्राप्त भएको बताइन् ।
‘एमबीबीएसमा प्राप्त ज्ञानलाई आज थप निखार्ने मौका पायौं’, खातुनले भनिन्, ‘सर्जिकलका आधारभूत ज्ञानले हामीलाई भोलिका दिनमा सर्जन बनाउन सक्ने विश्वास पलाएको छ ।’
डा. आरोग्य पौडेलले विशेषज्ञ प्रोफेसरले हातै समातेर शल्यक्रियामा प्रयोग हुने विभिन्न सामग्रीको प्रयोग गर्न सिकाएको प्रतिक्रिया दिए ।
जनावरका भिन्न अंगमा चिरफार गरी शल्यक्रियाको चरण पार गरेको अनुभव रोमाञ्चकारी र विशेष भएको पौडेलले अनुभव सुनाए ।
गुणस्तरीय शिक्षामा प्रतिबद्ध जीएमसीको शिक्षण अस्पतालमा पछिल्लो समय न्यूरोसर्जरीको सेवा लिने बिरामीको संख्या ह्वात्तै बढेको छ ।
देशका विभिन्न जिल्लाबाट आएर उपचार गराउने बिरामी त छन् नै भारतबाट जीएमसी आइपुग्नेको संख्यामा समेत बढोत्तरी भएको बताइन्छ ।
Copyright © 2024 | All rights reserved.