भदौ ०४, २०८२, बुधबार

पोखरामा दोस्रो पर्वतीय दौडको तयारी तीव्र, अनलाइनमार्फत फर्म भर्न सकिने


Advertisement Image
clock icon 1 day, 2 hours ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । विश्व पर्यटन दिवसको अपसरमा आगामी असोज ४ गते पोखरामा खुला पर्वतीय दौड हुने भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पोखराको प्रचारप्रसार, प्रवर्द्धन गर्नुका साथै खेल पर्यटन प्रवर्द्धनका लागि दौडको आयोजना गरिएको हो । प्रतियोगिताको तयारी तीव्र बनाइएको छ ।

दौड विश्वशान्ति स्तूपबाट सुरु भई पुम्दीकोट विशाल महादेवको मूर्ति परिक्रमा गरी पोखरा-२२ वडा कार्यालय हुँदै निगालेडाँडास्थित कालाबाङ घरेडी बुद्ध पार्कमा समापन हुनेछ ।

आठ किमी दौडमा खुला, वडा स्तरीय, महिला, यू-१६ र पर्यटन तथा ४० बर्षमाथिका भेट्रान गरी छ वटा इभेन्ट समावेश गरिएको प्रतियोगिता संयोजक दीननाथ बरालले जानकारी दिए ।

यसवर्ष गत वर्षको भन्दा पुरस्कार राशि दोब्बर गरिएको छ भने दुई इभेण्टमा थप गर्दै प्रोत्साहन पुरस्कार व्यवस्था गरिएको उनले जनाए ।

प्रतियोगितामा खुलातर्फ प्रथम हुने धावकले ५० हजार, दोस्रो, तेस्रो, चौथो र पाँचौँले क्रमशः ३०, १५, सात हजार, तीन हजार तथा छैटौँदेखि १० औं स्थानसम्म दुरी पूरा गर्ने धावकलाई जनही एक हजार नगद पुरस्कार, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यसैगरी वडास्तरीय, खुला महिला र यू-१६ तर्फका विजेताले जनही १५ हजार र उपविजेताले जनही सात हजार रुपैयाँ नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यस्तै ४० वर्ष माथिका भेट्रान र विदेशी धावकलाई प्रोत्साहन पुरस्कार व्यवस्था गरिएको छ जसमा भेट्रान र विदेशी इभेन्टका विजेतालाई जनही १५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ ।

प्रतियोगितामा सहभागी हुन अनलाइन फराम भर्नु पर्नेछ, अनलाइन फारम सोमबारदेखि खुला गरिएको प्रतियोगिता निर्देशक ओम लामाले बताए । यही भदौ २५ गतेसम्म अनलाइन फारममार्फत आफ्नो नाम दर्ता गराउन सकिनेछ । पोखराक्लिक डटकममा फारम भर्न सकिन्छ ।

गत वर्ष दौडमा ७९ जना सहभागी भएकामा सशस्त्र प्रहरी बल एपीएफका निरोज भट्ट क्षेत्रीले उपाधि जितेका थिए ।

प्रतियोगिता सम्पन्न गर्न करिब १७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिताको प्रथम पुरस्कार अन्तर्राष्ट्रिय ख्यातिप्राप्त खेलाडी ल्याफ्टेनेन्ट कुशाङ गुरुङले प्रायोजन गरेका छन् । 

पत्रकार सम्मेलनमा पोखरा-२२ का वडाध्यक्ष हिमलाल बरालले उक्त इभेण्टलाई वडाले आफ्नो चार्डको रुपमा लिएको बताए । उनले यसको स्तरोन्नतिका लागि बिस्तारै हाफ म्याराथनसम्म लैजाने योजना रहेको बताए । 

अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले उक्त दौडलाई आठ किलोमिटरबाट बढाउँदै हाफ म्याराथन हुँदै लेकसाइडदेखि पन्चासेसम्मको म्याराथन दौड गर्न सुझाव दिए ।

पोखरा पर्यटन परिषदका प्रथम उपाध्यक्ष हरिबहादुर भुजेलले विश्व पर्यटन दिवसको अवसरमा हुने उक्त प्रतियोगितामा विदेशी धावक बढी भन्दा सहभागी गराउन गराउन पहल गर्ने प्रतिवद्धता जनाए ।

नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष माधव रेग्मीले पोखरा र पुम्दीभुम्दीलाई विश्व सामु परिचित गराउन इभेण्टले मद्धत पुग्ने बताए ।

विश्व शान्ति स्तूप समिति अध्यक्ष अशोक गुरुङले दौडको सुरुवात शान्ति स्तूपबाट हुने भएकोले आवश्यक व्यवस्थापनमा सहयोग गर्ने बताए ।

प्रतियोगिताका प्राविधिक ओम गुरुङले यसपाली हावा, हुरी र पानी आए पनि प्रतियोगिता निर्धारित समयमै हुने गरी तयारी हुने बताए ।

पोखरा-२२ का वडा युवा परिषद अध्यक्ष दिनेश बरालले प्रतियोगिता गाउँकै नयाँ ब्राण्ड भएकोले सफल पार्न आफूहरु लाग्ने बताए । 
 

Copyright © 2024 | All rights reserved.