भदौ ०४, २०८२, बुधबार

पच्चीस करोड ३७ लाखमा बन्ने भयो गण्डकी प्रदेशसभा भवन


Advertisement Image
clock icon 11 hours, 31 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । लामो समयदेखि चर्चा हुँदै आएको गण्डकी प्रदेशसभा भवनको बल्ल शिलान्यास गरिएको छ ।

मंगलबार एक कार्यक्रमका बीच गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भवन शिलान्यास गरेका हुन् ।

प्रदेश संरचना शुरू भएको आठ वर्षपछि प्रदेशसभा भवन बनाउन लागिएको हो ।

पोखरा महानगरपालिका वडा नं ३ नदीपुरस्थित अहिले कायम रहेको प्रदेशसभाकै पश्चिमतर्फ नयाँ भवन बनाउन लागिएको हो ।

तीन तलाको भवन बनाउन २५ करोड ३७ लाख ८२ हजार आठ सय ६१ रुपैयाँ लागत अनुमान गरिएको छ । 

भवन निर्माण २०८४ माघ १७ गते सम्पन्न गर्ने लक्ष्य छ । श्रेष्ठ एण्ड सन्स/इस्ट वेस्ट जेभी काठमाडौंले भवन निर्माणको जिम्मा पाएको छ ।

सहरी विकास तथा भवन कार्यालयले बनाएको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बमोजिम भवन निर्माण हुने बताइएको छ । 

अहिलेसम्म भवनको जमिनको सतहमुनि गर्नुपर्ने काम सकिएका छन् । डीपीआरअनुसार भवनको लागत ४४ करोड ९९ लाख ६० हजार तीन सय ७६ रुपैयाँ रहेकोमा ३२दशमलव४१ प्रतिशत घटेर श्रेष्ठ एण्ड सन्सले ठेक्का पाएको हो । 

२०८१ साउन २१ मा बोलपत्र आह्वान गरिएको थियो । भवन बनाउन ३५ निर्माण कम्पनीले प्रस्ताव पेस गरेकामा २६ कम्पनी छनोट भएको थिए । जसमा सबैभन्दा कम लागत प्रस्ताव गर्ने कम्पनी श्रेष्ठ एण्ड सन्स/इस्ट वेस्ट जेभी काठमाडौं छनोट भएको हो ।

सात रोपनी क्षेत्रफलमा बन्ने नयाँ भवनको भुइँतलामा पाँच वटा संसदीय दलको कार्यालय, पाँच वटा भीआईपी कार्यालय रहनेछ ।

भीआईपी कार्यालयमा मुख्यमन्त्री, सभामुख, उपसभामुख, विपक्षी दलका नेता र संसद् सचिव रहनेछन् । भवनको दोस्रो तलमा संसद् बैठक कक्ष बन्नेछ । 

बैठक कक्ष ७८ जना सांसद अट्ने गरी निर्माण हुनेछ भने दर्शक दीर्घाका लागि छुट्टै कक्ष निर्माण गरिने बताइएको छ ।

साथै सामान्य र भीआइपी कक्ष, मार्सल अफिस, कार्य व्यवस्था परामर्श समितिको बैठक कक्ष, लाइब्रेरी, भिडियो कन्फरेन्स हल र टिभी स्टुडियो समेत नयाँ भवनमा हुने गण्डकी प्रदेश सभा सचिव हरिराज पोखरेलले जानकारी दिए ।

भवन निर्माणको काम छिटो सक्न मुख्यमन्त्रीको निर्देशन

सोही अवसरमा मुख्यमन्त्री पाण्डेले भवन निर्माणको काम छिटो सक्न निर्देशन दिएका छन् । निर्माण अवधि तीन वर्षको भए पनि दुई वर्षमै सकिदिन उनले आग्रह गरे । यही कार्यकालमा सभा बस्न मिल्ने गरी काम गरिदिन उनको आग्रह थियो ।

निर्माण कम्पनीले दिनरात गरेर दुई सिफ्टमा काम गर्छौँ भनेर प्रतिबद्धता जनाएको भन्दै मुख्यमन्त्रीले समय अगावै काम सकिने विश्वास व्यक्त गरे ।

मुख्यमन्त्रीले हरेक वर्ष चाहिने जति बजेट सरकारले विनियोजन गर्ने र समयमा काम सक्न बजेटको अभाव हुन नदिने स्पष्ट पारे 

Copyright © 2024 | All rights reserved.