भदौ ०४, २०८२, बुधबार

लामाचौर तीज महोत्सवको सबै तयारी अन्तिम चरणमा, भलिबल विजेतालाई तीन लाख पुरस्कार


Advertisement Image
clock icon 10 hours, 1 minute ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । नवआदर्श सामुदायिक विकास समाज (नाकोड्स) लामाचौरले आयोजना गरेको ‘२७औँ लामाचौर तीज महोत्सव-२०८२’ को सबै तयारी अन्तिम चरणमा पुगेको छ । महाेत्सव यही भदौ ८ देखि १० गतेसम्म लामाचौरस्थित इन्द्रराज्यलक्ष्मी माविको प्राङ्गणमा हुनेछ ।

समाजका अध्यक्ष इ.दिनेश भण्डारीका अनुसार संस्कृति जगेर्ना एवं खेलकुदको विकास गर्न महोत्सवलाई निरन्तरता दिइएको हो । महोत्सवको मूल नारा नै ‘मौलिक संस्कृतिको जगेर्ना गरौँ’ रहेको छ । 

महोत्सवको मुख्य आकर्षण ‘लामाचौर कप भलिबल प्रतियोगिता’ हो । साथै तीज गीत प्रतियोगिता, अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता समेत महोत्सवमा हुनेछ ।

भलिबल प्रतियोगिता विजेताले तीन लाख र उपविजेताले एक लाख ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने अध्यक्ष भण्डारीले जानकारी दिए । साथै सर्वोत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने उनले बताए ।

यस्तै अन्तर मावि छात्रा भलिबल प्रतियोगिता विजेताले एक लाख र उपविजेताले ५० हजार तथा सर्वोत्कृष्ट खेलाडीले पाँच हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ । साथै, दुवै इभेन्टको उत्कृष्ट विधामा आकर्षण पुरस्कारसमेत रहेको छ ।

यता, तीज गीत प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार, दोस्रोलाई ३० हजार, तेस्रोलाई २० हजार र सान्त्वना स्थान हासिल गर्नेलाई १० हजार तथा सहभागी टिमलाई दुई हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ । 

यस्तै लोक नृत्यतर्फ प्रथम, दोस्रो र तेस्रोलाई क्रमशः ४०, २५ र १५ तथा सान्त्वना तीन टिम तथा उत्कृष्ट भेषभूषालाई पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।

महोत्सवमा औद्योगिक तथा व्यापारिक ५० स्टल राखिने छ । यस्तै बालउद्यान, स्रष्टा सम्मान, कलाकारको दैनिक प्रस्तुतिलगायत विविध मनोरञ्जनात्मक एवं सांस्कृतिक कार्यक्रम हुने अध्यक्ष भण्डारीले बताए ।

लोकदोहोरी कलाकार प्रकाश दूतराज, जानकी तारामी मगर, रीता थापामगर, शिव हमाल, श्रीदेवी देवकोटा, दीपक खड्का, प्रजापति पराजुली, रामजी पौडेल, माया गुङ, लक्ष्मी नेपालीलगायतले महोत्सव तताउने प्रचारप्रसार संयोजक विष्णुप्रसाद गौतमले जानकारी दिए ।

कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष स्वागतमान सिंह भण्डारी, नवीन भण्डारी, बुद्धिबहादुर खत्री क्षत्री, प्रचारप्रसार संयोजक विष्णुप्रसाद गौतमलगायतले बोलेका थिए । 

अध्यक्ष भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा द्वितीय उपाध्यक्ष हरिबहादुर थापाले स्वागत र सचिव शोभा बानियाँले संचालन गरेकी थिइन् ।

महोत्सव सम्पन्न गर्न करिब ४५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । महोत्सवबाट बचत रकम आकस्मिक सेवा तथा तीज महोत्सव संचालन कोष बृद्धिमा थप गरिने अर्थ संकलन संयोजक कमल थापाले बताए । 

२०५४ सालमा पहिलोपल्ट लामाचौर मेला आयोजना गरेको संस्थाले एम्बुलेन्स, शववाहन संचालन गर्नुका साथै गोस्तेघाटमा फुटबल मैदानसमेत निर्माण गरेको छ ।

Copyright © 2024 | All rights reserved.