भदौ ०६, २०८२, शुक्रबार

कलम सहकारी र पोखरा पुस्तक तथा स्टेशनरी व्यवसायी संघको रक्तदानमा ८७ युनिट रगत संकलन


Advertisement Image
clock icon 1 day, 18 hours ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरास्थित कलम बचत तथा ऋण सहकारी संस्था र पोखरा पुस्तक तथा स्टेशनरी व्यवसायी संघ कास्कीले कलम सहकारीको १६औँ स्थापना दिवसको अवसरमा बुधबार संयुक्त रुपमा आयोजित १२औं खुला रक्तदान रक्तदान कार्यक्रममा ८७ युनिट रगत संकलन भएको छ । 

सहकारीका लेखापरीक्षक रुद्रनाथ पौडेललाई ब्लडव्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले रक्तदान केवल दाताका लागि मात्र नभई जीवन बचाउने काम पनि भएको बताए । 

सबैले रक्तदान गर्नु मानवीय कर्तव्य भएको भन्दै उनले मानव जीवनको महत्वलाई जोड दिए । वडाध्यक्ष मर्सानीले यस्ता कार्यक्रम निरन्तर सञ्चालन गरेर समाजमा सद्भाव र आपसी सहयोगको भावना फैलाउनुपर्नेमा जोड दिए । 

उनले भने, ‘रक्तदान गर्नु हाम्रो सामाजिक र मानवीय कर्तव्य हो, प्रत्येक व्यक्तिले यो कार्यमा सहभागिता जनाउनु नै समाजका लागि ठूलो योगदान हुनेछ ।”

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ गण्डकीका अध्यक्ष कृष्णप्रसाद पोखरेलले रक्तदान नै वास्तविक जीवन दान भएको भन्दै यस्ता सामाजिक कार्य निकै महत्वपूर्ण हुने बताए ।

उनले भने, ‘रक्तदान केवल एक मानवीय कर्म मात्र होइन, यो जीवन बचाउने परम पुण्य कार्य हो, हाम्रो एक थोपा रगतले कसैको जीवनमा नयाँ आशा जगाउन सक्छ ।’

कलम सहकारीका संस्थापक अध्यक्ष एवं पोखरा पुस्तक तथा स्टेशनरी व्यवसायी संघका पूर्वअध्यक्ष प्रेमबहादुर श्रेष्ठले रक्तदान कार्यक्रमले मानवताको सेवा र समाजप्रतिको दायित्वबोधको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको बताए । 

उनले भने, ‘रक्तदान गर्दा हामीले कसलाई मद्दत गर्‍यौँ भन्ने थाहा नहुन सक्छ, तर त्यो अज्ञात व्यक्तिले हाम्रो रगत पाएर नयाँ जीवन पाउँछ, यही नै सबैभन्दा ठूलो पुरस्कार हो ।’

पोखरा पुस्तक तथा स्टेशनरी व्यवसायी संघका अध्यक्ष गोविन्द गौतम र सल्लाहकार लक्ष्मीप्रसाद त्रिपाठीले रक्तदानले समाजमा सहयोग र मानवता देखाउने स्पष्ट पारे ।

कार्यक्रम संयोजकसमेत रहेका पोखरा पुस्तक तथा स्टेशनरी व्यवसायी संघका उपाध्यक्ष सञ्जय आचार्यले हामीले अरूको जीवन बचाउने काम गर्न पाएकामा खुशी लागेको बताए । 

उनले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै भविष्यमा पनि यस्ता सामाजिक कार्यहरू निरन्तर रूपमा सञ्चालन गरिने स्पष्ट पारे ।

सहकारीका अध्यक्ष मनोहरि सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष रमेशराज बरालले स्वागत र व्यवसायी संघका सचिव रामप्रसाद सुवेदीले संचालन गरेका थिए । 

कार्यक्रममा प्रादेशिक रक्तसञ्चार केन्द्र पोखराले प्राविधिक सहयोग गरेको थियो । 
 

Copyright © 2024 | All rights reserved.