भदौ ०६, २०८२, शुक्रबार

यात्रुबाहक बस तेल ट्यांकरसँग ठोक्किँदा ७६ जनाको मृत्यु


Advertisement Image
clock icon 1 day, 14 hours ago
comment icon 0
comment

0

प्रतिक्रिया

अफगानिस्तान । इरानबाट स्वदेश फर्कँदै गरेका अफगानी नागरिकहरू सवार बस दुर्घटनामा मृत्यु हुनेको संख्या ७६ पुगेको छ ।

उक्त बस अन्य दुई सवारीसँग ठोक्किएर दुर्घटना भएको एक प्रान्तीय अधिकारीले जानकारी दिएका छन् ।

मंगलबार राति हेरात शहर नजिकको गुजारा जिल्लामा दुर्घटना भएको हो । प्रहरीका अनुसार, बस इन्धन बोकेको ट्रकसँग ठोक्किँदा आगलागी भएको थियो ।

हेरात प्रान्तीय सरकारका प्रवक्ता मोहम्मद युसुफ सईदीले उक्त दुखद् घटनामा ७६ जना नागरिकले ज्यान गुमाएको छ, साथै तीन जना गम्भीर घाइते भएको जानकारी दिएका छन् । मृतकहरूलाई सैन्य अस्पतालमा सारिएको छ, जसमा एक दर्जनभन्दा बढी बालबालिका समेत रहेका छन् ।

अस्पतालका प्रमुख चिकित्सक मोहम्मद जानान मुकद्दसका अनुसार, धेरै शव जलेका कारण पहिचान गर्न गाह्रो भएको छ ।

दुर्घटनापछि केही घण्टासम्म सडकमा बस जलिसकेको देखिएको समाचार संस्था एएफपीले जनाएको छ । 

बसमा सवार यात्रुहरू हालै इरानबाट राजधानी काबुल फर्किंदै गरेका अफगानी नागरिक रहेका प्रवक्ता सईदीले जानकारी दिए ।

संयुक्त राष्ट्रसंघीय आप्रवासन निकायका अनुसार, यस वर्षको सुरुदेखि हालसम्म इरान र पाकिस्तानबाट करिब १५ लाख अफगानी नागरिक स्वदेश फर्किएका छन् । यी देशले दशकौंसम्म शरण दिइसकेपछि आप्रवासीलाई फिर्ता पठाउने प्रयास तीव्र बनाएका छन् ।

स्वदेश फर्किएका धेरै नागरिक वर्षौं विदेशमा बसेका, कुनै ठेगाना नभएका र थोरै सामानसहित आएका छन्, जसका कारण उनीहरूलाई पुनः बसोबास गर्न गम्भीर चुनौती झेल्नुपरेको छ । अफगानिस्तान हाल गरिबी र बेरोजगारीबाट ग्रस्त छ ।

सरकारी सञ्चालित बख्तर समाचार एजेन्सीले यस दुर्घटनालाई हालका वर्षमा भएको सबैभन्दा घातक मध्ये एक बताएको छ । गत वर्षको डिसेम्बरमा अफगानिस्तानमा तेल ट्यांकर र ट्रकसँग भएको दुईवटा बस दुर्घटनामा कम्तीमा ५२ जनाले ज्यान गुमाएका थिए ।

त्यस्तै, सन् २०२४ को मार्चमा हेलमन्ड प्रान्तमा बस र इन्धन ट्यांकर ठोक्किँदा २० जनाभन्दा बढीको मृत्यु र ३८ जना घाइते भएका थिए ।

सन् २०२२ को डिसेम्बरमा सालङ दर्रामा भएको अर्को गम्भीर दुर्घटनामा इन्धन ट्यांकर पल्टिएर आगो लाग्दा ३१ जनाको ज्यान गएको थियो । एजेन्सी

Copyright © 2024 | All rights reserved.