0
प्रतिक्रिया
पोखरा । गण्डकी प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम प्रतिष्ठानअन्तर्गतको गण्डकी इन्स्टिच्युट अफ टेक्नोलोजीको पूर्वाधार विकासका लागि दक्षिण कोरिया सरकारले करिब एक अर्ब २५ करोड बराबरको अनुदान दिने भएको छ ।
नेपाल सरकारका तर्फबाट अर्थसचिव घनश्याम उपाध्याय र कोरिया सरकारका तर्फबाट नेपालका लागि कोरियाका राजदूत पार्क ताइयोङले अनुदान उक्त सम्झौतापत्रमा हस्ताक्षर गरे ।
परियोजना कार्यान्वयनको समन्वय कोरियाको तर्फबाट कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) ले गर्नेछ भने नेपालको तर्फबाट गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय र गण्डकी प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम प्रतिष्ठानले गर्नेछ । परियोजना सन् २०३० डिसेम्बर ३१ भित्र सम्पन्न हुने अर्थ सचिव उपाध्यायले जानकारी दिए ।
परियोजनाको मुख्य उद्देश्य २१औँ शताब्दीको राष्ट्रिय तथा अन्तरराष्ट्रिय आवश्यकता पूरा गर्न दक्ष जनशक्ति उत्पादन गर्नु रहेको अर्थ सचिव उपाध्यायले बताए ।
यो परियोजनाले गण्डकी प्रदेशलाई प्राविधिक केन्द्रका रूपमा विकास गर्दै व्यावसायिक तालिम कार्यक्रमलाई सबल बनाउने, शिक्षक तथा विद्यार्थीको सीप अभिवृद्धि गर्ने र उद्योग-व्यवसायसँग साझेदारी बढाउने लक्ष्य लिएको उनको भनाइ छ ।
यो सम्झौताले नेपालमा व्यावसायिक तथा प्राविधिक शिक्षाको उन्नतिमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरिएको छ । साथै यसले श्रम बजारको मागअनुसार दक्ष जनशक्ति उत्पादन गरी नेपालको सामाजिक–आर्थिक वृद्धिमा टेवा पु¥याउने अर्थ सचिव उपाध्यायको विश्वास छ ।
राजदूत ताइयोङले यो परियोजना भवन र पूर्वाधारमा मात्र नभई दक्ष जनशक्ति निर्माण, सीप विकास र नेपालको भविष्यको श्रमशक्तिमा गरिएको लगानी भएको बताए । यसमार्फत नेपालले उच्च गुणस्तरको उद्योगमैत्री प्राविधिक शिक्षा प्रदान गर्ने क्षमता वृद्धि गर्ने उनको विश्वास छ ।
गण्डकी प्रदेशका लागि आवश्यक प्राविधिक तथा व्यावसायिक तालिम प्राप्त जनशक्ति उत्पादन गर्ने योजनासहित ऐन बनाएर २०७७ सालमा गण्डकी इन्स्टिच्युट अफ टेक्नोलोजीको कार्यालय खोलिएको थियो ।
कोइकाले स्याङ्जाको फेदीखोला गाउँपालिका वडा नं १ गुर्धुममा प्रतिष्ठानलाई प्राप्त भएको एक सय ६० रोपनी जग्गामा संरचना र प्राविधिक शिक्षाका आवश्यक पर्ने प्रयोगशालादेखि दक्ष जनशक्ति तयार पार्नेसम्मको काम गर्नेछ ।
कोइकाको सहयोग भौतिक पूर्वाधार निर्माण, इलेक्ट्रिकल इन्जिनियरिङ, अटोमबोइल इन्जिनियरिङ र टुरिजम एण्ड एस्पिटालीको पढाइ थालनी गर्न सहयोग गर्नेछ ।
प्रतिष्ठानअन्तर्गत गण्डकी प्राविधिक शिक्षालयमा छ महिनादेखि तीन वर्षसम्मका तालिम तथा पढाइ हुनेछ । ती पढाइका निम्ति आवश्यक गर्ने प्रयोगात्मक शिक्षाका लागि प्रयोगशाला, विभिन्न उपकरणमा कोइकाको सहयोगबाट खर्च हुनेछ ।
दुइ वर्षसम्म कोइकाले नै सञ्चालन गरेर शिक्षालय गण्डकी प्रदेशलाई हस्तान्तरण गर्ने कार्यकारी निर्देशक डा. सोमनाथ सापकोटाले नाजकारी दिए ।
कोइकाले भौतिक संरचना निर्माण गर्न ठेक्का लगाउने, उपकरणको खरिद गर्नेदेखि शिक्षालय सञ्चालनका लागि दक्ष जनशक्ति उत्पादन गर्ने काम पनि गर्नेछ ।
आवश्यक दरबन्दीको निर्धारण गरेर तिनै मध्येबाट छनोट गरी प्राविधिक विषय अध्ययन गराउने जनशक्ति उत्पादन गर्न कोरिया पढ्नसमेत लैजाने छ ।
Copyright © 2024 | All rights reserved.