0
प्रतिक्रिया
पोखरा । जिल्ला समन्वय समितिको कार्यालय कास्कीको आयोजनामा पोखरा महानगरपालिकालगायत कास्कीका सबै पालिकाले आर्थिक वर्ष २०८१/०८२ मा सम्पादन आपसमा असल अभ्यासका सम्बन्धमा अनुभव आदानप्रदान गरेका छन् ।
कार्यक्रममा पालिकाको तर्फबाट भएका असल अभ्यास प्रस्तुत गरिएका छन् । स्थानीय पालिकाले आफ्नो क्षमता र स्रोत परिचालनको अवस्थाका आधारमा गरेका नवीन प्रयासलाई असल अभ्यासका रूपमा अघि सारेका छन् ।
पोखरा महानगरपालिकामा अनुकरणीय कार्यका रूपमा चिस्यान सुविधासहितको कृषि एम्बुलेन्स सञ्चालन, व्यवस्थित गौशाला निर्माण, प्राविधिक शिक्षाका रूपमा गण्डकी बहुप्राविधिक शिक्षालयको सञ्चालन, कृषकलाई न्यूनतम् सर्मथन मूल्य प्रदान, डिजिटल कृषि बजार सञ्चालन, कृषक प्रोत्साहन, स्थानीय उत्पादनको प्रवर्द्धन, प्याकेजिङ र ब्राण्डिङ, व्यवसाय प्रवर्द्धन केन्द्र सञ्चालन, नागरिक आरोग्य कार्यक्रम, पोखरा भ्रमण वर्ष, उपप्रमुखसँग महिला कार्यक्रम र व्यवस्थित गौशाला निर्माणलगायत उल्लेख गरिएको छ ।
नगर प्रमुख धनराज आचार्यले असल अभ्यास आदानप्रदानले आपसमा सिकाइ प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
उनले स्थानीय सरकारले उपलब्ध स्रोत साधनको परिचालनमार्फत विकास निर्माण, मानव संशाधनको विकास, कर्मचारी तथा जनप्रतिनिधिको क्षमता विकास, शिक्षा, स्वास्थ्य, वातावरण तथा पर्यावरणलगायतको क्षेत्रमा उल्लेखनीय कार्य गरिरहेको बताए ।
जिल्ला समन्वय समिति संयोजक लिलाधर पौडेलले स्थानीय सरकारलाई समन्वयमार्फत सहजीकरण गर्ने कार्यमा आफूहरू प्रतिबद्ध रहेको बताए ।
Copyright © 2024 | All rights reserved.