भदौ ०६, २०८२, शुक्रबार

होटल प्रतिनिधि समाज पोखराको फुटवल प्रतियोगिता सम्पन्न


Advertisement Image
clock icon 1 day, 8 hours ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । होटल प्रतिनिधि समाज पोखराद्वारा आयोजित सेभेन ए साइड फुटवल प्रतियोगिता सम्पन्न भएको छ । 

संस्थामा आवद्ध सदस्यबीच भाइचारा अभिवृद्धि र आपसी सम्बन्ध सुमधुर बनाउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको थियो । 

प्रतियोगितामा चार समूहले प्रतिस्पर्धा गरेकामा टिम निलोले उपाधि रक्षा गर्यो । फाइनलमा टिम निलोले रातो टिमलाई पराजित गर्दै उपाधि जितेको हो । टिम निलोलाई जिताउन सुवास सुवेदी, भुवन पोख्रेल, मिलन खड्का, विवश नेपालीले गोल गरेका थिए । टिम निलोले गत वर्ष पनि उपाधि जितेको थियो ।

यसअघि वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) नमराज भट्टराईले मुख्य रेफ्री रामबहादुर भुजेललाई बल हस्तान्तरण गरी प्रतियोगिता उद्घाटन गरेका थिए ।

सोही अवसरमा डीएसपी भट्टराईले यस्ता खेलकुद प्रतियोगिताले युवालाई स्वास्थ्यप्रति सचेत बनाउन मात्र होइन आपसी मित्रता र सहकार्यलाई पनि बलियो बनाउने बताए । फुटवल जस्तो लोकप्रिय खेलमार्फत युवामा सकारात्मक सोच, अनुशासन र खेलभावनाको विकास हुन्छ भन्ने आफू विश्वस्त रहेको उनले स्पष्ट पारे ।

कार्यक्रममा गण्डकी प्रदेश खेलकुद परिसदका बोर्ड सदस्य भीमप्रसाद पराजुलीले यस्ता प्रतियोगिताले नयाँ प्रतिभा खोजी गर्ने अवसर र खेलकुदमै प्रदेश तथा राष्ट्रको पहिचान स्थापित गर्न मद्दत पुग्ने बताए ।

समाजका अध्यक्ष माधव लम्सालले समाजले युवालाई सकारात्मक बाटोमा अघि बढाउन पर्यटन र खेलकुदलाई माध्यम बनाएको बताए । फुटवल खेलले टोलीबीच भावना, सहकार्य र स्वस्थ प्रतिस्पर्धा सिकाउने भएकाले प्रतियोगितालाई निरन्तरता दिइएको बताए ।

प्रतियोगितामा प्रतिस्पर्धा गरेका चार वटै टिमका प्रतियोगीमध्येबाट खेलाडी छनोट गरेर टिम तयार गरी यही भदौ ९ गते पर्यटन व्यवसायी संघसंस्था बीच हुने फुटवल प्रतियोगितामा सहभागी गराउने जिम्मेवारी निवर्तमान अध्यक्ष सन्तु चौधरीलाई जिम्मेवारी दिइएको छ ।

ससो प्रतियोगितामा समाजको तर्फबाट दुई  टिम सहभागी गराउने वरिष्ठ उपाध्यक्ष जीवराज उपाध्यायले जानकारी दिए ।

Copyright © 2024 | All rights reserved.