भदौ ०६, २०८२, शुक्रबार

तेस्रो ऐतिहासिक टुँडिखेल तीज महोत्सव आजदेखि, पूर्वप्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने


Advertisement Image
clock icon 6 hours, 10 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखराको इन्द्रेणी एकीकृत विकास केन्द्रले नेपाली महिलाको महान पर्व हरितालिका तीजको अवसरमा आयोजना गरेको ‘तेस्रो ऐतिहासिक टुँडिखेल तीज महोत्सव-२०८२’ आजदेखि शुरु हुँदैछ ।

यही भाद्र १५ गतेसम्म टुँडिखेल मैदानमा सञ्चालन हुने महोत्सवको आज पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने तयारी छ । महोत्सव उद्घाटन अघि विभिन्न स्थानबाट झाँकी, र्‍याली निकालेर महोत्सव स्थलमा पुर्याइनेछ । 

महोत्सवको सबै तयारी पूरा भएको छ । महोत्सवमा मौलिक तीजगीत प्रतियोगिता (आमा समूहगत), खुला एकल नृत्य प्रतियोगिता, परम्परागत सिप ढिँकी जातो प्रतियोगिता, छेलो हान्ने प्रतियोगिता हुनेछ ।

तीज गीत प्रतियोगिता विजेतालाई ३५ हजार पाँच सय ५५, उपविजेतालाई २० हजार पाँच सय ५५, तृतीय हुनेलाई १० हजार पाँच सय ५५, सान्त्वना स्थान हासिल गर्नेलाई पाँच हजार पाँच सय ५५ तथा उत्कृष्ट भेषभूषा र नृत्यलाई तीन हजार पाँच सय ५५ रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ ।

यसैगरी छेलो फाल्ने प्रतियोगिताअन्तर्गत प्रथमले १२ हजार पाँच सय ५५, दोस्रो हुनेले सात हजार पाँच सय ५५, तृतीयले पाँच हजार पाँच सय ५५ र सान्त्वना स्थान हासिल गर्नेले तीन हजार पाँच सय ५५ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

यस्तै परम्परागत सिप ढिकी जाँतो प्रतियोगितामा प्रथम हुनेले १२ हजार पाँच सय ५५, द्वितीय हुनेले सात हजार पाँच सय ५५ र तृतीय हुनेले पाँच हजार पाँच सय ५५ रुपैयाँ नगद परस्कार प्राप्त गर्नेछन् ।

ढिकी जाँतो प्रतियोगितामा सहभागी टिमले पहिला ढिकीमा धान कुट्नु पर्नेछ । त्यसपछि केलाएर चामल जाँतोमा पिस्नुपर्नेछ ।

पिसेको चामलको पिठोलाई आयोजकले दिएको जालीले चाल्नुपर्नेछ । चालेको पिठोको तौल लिइनेछ । पिठो जसको धेरै हुन्छ उही टिम प्रथम हुनेछ । प्रत्येक समूहलाई २० मिनेटको समय दिइनेछ । 

साथै मेलामा दैनिक उपभोग्य सामान, कृषि, हस्तकला, बैंक तथा वित्तीय संस्था, लत्ता कपडा, वाल उद्यान, रेष्टुरेन्टलगायत विभिन्न स्टलसँगै राष्ट्रिय तथा स्थानीय कलाकारका प्रस्तुति रहने केन्द्रका अध्यक्ष एवं महोत्सवका मूल संयोजक भानुभक्त अधिकारीले जानकारी दिए ।

ऐतिहासिक टुँडिखेलको संरक्षण, परम्परागत नेपाली कला संस्कृतिको संरक्षण, महिला दिदीबहिनीद्वारा उत्पादित वस्तुको प्रदर्शनी, नृत्य र सङ्गीतमार्फत महिला सशक्तीकरणमा टेवा पु¥याउने, तीजलाई भड्किला नभई मौलिक तीजको रुपमा विकास गर्ने, लोपउन्मुख संस्कृतिको जगेर्ना, अन्तरनिहीत प्रतिभा प्रस्फुटन लागि स्थान र वातावरण उपलब्ध गराउने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको हो । 

महोत्सवका लागि केन्द्रका अध्यक्ष अधिकारीको मूल संयोजकत्वमा मूल आयोजक समिति, ३९ सदस्य सम्पादन समिति, विभिन्न ३८ वटा उपसमिति, ३१ सदस्य मेला संरक्षक समिति, एक सय ३१ सदस्य सल्लाहकार समिति गठन गरिएको थियो ।

मूल आयोजक समितिमा पोखरा महानगरपालिका वडा नं १, २ र ३ स्थित सबै संघसंस्था, आमा समूह, क्लब, टोल सुधार समिति, वित्तीय संस्था, विद्यालयलगायत विभिन्न क्षेत्रमा क्रियाशील संघसंस्थाका प्रमुख एवं प्रतिनिधि छन् ।

केन्द्रका महासचिव एवं सांस्कृतिक उपसमिति संयोजक वसन्त बास्तोलाले महोत्सवका सबै उपसमितिले तयारी पूरा गरेको बताए । यस पटकको विगतका महोत्सव भन्दा पृथक हुने उनले बताए । उनका अनुसार प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, राजु परियार, ज्योति मगर, श्याम रानासहित ख्यातिप्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारका लाइभ दोहोरीले महोत्सव तताउने स्पष्ट पारे ।

महोत्सवका मूल संयोजक एवं केन्द्रका अध्यक्ष अधिकारीका अनुसार कार्यक्रम स्थलको सजावटदेखि सुरक्षा व्यवस्था, साउन्ड सिस्टम, मञ्च सञ्चालनदेखि कलाकारका प्रस्तुतिसम्म सबै पक्षलाई ध्यानपूर्वक व्यवस्थापन गरिएको छ । 

स्थानीय समुदाय, स्वयंसेवक, प्राविधिक टोली र प्रायोजकको सक्रिय सहभागिताले निकै सहज र उत्साह थपिएको उनले बताए।

यो महोत्सवलाई पोखरावासी र आगन्तुक सबैका लागि अविस्मरणीय बनाउने र त्यसका लागि कुनै कसर बाँकी नराखिने अध्यक्ष अधिकारीले स्पष्ट पारे ।

सचिवालय व्यवस्थापन उपसमिति संयोजक दुर्गाप्रसाद अधिकारीका अनुसार सांस्कृतिक, खेलकुद तथा ज्ञानवर्द्धक एवं मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन, आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने, इन्द्रेणी एकेडेमीमा रहेका बालबालिकाको समग्र स्तरोन्नति गर्ने, इन्द्रेणी आवासीय किरियाकर्म भवनलाई सुविधासम्पन्न बनाउन, शव वाहन सञ्चालन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो ।

केन्द्रका उपाध्यक्ष एवं अर्थ संकलन उपसमिति संयोजक नीरज विक्रम राणका अनुसार महोत्सव संचालनका लागि ६९ लाख आम्दानी, ६४ लाख ५० हजार खर्च, चार लाख ५० हजार बचत हुने अनुमान छ । 

Copyright © 2024 | All rights reserved.