0
प्रतिक्रिया
पाेखरा । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शिवराज अधिकारीले जनताको शिर झुक्नेगरि आफूले कुनै गतिविधि नगर्ने बताएका छन् । नेपाली कांग्रेस धादिङ-पोखरा सम्पर्क समितिले आयोजना गरेको ११औं साधारण भेला तथा तीज विशेष कार्यक्रम उद्घाटन गर्दै मन्त्री अधिकारीले यस्तो बताएका हुन् ।
उनले नेपाली कांग्रेसलाई बलियो, सुदृढ र जनमुखी बनाउन सम्पर्क समितिको योगदान महत्वपूर्ण रहेको बताए । मन्त्री अधिकारीले पार्टीलाई आन्तरिक एकता, अनुशासन र संगठन विस्तारको खाँचो रहेको बताए ।
उनले तीज पर्वले नेपाली महिलाबीच आपसी सद्भाव, मेलमिलाप र संस्कृतिको संरक्षणमा ठूलो भूमिका खेलेको उल्लेख गर्दै यसलाई उत्सवमात्र नभई सामाजिक एकताको प्रतीकका रूपमा मनाउन आग्रह गरे ।
मन्त्री अधिकारीले पार्टीको जय नेपाल र चार तारे झण्डाको महत्वबारे पनि व्याख्या गर्दै भने, “जय नेपाल केवल एउटा नारामात्र होइन, राष्ट्रिय एकता र लोकतान्त्रिक आन्दोलनको ऐतिहासिक धरोहर हो, यस नाराले प्रत्येक नेपालीलाई स्वतन्त्रता, समानता र स्वाधीनताको भावनासँग जोड्दछ ।”
यही नारा नेपाली कांग्रेसले जनतालाई अधिकार दिलाउने अभियानमा शक्ति र प्रेरणा बनेको उनले स्पष्ट पारे । उनले चार चारे झण्डा कांग्रेसको पहिचान र संघर्षको प्रतीक भएको उल्लेख गर्दै भने, “यसको चारवटा चन्द्राकार चिह्नले लोकतन्त्र, समाजवाद, राष्ट्रियता र कांग्रेसप्रतिको निष्ठा जनाउँछ, यो झण्डा हाम्रो आदर्श, मूल्य र आन्दोलनको प्रतीक हो ।”
यसलाई अगाडि लिएर नेपाली कांग्रेसले देशमा प्रजातन्त्र ल्याउन र संस्थागत गर्न महत्वपूर्ण योगदान गरेको उनले बताए ।
उनले थपे, ‘जय नेपालको नारामार्फत् र चार चारे झण्डाको आत्मासँगै नेपाली कांग्रेस सधैं जनताको पक्षमा उभिएको छ र आगामी दिनमा पनि लोकतन्त्र र सामाजिक न्यायको संरक्षणका लागि अग्रसर रहनेछ ।’
उनले भने, “धादिङ समिति निरन्तर सक्रिय रहँदै, संगठनलाई सशक्त बनाउन र लोकतन्त्रप्रेमी धादिङवासीलाई एकताबद्ध राख्न सफल भएको देख्दा निकै गर्व महसुस भएको छ ।”
उनले थपे, “समितिले सुरु देखिनै पार्टीलाई सशक्त बनाउन, आपसी सहयोग र सद्भाव बढाउन, तथा लोकतन्त्र र सामाजिक न्यायको पक्षमा आवाज उठाउँदै आएको छ, यही निरन्तर यात्राले समिति आज मजबुत र प्रभावशाली बनेको छ ।”
नेपाली कांग्रेस पोखरा-५ का सभापति प्रकाश कोइरालाले धादिङ-पोखरा सम्पर्क समितिले निरन्तर गर्दै आएको सक्रियता र योगदानको प्रशंसा गरे । उनले भने, “सम्पर्क समितिले छरिएर रहेका नेपालीलाई मात्र जोड्ने होइन, कांग्रेसलाई अझ सशक्त बनाउन ठूलो भूमिका खेलेका छन् ।”
उनले नेपाली कांग्रेस केवल राजनीतिक संगठन मात्र नभई जनताको आवाज र लोकतान्त्रिक मूल्यहरूको रक्षक भएको बताए ।
हाम्रा अग्रजले विगतमा लोकतन्त्र स्थापना गर्न बलिदान दिएको उल्लेख गर्दै कोइरालाले अबको हाम्रो जिम्मेवारी लोकतन्त्रलाई संस्थागत गर्दै विकास र सुशासनमा ध्यान केन्द्रित गर्नु भएको स्पष्ट पारे ।
नेकपा एमाले धादिङ-पोखरा सम्पर्क मञ्चका अध्यक्ष गोकर्ण अधिकारीले राजनीति भनेको केवल सत्ता प्राप्तिको साधन होइन, जनताको सेवा गर्ने माध्यम भएको भन्दै आजको अवस्थामा सबै राजनीतिक दलहरू मिलेर देशलाई आर्थिक समृद्धि, सुशासन र सामाजिक न्यायको बाटोमा अघि बढाउन आवश्यक छ रहेको बताए ।
उनले भने, “दलको आआफ्नै विचारधारा भए पनि देश र जनताको हितलाई पहिलो प्राथमिकता दिन सक्नुपर्छ, आपसी सहयोग, सहकार्य र प्रतिस्पर्धामार्फत मात्र लोकतन्त्र अझ सुदृढ हुन्छ ।”
समितिका संस्थापक सभापति केदार धमलाले नयाँ पुस्तालाई जिम्मेवारी लिन र संगठनलाई अझ प्रगतिशील ढंगले अघि बढाउन आग्रह गरे । उनले भने, “हामीले रोपेको बिरुवा आज ठूलो रुख बनेको छ, अब यसलाई नयाँ पुस्ताले थप हेरचाह गर्दै अझ फैलाउनुपर्नेछ । यही हाम्रो सच्चा योगदान हुनेछ ।”
धमलाले आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाउने संकल्पसहित जनस्तरमा संगठन विस्तार, युवा सहभागिता र महिलाको सशक्त उपस्थितिलाई अझ मजबुत बनाउनुपर्नेमा जोड दिए ।
समिति वरिष्ठ सल्लाहकार कृष्णकुमार श्रेष्ठले सम्पर्क समिति भनेको पार्टीको अग्रपंक्तिमा काम गर्ने एउटा महत्वपूर्ण संरचना भएको भन्दै यसले पार्टीको नीति-कार्यक्रमलाई जनस्तरमा पु¥याउने, जिल्लावासीलाई जोड्ने र संगठनलाई मजबुत बनाउने ऐतिहासिक जिम्मेवारी निर्वाह गर्दै आएको छ ।”
समितिका निवर्तमान सभापति लालप्रसाद पाठकले नेपाली कांग्रेसको मूल शक्ति भनेकै संगठनात्मक एकता भएको बताए । उनले हामी सबै मिलेर अघि बढ्यौँ भने कांग्रेसलाई पहिलो पार्टी बनाउन कुनै कठिनाई नुहने सप्ष्ट पारे । त्यसका लागि पुराना पुस्ताले अनुभव र मार्गदर्शन दिनुपर्छ भने नयाँ पुस्ताले ऊर्जा र नविन सोचसहित अघि बढ्नुपर्नेमा उनले जोड दिए ।
समितिलाई सशक्त, व्यवस्थित र सदस्यबीच एकताको केन्द्र बनाउन निरन्तर प्रयास गरिएको भन्दै पाठकलेसमितिले संगठनलाई मात्र होइन, सामाजिक, सांस्कृतिक र शैक्षिक क्षेत्रमा पनि योगदान गर्दै आएको बताए ।
कार्यक्रममा पोखरा-६ महिला सञ्जालका अध्यक्ष बबिता मल्ल, धादिङ त्रिपुरा बाराही महिला समूहका अध्यक्ष लक्ष्मीमाया थापा, पोखरा-६ कृषि सञ्जालका अध्यक्ष विन्दा धरेल, समितिका प्रेस संयोजक हरि पन्त, सदस्य राजेन्द्र पाण्डेलगायतले बोलेका थिए ।
समिति सभापति कमलबहादुर पाण्डेको सभापतित्वमा भएको कार्यक्रममा वरिष्ठ उपसभापति माधव लम्सालले स्वागत र सचिव श्यामबहादुर इटनीले सञ्चालन गरेका थिए ।
कार्यक्रम लालकाजी श्रेष्ठको संयोजकत्वमा सम्पन्न भएको थियो । कार्यक्रममा लोक दोहोरी गायिक सीता न्यौपाने, गायक प्रदीप अर्याललाई सम्मान गरिएको थियो भने उत्कृष्ट तीज गीत प्रस्तुत गर्ने प्रमिला बुढाथोकीलाई पुरस्कृत गरिएको थियो ।
Copyright © 2024 | All rights reserved.