0
प्रतिक्रिया
पोखरा । राष्ट्रिय फलफूल तथा तरकारी थोक व्यवसायी संघ पोखराले पोखरा महानगरपालिका वडा नं १४ स्थित शहीद स्मृति आवासीय माविमा खेलकुद, शैक्षिक सामग्री तथा खाद्यान्न वितरण गरेको छ । संघले २२औं स्थापना दिवसको अवसर पारेर आइतबार उक्त सहयोग गरेको हो ।
संघका अध्यक्ष दुर्गाप्रसाद कंडेल, पदाधिकारी, कार्यसमिति सदस्य र सल्लाहकारसहितले विद्यालयका प्रधानाध्यापक कल्पना चिलवाललगायतलाई उक्त सामग्री हस्तान्तरण गरिएको संघका सचिव लालप्रसाद ढकालले जानकारी दिए ।
कार्यक्रममा संघका सल्लाहकार निर्मलप्रसाद बास्तोलाले संघको सहयोगले विद्यार्थीको शैक्षिक विकासमा थप प्रोत्साहन पुर्याउने विश्वास व्यक्त गरे । उनले भने, ‘शिक्षा नै राष्ट्र निर्माणको आधार हो भन्ने कुरा हामी सबैलाई थाहा छ, त्यसैले विद्यालयको स्तर उकास्न समाज, संस्था र व्यक्तिको संयुक्त योगदान अपरिहार्य हुन्छ ।’
निरन्तर सहयोग र सहकार्यले मात्र विद्यालयलाई उत्कृष्ट शिक्षालय बनाउने सम्भावना रहने उनले बताए ।
संघका अध्यक्ष दुर्गाप्रसाद कंडेलले शिक्षा बिना कुनै समाजले दिगो प्रगति गर्न सक्दैन भन्ने कुरा सबैले बुझ्न आवश्यक रहेको भन्दै शहीद स्मृति आवासीय माविलाई गरिएको यो सहयोग संघको सामाजिक उत्तरदायित्वको एक हिस्सा भएको स्पष्ट पारे ।
विद्यालयको भौतिक संरचना मात्र नभई गुणस्तरीय शिक्षा, दक्ष शिक्षक, र सिर्जनशील विद्यार्थी उत्पादन गर्नुपर्नेमा जोड दिँदै उनले संघले सम्भव भएसम्म निरन्तर साथ र सहयोग गर्ने प्रतिवद्धता जनाए ।
प्रधानाध्यापक कल्पना चिलवालले शहीद, बेपत्ता, सीमान्तकृत, अपांग, दलितलगायतका तीन सय ८६ जना विद्यार्थी विद्यालयमा अध्ययनरत रहेको बताइन् । उनले संघको सहयोगले विद्यालय र विद्यार्थीलाई ठूलो ऊर्जा र उत्साह दिएको बताइन् ।
शैक्षिक गुणस्तर अभिवृद्धि गर्न भौतिक सुविधा, शैक्षिक सामग्री र समाजको साथ आवश्यक पर्ने भन्दै उनले विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिन आफूहरु तयार रहेको बताइन् ।
संघका अध्यक्ष कंडेलको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक राजीव सिग्देलले स्वागत तथा संघका सचिव लालप्रसाद ढकालले सञ्चालन गरेका थिए ।
Copyright © 2024 | All rights reserved.