असोज ०३, २०८२, शुक्रबार

पोखरा-२९ को तीजगीत प्रतियोगितामा लगनशील आमा समूह प्रथम


Advertisement Image
clock icon 3 weeks, 4 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । नेपाली नारीहरुको महान चाड हरितालिका तीजको अवसरमा पोखरा महानगरपालिका वडा नं २९ ले आयोजना गरेको तीज गीत प्रतियोगितामा लगनशील महिला समूह प्रथम भएको छ ।

साथै नारी उत्थान आमा समूह द्वितीय, आमा मिलन समूह तृतीय, नवीन ज्योति महिला समूह र मिलिजुली आमा समूहले सान्त्वना स्थान हासिल गरेको जितेन्द्र क्षेत्रीले जानकारी दिए । यसैगरी नृत्यतर्फ जनप्रकाश मावि उत्कृष्ट भएको छ ।

यसअघि कार्यक्रम उदघाटन गर्दै पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङले आफ्नो धर्म र संस्कृतिलाई जोगाई राख्नका लागि महिलाले गाउने गीतले जनचेतना जगाउनुपर्नेमा जोड दिइन् ।

उनले भनिन्, ‘आज हामी सबै यहाँ एक विशेष उद्देश्यका साथ भेला भएका छौँ, तीजको पावन पर्वलाई अझै भव्य र अर्थपूर्ण बनाउन तीज गीत प्रतियोगिता आयोजना गरिएको छ । हाम्रो संस्कृति, परम्परा र मौलिकता जोगाउने प्रमुख आधार नै यस्ता गीत, नृत्य र सांगीतिक अभिव्यक्ति हुन् ।’

उनले थपिन्, ‘तीजको गीत केवल मनोरञ्जनमात्र होइन, यसले महिला सशक्तीकरण, सामाजिक चेतना र भावनात्मक अभिव्यक्तिको बलियो माध्यमको काम गरेको छ ।’

आमा, दिदीबहिनीहरूले गीतमार्फत आफ्ना दुःख-सुख, आशा-अपेक्षा र सामाजिक सन्देशलाई प्रस्तुत गर्ने परम्परा निकै पुरानो भएको भन्दै उपप्रमुख गुरुङले प्रतिस्पर्धामा को विजेता वा उपविजेता हुन्छन् भन्ने कुरा गौण हो, तर उत्साह, लगनशीलता र मौलिक प्रस्तुतिहरू नै सबैभन्दा ठूलो उपलब्धि भएको स्पष्ट पारिन् ।

वडाध्यक्ष श्रीप्रसाद गुरुङले संस्कृति जगाउनु वडाको कर्तव्य भएको भन्दै हाम्रो मौलिक संस्कृति, परम्परा र सामाजिक एकताको आधार नै यस्ता पर्व र प्रतियोगिता भएको स्पष्ट पारे ।

तीज पर्व विशेष गरेर महिलाहरूको हक, अधिकार, सामाजिक समानता र भावनात्मक अभिव्यक्तिसँग जोडिएको पर्व भएको भन्दै उनले दिदीबहिनीले गीतमार्फत आफ्नो कथा, समाजको यथार्थ र भविष्यको आकांक्षा उजागर गर्ने परम्परा निकै महत्वपूर्ण रहेको स्पष्ट पारे ।

उनले भने, ‘आज प्रस्तुत भएका गीतहरूले हाम्रो मौलिक संस्कृति जोगाउन मात्र होइन, नयाँ पुस्तालाई त्यसमा जोड्ने पुलको काम पनि गरेको छ, यस प्रकारका कार्यक्रमले हाम्रो वडाको गौरव बढाएको छ, समुदायबीच आपसी सद्भाव, भाइचारो र उत्साह जगाएको छ ।’ भविष्यमा पनि यस्ता कार्यक्रम निरन्तर आयोजना गर्ने उनले प्रतिवद्धता जनाए ।

पोखरा-२९ की वडासदस्य एवं कार्यपालिका सदस्य निर्मला पौडेलको अध्यक्षतामा भएको कार्यक्रमकाे सञ्चालन वडासदस्यद्वय कालीदास पोखरेल र दुर्गा न्यौपानेले गरेका थिए ।

प्रतियोगिताको निर्णायकमा  लोकदोहोरी गायक शिवहरि ढुंगाना, तारापति सुवेदी र शीतला अधिकारी थिए ।

Copyright © 2024 | All rights reserved.