0
प्रतिक्रिया
पोखरा । नेपाल प्रहरीको महानिरीक्षकमा चन्द्रकुवेर खापुङ नियुक्त भएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले पहिलो वरीयतामा रहेका अतिरिक्त महानिरीक्षक (एआइजी) खापुङलाई नेपाल प्रहरीको ३२औं महानिरीक्षक बनाउने निर्णय गरेको हो ।
वर्तमान प्रहरी महानिरीक्षक दीपक थापा कुँवर अगामी भदौ १८ गतेबाट अनिवार्य अवकाशमा जाने भएपछि खापुङलाई आइजीपी नियुक्त गरिएको हो । नवनियुक्त आईजीपी खापुङले अगामी भदौ १९ गतेदेखि कार्यभार सम्हाल्नेछन् ।
खापुङ २०५२ कार्तिक २७ मा प्रहरी निरीक्षकमा नियुक्त भएका थिए। खापुङ एसपी हुँदा हेडक्वार्टरको कर्मचारी प्रशासन शाखामा बसेर काम गरेका थिए भने एसएसपी हुँदा उपत्यका अपराध अनुसन्धान कार्यालयको कमाण्ड सम्हालेका थिए ।
यस्तै उनी आइजीमा उनले कोशी प्रदेशको कमाण्ड गरेका थिए । खापुङ यसै वर्ष वैशाख १६ मा एआइजीमा बढुवा भएका थिए ।
उनीसँगै एकै लटमा भर्ना भएकाहरुमध्ये पहिलो लटमा २०५१ चैत ५ मा नियुक्ति लिएका ५३ जना मध्येका वसन्त कुँवर आइजीपीबाटै अवकाशमा गइसकेका छन् ।
दोस्रो लटमा नियुक्ति लिएका दीपक थापा कुँवर आइजीपीबाट अवकाशमा जाँदैछन् । तेस्रो लटबाट खापुङ आइजीपीको एकल प्रतिस्पर्धीको रूपमा देखिएका थिए । सरकारले उनैलाई प्रहरीको ३२औं महानिरीक्षक नियुक्त गरेको हो ।
Copyright © 2024 | All rights reserved.