असोज ०३, २०८२, शुक्रबार

अर्को जन्म लिनुअघि’ कविता संग्रह सार्वजनिक


Advertisement Image
clock icon 2 weeks, 2 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । कास्कीको रुपा गाउँपालिका-६, तालपारी निवासी साहित्यकार मदन घिमिरेद्वारा रचित पहिलो काव्यकृति ‘अर्को जन्म लिनुअघि’ सार्वजनिक गरिएको छ।

पोखरामा आयोजित एक विशेष समारोहका बीच नेपाल संगीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानका पूर्व कुलपति तथा साहित्यकार सरुभक्त श्रेष्ठले कृतिको लोकार्पण गर्दै कवि घिमिरेलाई सशक्त कविको रूपमा उदाएका बताए।

उनले भने, “हाम्रो धर्म-संस्कृतिमा पुनर्जन्मको अवधारणा भए पनि विज्ञानले यसलाई स्वीकारेको छैन। यस्तो अवधारणामा आधारित कविता एक विज्ञान शिक्षकबाट लेखिनु आफैंमा नौलो विषयवस्तु हो।”

श्रेष्ठले वर्तमान शताब्दीमा जन्मिए पनि हाम्रो सोचमा अझै पुरानोपन देखिएको भन्दै कविहरूले आफूलाई समय सापेक्ष बनाउनु आवश्यक रहेको बताए। उनले कृतिमा राष्ट्रिय भावना, समाजप्रतिको जिम्मेवारी र जीवनदृष्टिकोण अभिव्यक्त भएको उल्लेख गरे।

कार्यक्रममा रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाले रुपालाई साहित्यिक क्षेत्रमा पुरानो इतिहास रहेको बताउँदै पालिकाबाट साहित्यिक गतिविधिमा निरन्तर सहयोग भइरहेको जानकारी गराए।

कविता संग्रहको समिक्षा गर्दै कवि सञ्जीव पौडेलले कृतिमा समाज, प्रेम, देशप्रेम, वैदेशिक रोजगारी र राजनीति जस्ता विविध विषयवस्तु समेटिएको बताए।

स्रष्टा घिमिरेलाई मानवतावादी र प्रकृतिप्रेमी कविको रूपमा चित्रण गर्दै उनले संग्रहमा कोमल भावनाले भरिएका रचना समेटिएको उल्लेख गरे।

बिम्बकवि रमेश श्रेष्ठले कविताप्रतिको माया र समर्पणले मदन घिमिरेलाई कवि बनाएको बताए भने कवि नेपालप्रकाश अधिकारीले घिमिरेलाई कुशल विज्ञान शिक्षकको रूपमा चिनाउँदै विज्ञान र साहित्यको संयोजनमा आधारित कविता लेखनमा उनी सफल भएको बताए।

स्रष्टा मदन घिमिरेले आफू विभिन्न साहित्यिक कार्यक्रममा सहभागी हुँदै जाँदा जन्मिएका अनुभूति, विचार र भावनाहरूलाई कविता मार्फत अभिव्यक्त गर्न थालेको बताउँदै, ती रचनाहरूलाई संग्रहका रूपमा प्रस्तुत गरिएको जानकारी दिए।

कार्यक्रममा रुपा वाङ्मय प्रतिष्ठान अध्यक्ष आदर्श पोखरेलले मदनका कविताहरूले सबैलाई भावुक बनाउने उल्लेख गरे।

लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष पदमराज ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष जीतबहादुर थापाले स्वागत मन्तव्य तथा सचिव कृष्णप्रसाद पौडेलले सञ्चालन गरेका थिए।

कार्यक्रम लेखनाथ साहित्य प्रतिष्ठान र रुपा वाङ्मय प्रतिष्ठानको संयुक्त आयोजनामा सम्पन्न भएको हो।

Copyright © 2024 | All rights reserved.