0
प्रतिक्रिया
पोखरा । संविधान दिवसको अवसरमा कास्की जिल्ला अदालत बार एशोसिएशन र उच्च अदालत पोखरा बार एशोसिएशनले पोखरामा बृहत शान्ति र्याली आयोजना गरेको छ ।
आन्दोलनपछि संविधान मर्छ कि भन्ने सबैलाई त्रास भइरहेको अवस्थामा संविधानलाई जोगाउनु पर्छ भनेर र्याली गरेको बताइन्छ ।
जिल्ला अदालत बार एशोसिएशनकी अध्यक्ष भगवती पहारीले संविधान रक्षाका लागि खबरदारीको रुपमा शान्तिपूर्ण र्याली निकालिएका बताइन् ।
‘हामीले आज मौन र्यालीको आयोजना गरेका छौँ । यो संविधान दिवसको अवसरमा बारले आयोजना गरेको हो । अहिलेको आन्दोलनपछि कतै यो संविधान मर्छ कि सबैलाई त्रास भइरहेको अवस्थामा हामीले यो र्याली आयोजना गरिरहेका छाैँ’, उनले भनिन् ।
संविधान अनुसार नै सरकार गठन गर्ने तयारी भइरहेको भन्दै उनले संविधानमा केही गर्न मिल्दैन भन्ने खालको खबरदारीको रुपमा पनि र्याली आयोजना गरिएको स्पष्ट पारिन् ।
उच्च अदालत पोखरा बार एशोसिएशनका अध्यक्ष शालिग्राम भट्टराईले संविधानको रक्षा, भ्रष्टाचारमुक्त समाज र सुशासन कायमको लागि मौन जुलुस प्रदर्शन गरेको बताए ।
उनले भने, ‘आज संविधान दिवस र संविधानको रक्षा हुनुपर्यो, भ्रष्टाचारमुक्त हुनुपर्यो र सुशासन कायम हुनुपर्यो भनेर हामीले आज मौन जुलुस प्रशर्दन गरेका छाैँ ।’
मौन जुलुसमा वरिष्ठ अधिवक्ता, अधिवक्ता र व्यवसायिक संघ संस्थाबाट सहभागी थिए । मेहेनत र बलिदानका साथ बनेको संविधानको रक्षा हुनुपर्छ भन्ने नै आफूहरुको मुख्य कुरा भएको सहभागीको भनाइ थियो । संविधान संशोधनसहित व्यवस्था होइन अवस्था परिवर्तन गर्नुपर्नेमा सहभागीले जोड दिएका छन् ।
Copyright © 2024 | All rights reserved.