0
प्रतिक्रिया
पोखरा । पोखराको प्रसिद्ध धार्मिक तीर्थस्थल विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव हुने विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले जनाएको छ ।
यही असोज ६ गते घटस्थापनादेखि १५ गते महानवमीसम्म नवदुर्गा महोत्सव सञ्चालन हुन लागेको समिति अध्यक्ष गणेशबहादुर श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार महोत्सवमा श्रीमद्देवी भागवत ज्ञान महायज्ञ सञ्चालन गरिनेछ । यस अवधिमा हरेक दिन बिहान ९ः०० देखि मध्याह्न १२ः०० बजेसम्म महायज्ञ सञ्चालन हुनेछ ।
यस्तै सतचण्डी महानुष्ठान बिहान ६ः०० देखि ९ः०० बजेसम्म हुनेछ भने भजनकीर्तन अपराह्न २ः०० देखि ४ः०० बजेसम्म गरिने समितिले जनाएको छ ।
विजया दशमीको अवधिभर मन्दिरमा नित्य पूजा बिहान ४ः०० देखि प्रारम्भ भई भक्तजनहरूको दर्शनका लागि मन्दिर ५ः०० बजेदेखि खुला गरिनेछ । साथै प्रत्येक साँझ ६ः०० बजे आरती गरिनेछ । महायज्ञका वाचकका रूपमा श्रीकृष्णनुरागी पण्डित पशुपति पौडेल रहने जनाइएको छ ।
विजयादशमीको पावन अवसरमा २०६४ सालदेखि विध्यवासिनी नवदुर्गा महोत्सवको आयोजना गर्दै आइएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
महोत्सवका अवसरमा विन्ध्यवासिनी नवदुर्गा शोभायात्रा र श्रीमद्देवी भागवत ज्ञान महायज्ञ गरिँदै आइए पनि यस वर्ष भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका कारण पूर्वतयारीमा बाधा पुग्न गएकाले शोभायात्रा भने स्थगित गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
अढाई शताब्दीअघि देखि नै पूजाआजा हुँदै आइएको मानिने यस मन्दिरको स्थापना कास्कीका अन्तिम राजा सिद्धिनारायण शाहको पालामा भएको भनाइ छ ।
मन्दिरको संरक्षण विकास र प्रवर्द्धन गर्ने उद्देश्यका साथ २०४३ सालमा विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको गठन गरिएको थियो ।
समितिको गठनपश्चात् यस धार्मिक क्षेत्रमा भौतिक पूर्वाधारको निर्माण, सौन्दर्यकरण, सामाजिक, धार्मिक तथा आध्यात्मिक जागरणसम्बन्धी कार्यहरू हुँदै आएका छन् ।
समितिले विन्ध्यवासिनी दर्शन गर्न पोखरा आउने श्रद्धालु भक्तजनहरूबाट प्राप्त भेटी तथा दान दातव्यलाई जनहितको कार्यमा प्रयोग गर्दै आएको छ ।
दाताहरूको सहयोगमा समितिबाट विन्ध्यवासिनी मन्दिर परिसरमा शिव मन्दिर, राधाकृष्ण मन्दिर, विन्ध्यवासिनी गुरुकुल भवन, सन्त निवास, विन्ध्यवासिनी बहुद्देश्यीय सभा–भवन, प्रदक्षिणा पथ, विन्ध्यवासिनी मन्दिर परिसरमा ढुङ्गा छपाइ, विन्ध्यवासिनी मन्दिर र गणेश मन्दिरमा पित्तलद्वारा कलात्मक सजावट र पित्तलको द्वार निर्माण आदि गरिएका छन् ।
त्यस्तै भक्तजनहरूको सुविधा र सौन्दर्यकरणका लागि प्रदक्षिणा पथ, शौचालयहरू, कीर्ति स्तम्भ, पानीका लागि बोरिङ तथा खानेपानी भण्डारणका लागि ४० हजार लिटर क्षमताको टङ्की, जलधारा, शुद्ध पिउने पानी, विशाल त्रिशूल र शक्ति ध्वजा र विशाल कमण्डलुका साथै विन्ध्यवासिनी वाटिका निर्माण गरी त्यसमा पानीको फोहोरा र शिवानन्द कुण्डको निर्माणलगायतको धेर काम गरिसकिएको छ ।
मन्दिरमा २०५१ सालमा स्थापित विन्ध्यवासिनी गुरुकुल विद्याश्रममा कक्षा ६ देखि १० सम्म निःशुल्क आवासीय रूपमा अध्यापन हुँदै आएको छ ।
गुरुकुललाई कक्षा १२ सम्म विस्तार गर्ने योजनाअनुरूप विन्ध्यवासिनी गुठीको हक–भोग स्वामित्वको पोखरा महानगरपालिका–१८ स्थित २६ रोपनी क्षेत्रफल जग्गामा भवन निर्माण गर्ने कार्य झण्डै अन्तिम चरणमा पुगेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
मन्दिरमा आउने ज्येष्ठ नागरिक, अशक्त, अपाङ्गता भएका व्यक्ति तथा गर्भवती महिला समेतको सुविधालाई ध्यानमा राखेर मन्दिरमा सहज पहुँचको व्यवस्थाका लागि लिफ्टको स्थापना गरिएको छ ।
समितिले सेवा कार्यलाई प्राथमिकता दिँदै ज्येष्ठ नागरिकहरूका लागि दिवा सेवा उपलब्ध गराउने उद्देश्यले २०७२ सालबाट विन्ध्यवासिनी ज्येष्ठ नागरिक मिलन केन्द्र सञ्चालन गर्नुका साथै एम्बुलेन्स सेवा पनि सञ्चालन गरिएको छ ।
त्यस्तै प्राकृतिक चिकित्सा पद्धतिका आधारमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ विन्ध्यवासिनी प्राकृतिक चिकित्सालय सञ्चालनमा ल्याइएको छ । यसको भौतिक पूर्वाधार निर्माण कार्य जारी रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
विभिन्न पर्व उत्सवका पूजन धार्मिक आध्यात्मिक जागरण तथा संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ विभिन्न पर्वहरूका उपलक्ष्यमा विशेष पूजनोत्सव आयोजना गर्ने गरिएको उनले बताए ।
उनका अनुसार साउनमा शिव पूजनोत्सव, गणेश चौथीमा गणेश पूजनोत्सव, श्रीपञ्चमीमा सरस्वती पूजनोत्सव, श्रीकृष्ण जन्माष्टमीमा श्रीकृष्ण जनमोत्सव, राम नवमी, हनुमान जयन्ती, शिवरात्रिमा विशेष कार्यक्रम हुँदै आएका छन् ।
Copyright © 2024 | All rights reserved.