माघ ०३, २०८२, शुक्रबार

आज सोह्रश्राद्ध समापन गरिँदै


Advertisement Image
clock icon 3 months, 3 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पाेखरा। आश्विनकृष्ण प्रतिपदादेखि शुरू भएको पितृपक्ष आज अपराह्नकालमा दिवङ्गत पितृको नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन गरिँदैछ। सोह्र तिथिसम्म चल्ने भएकाले यसलाई सोह्र श्राद्ध पनि भनिन्छ।

पितृपक्षको अन्तिम दिन आज औँसी तिथिमा श्राद्ध गरिन्छ। यदि कुनै कारणले पितृपक्षको अन्य तिथिमा श्राद्ध गर्न नसकिएको भए आजको दिनमा गर्नुपर्ने शास्त्रीय मान्यता छ। आज पनि श्राद्ध गर्न नसकिएमा आपत् धर्मअनुसार आश्विनशुक्ल प्रतिपदादेखि पञ्चमीसम्म गर्न सकिन्छ।

त्यसपछि पनि सम्भव नभए कार्तिक कृष्ण औँसी (लक्ष्मीपूजा) वा मङ्सिरको वृश्चिक सङ्क्रान्तिसम्म जुराएर श्राद्ध गर्न सकिने विकल्प छ।

यदि यी सबै समयमा पनि श्राद्ध गर्न नसकिएमा सक्ने व्यक्तिले आफैँ वा नसक्नेले ब्राह्मणमार्फत वैदिक मन्त्रले दैनिक १०८ पटक जप गर्न सकिने शास्त्रीय विकल्प छ। यसरी १० महिनासम्म जप गर्दा पनि पितृले तृप्ति प्राप्त गर्ने धार्मिक विश्वास छ।

वैदिक सनातन हिन्दू परम्पराअनुसार, कुनै पनि ठूला माङ्गलिक कार्य गर्नुअघि पितृलाई श्रद्धापूर्वक सम्झिने गरिन्छ। पितृपक्षको समयमा दिवङ्गत पितृहरू पिण्ड र पानीको आशामा मर्त्यलोकमा आउने धार्मिक विश्वास छ।

यसरी सोह्र श्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्व पूरा हुनुका साथै पितृऋणबाट पनि मुक्त भइने मान्यता छ।

आज देशभरका तीर्थस्थलमा पितृप्रति श्रद्धा प्रकट गर्न श्राद्ध गर्नेको घुइँचो लाग्ने गर्दछ। पितृपक्षको समाप्तिसँगै असोज ६ गते घटस्थापना गरी दुर्गापक्ष अर्थात् बडादशैँ शुरू हुनेछ।

Copyright © 2024 | All rights reserved.