0
प्रतिक्रिया
पाेखरा । बडादशैँ अर्थात नवरात्रको चौथो दिन कुष्माण्डा देवीको पूजा गर्ने गरिन्छ । सम्पूर्ण जगतका हरकणमा ऊर्जा र प्राणशक्तिको अनुभवले नै मानिसलाई सफलताको विन्दूमा पुर्याउने गर्दछ । यही सर्वव्यापी, जागृत, प्रत्यक्ष बुद्धिमत्ता सृष्टिमा अनुभव गर्नु नै कुष्माण्डा हो ।
कुष्माण्डाको शाब्दिक अर्थलाई हेर्दा यसको अर्थ लौका एवं कुपिण्डो भन्ने हुन्छ । यसको प्रतिकात्मक अर्थले हामीहरुको प्राणशक्ति पनि कुपिण्डो वा लौका जस्तै आकार र स्वरुपको छ भन्ने बुझिन्छ । लौका र कुपिण्डो केबल महाज्ञानी वा विद्वान ब्राह्मणको भोजन भएको पूर्वीय मान्यता छ ।
वैज्ञानिक दृष्टिले हेर्ने हो भने लौका र कुपिण्डोलाई प्राणशक्ति, बुद्धि र शारीरिक शक्ति बढाउने स्रोतको रुपमा मान्ने गरिएको विभिन्न धर्मशास्त्रमा कुपिण्डोको बारेमा व्याख्या गरिएको छ । जसमा कतै यसले प्राणलाई आफूभित्र सोस्ने गरेको उल्लेख पाइन्छ भने कतै यसले प्राणलाई प्रसार गर्ने कुरा समेत उल्लेख गरिएको छ ।
धर्तीको सबैभन्दा अधिक प्राणवान तथा ऊर्जा प्रदान गर्नेवाला फल कुपिण्डो हो । जसरी पिपलको वृक्षले २४ घण्टा नै अक्सिजन दिने गर्दछ । त्यसै प्रकार लौका तथा कुपिण्डोले प्रचुर मात्रामा ऊर्जालाई ग्रहण या अवशोषित गरेर उसको प्रसार गर्ने गर्दछ ।
धार्मिक मान्यतालाई आधार मान्ने हो भने कुष्माण्डा देवी मृत्यु, रोग र कमजोरीका साथै शरीर तथा आत्माको दोषलाई हटाउन विलक्षण कार्य गर्ने देवीको रुपमा लिइन्छ ।
आफ्नो मदमाधुर्यको बलले अण्ड अर्थात् ब्रह्माण्ड उत्पन्न गरेकोले यी देवीको नाम कुष्माण्डा भनिएको भन्ने अर्को तर्क पनि पाईन्छ । संस्कृत शब्द कुष्माण्डाको नेपाली नाम कुपिण्डो हुन्छ । ब्रह्माण्ड नै उत्पत्ति गरेको भन्ने अर्थमा यिनलाई आदिदेवी वा आदिरुपापनि भन्ने गरिन्छ ।
सूर्यमण्डल भित्र बस्ने यी देवीको आठ ओटा हात रहेको मानिन्छ । जसमा कमण्डलु, धनुष, वाण, कमल पुष्प, अमृतपूर्ण कलश, चक्र, तथा गदा रहेको हुन्छ । एउटा हातमा भने सबै सिद्धि तथा निधि प्रदान गर्नेवाला माला रहेको देखिन्छ ।
Copyright © 2024 | All rights reserved.