असोज १२, २०८२, आइतबार

कास्कीबाट भागेका सातसहित १२ जना कैदीबन्दी गोरखामा पक्राउ


Advertisement Image
clock icon 1 hour, 37 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । जेन-जी प्रदर्शनका क्रममा कास्की कारगारसहित देशका विभिन्न कारागारबाट भागेका १२ जना कैदीबन्दीलाई गोरखा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कास्की कारगारका सात, केन्द्रीय कारागार जगन्नाथदेवलका तीन जना कैदीबन्दी पक्राउ परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै, तनहुँ कारागारबाट भागेका एक र बालसुधार गृह सानोठिमी भक्तपुरबाट भागेका एक जना कैदीबन्दीलाई पनि पक्राउ गरी आवश्यक प्रक्रिया पूरा गरेर सम्बन्धित कारगार तथा सुधार गृहमा पठाइएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एवं प्रहरी उपरीक्षक भरतबहादुर विकले जानकारी दिए ।

कास्की कारागारबाट भागेर गोरखा पुगेका विक्रम नेपाली, तेन्जिङ रिग्देल लामा, छेवाङ रिजिन लामा, सोनाम ल्याल्जेन लामा, बाबुराम नेपाली, राजेश विश्वकर्मा सुनार र सोनामा दोर्जे लामालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक विकले बताए ।

केन्द्रीय कारागार जगन्नाथदेवलबाट भागेका भरत ठकुरी, सुमन सुनदास र भुवन तामाङलाई पक्राउ गरेर सम्बन्धित कारागार चलान गरिएको छ ।

यता, तनहुँ कारागारबाट भागेका विशाल उपरकोटी र बालसुधार गृह सानोठिमी भक्तपुरबाट भागेकी सुस्मा मग्रातीलाई गोरखाबाट प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका सबैलाई केही समय जिल्ला प्रहरी कार्यालय गोरखाको थुनुवा कक्षमा राखी कानूनी प्रक्रिया पुरा गरेर सम्बन्धित कारागार चलान गरिसकिएको जानकारी दिए ।

गोरखाबाट पक्राउ परेकामध्ये अधिकांश गोरखा घर भएका र केही जिल्ला बाहिर घर भएकाहरू छन् । प्रदर्शनका क्रममा भागेका कैदीबन्दीको सूचनासहित विस्तृत विवरण सङ्कलन भइरहेकाले खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

Copyright © 2024 | All rights reserved.