असोज १३, २०८२, सोमबार

बडादशैँको साताैँ दिन आज कालरात्रि मनाइँदै


Advertisement Image
clock icon 2 hours, 38 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । आज बडादशैँ अर्थात नवदुर्गाको सप्तम रूपको नाम हो कालरात्रि । पौराणिक मान्यताअनुसार ब्रह्माको एक दिन अर्थात् चौध मन्वन्तरको अवधि सकिएपछि ब्रह्माण्डमा महाप्रलय हुन्छ । त्यस बेला सबै प्राणी जगतको संहार हुन्छ ।

सृष्टिको त्यो भयंकर रातलाई कालरात्रि भनिन्छ। त्यस रातकी अर्थात् संहारकी अधिष्ठात्री देवी हुनाले यिनलाई कालरात्रि भनेको देखिन्छ। दक्षयज्ञ विध्वंश गर्ने भद्रकाली यिनैको रूप मानिन्छ । जतिधेरै भयंकर स्वरुप यी देवीको छ, त्यति नै यी देवी सुखदायिनी रहेकी छन् । सोही कारणले यिनको एक नाम शुभंकरीसमेत हो ।

राक्षसी प्रवृत्तिविरुद्ध भयंकर स्वरुप भएकी यी देवी आफ्ना भक्तप्रति भने एकदमै दयालु रहेको मान्ने गरिन्छ । दानव, दैत्य, राक्षस, भूत, प्रेत आदि कालरात्रिको स्मरण मात्रैले पनि भयभीत हुन्छन् भन्ने मान्यता छ ।

यी देवीलाई ग्रह बाधाबाट समेत मुक्ति दिने देवीको रुपमा लिने गरिन्छ । यी देवीको उपासकहरूलाई अग्नि भय, जल भय, जन्तु भय, शत्रु भय, रात्रि भय आदि कहिलै पनि नहुने धार्मिक विश्वास छ ।

सप्तमीको पूजा अन्य दिनको जस्तै हुन्छ । तर, यसदिन रात्रिमा विशेष विधानकासाथ देवीको पूजा गर्ने गरिन्छ । यसदिन कतैकतै तान्त्रिक विधिबाट समेत पूजा गर्ने गरिन्छ । तान्त्रिक विधिबाट पूजा गर्नेले प्रसादको रुपमा मदिरासमेत देवीलाई अर्पण गर्ने गर्दछन् ।

नवदुर्गाकी सातौं शक्ति कालरात्रिको विग्रह भयानक मानिएको छ । यिनी कालो वर्णकी छिन्। शरीर तेल लगाएजस्तो टलक्क टल्कने कालो छ । यिनी लामा लामा केश फिँजेकी, ठूलाठूला गोलाकार तीन आँखा भएकी लामो जिब्रो र ठूलाठूला दाँत भएकी घोररूपा छन् । यिनका ओठ लाली लगाए जस्ता प्राकृतिक रूपमै राता छन् । यिनका आँखाबाट बिजुली चम्केजस्तो तेज निस्कन्छ । यिनी वस्त्रहीन छन्। कतै बाघाम्बरले र कतै मुण्डमालाले यिनका अंग ढाकिएको वर्णन गरिन्छ।

कालरात्रिले फलामका काँडेदार गहना लगाएकी छन्। यिनका श्वासमा नाक र मुखबाट आगाका भर्भराउँदा लप्का निस्किन्छन् । यिनी चतुर्भुजा देवी हुन्। यिनका दायाँ हातमा वरमुद्रा र अभयमुद्रा छन् भने बायाँ हातमा फलामको काँडेदार हतियार र खड्ग छन्। यिनको वाहन गधा हो। यिनी तमोगुण प्रधान देवी मानिएकी छन् ।

आधाशक्ति जगज्जननीले आसुरी शक्तिलाई परास्त गर्नका लागि कालरात्रिको विग्रह धारण गरेकी हुन् । यिनको स्मरण मात्रले पनि दैत्य, दानव, भूत, प्रेत, पिचास आदि दानवी शक्ति भयभीत हुन्छन् । भक्तका लागि भने यिनी शुभ फलदायिनी देवी हुन् ।

यिनले भक्तका काम, क्रोध, लोभ, मोह, मद, मात्सर्यजस्ता नकारात्मक प्रवृत्तिको नाश गरिदिन्छिन् । ग्रहबाधा, शत्रुबाधा, भूतप्रेत आदिको बाधाबाट आफ्ना उपासकलाई सधैं संरक्षण गर्ने भक्तवत्सला कालरात्रिको उपासनाबाट आत्मबल, अभय र आन्तरिक ऊर्जा प्राप्त हुन्छ भन्ने मान्यता रहिआएको छ ।

Copyright © 2024 | All rights reserved.