असोज १५, २०८२, बुधबार

फिलिपिन्सको सेबु टापुमा शक्तिशाली भूकम्प : मृत्यु हुनेको संख्या ६० पुग्याे, सयाैँ घाइते


Advertisement Image
clock icon 3 hours, 46 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । मध्य फिलिपिन्सको सेबु टापुमा मंगलबार साँझ गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ६० पुगेको छ ।

सो घटनामा सयौँ नागरिक घाइते भएका छन् । घाइतेहरूको भीडले अस्पताल भरिएपछि कतिपयलाई अस्पताल बाहिर टेन्टमुनि राखेर उपचार भइरहेको छ ।

मंगलबार साँझ ९ः५९ बजे (१३ः५९ जीएमटी) सेबु प्रान्तको बोगो नजिकै केन्द्रविन्दु भएर ६दशमलव९ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको थियो । यस शहरमा करिब ९० हजार मानिस बसोबास गर्छन् ।

भूकम्पपछि लगातार सयौँ पटक परकम्प आएका कारण स्थानीय आतंकित हुँदै रातभर घर बाहिरै बस्न बाध्य भए । अस्पताल परिसरमा घाइते बालबालिका रोइरहेका र वयस्कहरू चिच्याइरहेका दृश्य सञ्चारमाध्यममा देखिएका छन् । अस्पतालका कर्मचारीले स्ट्रेचरमा कालो शरीरका झोला राखी शवगृहतर्फ लगेका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्का अनुसार केन्द्रीय टापुमा एक सय ४७ जना घाइते भएको र कम्तीमा २२ भवन क्षतिग्रस्त भएको छ ।

थप हताहतको विवरण प्राप्त भइरहेको र परिस्थिति अत्यन्त संवेदनशील तथा परिवर्तनशील रहेको नागरिक सुरक्षा उप-प्रशासक राफेलिटो अलेजान्ड्रोले बताए ।

स्थानीय उद्धारकर्ता टेडी फन्टिलासका अनुसार बोगोको अस्पताल भरिसकेपछि घाइतेलाई करिब एक सय किलोमिटर टाढा रहेको प्रान्तीय राजधानी सेबु शहरका अस्पतालतर्फ सार्नुपरेको थियो ।

सेबु प्रान्तीय गभर्नर पामेला बारिकुएट्रोले आफ्नो आधिकारिक गम्भीर घाइतेको उपचारका लागि अस्पताल बाहिरसमेत आपत्कालीन उपचार गर्नुपरेको बताए ।

भूकम्पका कारण ऐतिहासिक संरचना र सार्वजनिक भवनमासमेत क्षति पुगेको छ । सेबु नजिकैको बान्टायन टापुको पुरानो क्याथोलिक चर्चको बेल्फ्री खस्दा भाग्यवश कसैलाई चोट नलागेको प्रत्यक्षदर्शीले बताएका छन् ।

स्थानीय टेलिभिजनले सेबु पुल हल्लिँदा मोटरसाइकल यात्री रेलिङ समातेर ज्यान जोगाइरहेको दृश्य देखाएको छ ।

सेबु प्रान्तीय सरकारले उद्धारमा सहयोग गर्न चिकित्सक र स्वयंसेवकलाई आह्वान गरेको छ । प्रान्तीय उद्धार अधिकारी विल्सन रामोसका अनुसार अँध्यारो र निरन्तर परकम्पले उद्धार कार्यमा थप कठिनाइ ल्याएको छ ।

फिलिपिन्स इन्स्टिच्युट अफ भोल्कानोलोजी एन्ड सिस्मोलोजीका अनुसार हालसम्म तीन ७९ पटक परकम्प आइसकेका छन् । भूकम्पपछि सेबु र वरपरका टापुहरूमा विद्युत् आपूर्ति अवरुद्ध भए पनि मध्यरातपछि पुनः सञ्चालनमा ल्याइएको छ ।

बान्टायनमा एक व्यावसायिक भवन र विद्यालय ढलेका छन् भने बोगोस्थित फास्टफुड रेस्टुरेन्टमा ठूलो क्षति पुगेको छ ।

यस्तै, टाबोगन शहरका सडकमा करिब पाँच सेन्टिमिटर दरार देखिएको छ । प्यासिफिक सुनामी चेतावनी केन्द्रले भने यस भूकम्पबाट सुनामीको कुनै खतरा नभएको स्पष्ट पारेको छ ।

Copyright © 2024 | All rights reserved.