0
प्रतिक्रिया
पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले असोज १७ देखि २० गतेसम्म अत्यावश्यक कामबाहेक घरदेखि टाढा नजान र रातको समयमा यात्रा नगर्न आग्रह गरेको छ । जिल्ला प्रशासनले बिहीबार एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।
जल तथा मौसम विज्ञान विभागले असोज १७ देखि २० गतेसम्म गण्डकी प्रदेशमा मध्यमदेखि भारी वर्षा हुने पूर्वानुमान गरेको उल्लेख गर्दै प्रशासनले भारी वर्षाको समयमा गाडी नचलाउन, संवेदनशील मानिएका सडकमा सवारी सञ्चालनका लागि विशेष समय तालिकासमेत लागू गरिएको जनाएको छ ।
कास्कीको बिरेठाँटी-घान्द्रुक, बिरेठाँटी-उल्लेरी, लुम्ले-लान्द्रुक र काहुँखोला-सिक्लेस मार्गका सवारी साधनलाई असोज १७ देखि दिउँसो ४ बजेसम्म प्रस्थान गर्ने र असोज १८ देखि बिहान ५ बजेपछिमात्र सञ्चालन हुने व्यवस्था गरिएको सूचनामा उल्लेख छ । साथै भारी वर्षा भएमा सो सडकखण्डमा कुनै पनि सवारीसाधन नचलाउन आग्रह गरिएको छ ।
प्रशासनले यातायात व्यवसायीलाई क्षमताभन्दा बढी यात्रु नचढाउन, सावधानीपूर्वक सवारी सञ्चालन गर्न र जोखिम बढेमा तत्काल रोक लगाउन पनि निर्देशन दिएको छ ।
यता, सिद्धार्थ राजमार्ग, भूपि शेरचन राजमार्ग (पोखरा-बाग्लुङ), मुग्लिन-पोखरा सडकखण्ड, बेगनास-भोर्लेटार सडक खण्डलगायत जोखिमयुक्त क्षेत्रमा तत्काल परिचालन हुनेगरी डोजर, एक्साभेटर, लोडर लगायतका हेभी इक्युपमेन्ट तयारी अवस्थामा राख्न सम्बन्धित कार्यालय तथा निजी क्षेत्रलाई आदेश दिइएको छ ।
बाढी, पहिरो र डुबानको जोखिम रहेका नदी किनार र भिरालो क्षेत्रमा बसोबास गर्ने वासिन्दालाई सुरक्षित स्थानमा सर्न, आपतकालीन अवस्थामा प्रयोग हुने सामग्रीसहितको ‘झटपट झोला’ तयार राख्न र कुनै विपद् घटना भएमा तुरुन्त प्रहरी, स्थानीय तह वा प्रशासनलाई जानकारी दिन प्रशासनले आग्रह गरेको छ ।
साथै उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना भएकाले अन्नपूर्ण, मर्दी हिमाललगायतका पदयात्रा मार्गमा तत्काल ननिस्किन प्रशासनले सन्देश दिएको छ ।
यस्ताे छ प्रशासनकाे सूचना
Copyright © 2024 | All rights reserved.