0
प्रतिक्रिया
पाेखरा। तनहुँ, चितवन र धादिङका जिल्ला प्रशासन कार्यालयहरूले पृथ्वी राजमार्गको कोत्रे-मुग्लिन-नागढुङ्गा र मुग्लिन-नारायणगढ सडक खण्डमा यात्रा गर्दा उच्च सचेतता अपनाउन संयुक्त सूचना जारी गरेका छन्।
भारी वर्षाको सम्भावनाले सडक आवागमन थप जोखिमयुक्त हुनसक्ने भएकाले यी कार्यालयहरूले सार्वजनिक अपिल गरेका हुन्।
तनहुँका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीका अनुसार, आगामी असोज २० गतेसम्म अत्यावश्यक कामबाहेक यात्रा नगर्न अनुरोध गरिएको छ।
यात्रा गर्नै परेमा दिनको समयमा मात्र गन्तव्यमा पुग्ने गरी गर्न तथा रातको समयमा यात्रा नगर्न विशेष अनुरोध गरिएको छ। यात्राको अवस्थामा सुरक्षा निकायबाट आवश्यक जानकारी लिएर मात्र अघि बढ्न पनि भनिएको छ।
जारी सूचनामा भारी वर्षाको पूर्वानुमान गरिएको समय सीमाभित्र अत्यावश्यकबाहेक मालवाहक ठूला सवारीसाधन नचलाउन पनि अनुरोध गरिएको छ।
प्रजिअ अधिकारीले पूर्वानुमानबमोजिम वर्षा भएको खण्डमा वा त्यस्तो सम्भावना देखिएमा स्थानीय प्रशासनबाट राजमार्गमा आवागमन बन्द गर्नुपर्ने अवस्थासमेत आउन सक्ने चेतावनी दिएका छन्। उनले यस्तो अवस्थातर्फ सचेत एवं सतर्क रही आवश्यक सहयोग गरिदिन सम्पूर्णमा अपिल गरेका छन्।
जल तथा मौसम विज्ञान विभागले असोज २० गतेसम्म भारी वर्षा हुने पूर्वानुमान गरेकाे छ ।
यस्तो छ सूचना
Copyright © 2024 | All rights reserved.