असोज २३, २०८२, बिहीबार

कुवेतविरुद्ध नेपालको शानदार जीत


Advertisement Image
clock icon 1 hour, 54 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ । आईसीसी टी-ट्वान्टी विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको पहिलो खेलमा नेपालले शानदार जीत हासिल गरेको छ ।

बुधबार राति १२ः३० बजे ओमानमा सम्पन्न खेलमा नेपालले कुवेतलाई ५८ रनले हराएको हो ।

नेपालले दिएको एक सय ४२ रनको लक्ष्य पछ्याएको कुवेत १८दशमलव१ ओभरमा ८३ रनमा अलआउट हुन पुग्यो ।

कुवेतका लागि क्लिन्टो अन्टोले सर्वाधिक २६ रन र यासिन पटेलले १९ रन बनाउन बाहेक अन्य ब्याट्सम्यान नेपालका बलर सामू टिक्नै सकेनन् ।

नेपालका लागि ललित राजवंशीले चार ओभरमा १७ रन दिएर दुई विकेट लिए । सन्दीप लामिछानेले चार ओभरमा २२ रन दिएर दुई विकेट नै लिए ।

कप्तान रोहित पौडेलले दुई ओभरमा सात रन दिएर दुई विकेट नै लिए । कुशल भुर्तेल, सोमपाल कामी र नन्दन यादवले समान एक-एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ओपनिङ ब्याटर कुशल भुर्तेलको उत्कृष्ट प्रदर्शनमा २० ओभरमा सात विकेट गुमाएर एक सय ४१ रन बनाएर कुवेतलाई एक सय ४२ रनको लक्ष्य दिएको थियो ।

भुर्तेलले ५६ बलमा तीन चौका र तीन छक्कासहित ६६ रन बनाए । दीपेन्द्रसिंह ऐरी २० रनमा रनआउट भए । गुल्शन झाले छ बलमा २० रनको क्यामिओ पारी खेले । उनले १९औं ओभरको अन्तिम तीन बलमा लगातार तीन छक्का प्रहार गरेका थिए ।

कुवेतका लागि अनुदीप चेन्थामाराले चार ओभरमा २२ रन दिएर दुई विकेट लिए । नवीन राजले चार ओभरमा ४० रन दिएर दुई विकेट लिए । मोहम्मद असलम र अकिफ फारुकले समान एक-एक विकेट लिए ।

यो जितसँगै नेपाल सुपर सिक्समा पुग्ने पक्का भएको छ । अब नेपालले समूह चरणको अर्को खेलमा शुक्रबार जापानसँग खेल्नेछ ।

Copyright © 2024 | All rights reserved.