0
प्रतिक्रिया
काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी एवं पूर्व पदाधिकारीको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको छ ।
बैठक सामसामयिक राजनीतिक विषय एवं यही असोज २६ गते बस्ने कांग्रेस केन्द्रीय कार्यसमितिका सम्भावित कार्यसूचीलगायत विषयसमेतमा छलफल गर्न डाकिएको सहमहामन्त्री जीवन परियारले बताएका छन् ।
गत भदौ २३ र २४ गते भएको ‘जेन-जी’ प्रदर्शनपछि पार्टीको पदाधिकारी एवं पूर्वपदाधिकारीको बैठक पहिलो पटक बसेको हो ।
प्रदर्शनका क्रममा भदौ २४ गते कांग्रेस पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी धर्मपत्नी एवं तत्कालीन परराष्ट्र मन्त्री डा आरजू राणा देउवामाथि उनकै निवासमा साङ्घातिक हमला र कुटपिट हुनुका साथै घरमा आगजनी भएको थियो ।
स्वास्थ्यलाभपछि आराम गरिरहेका सभापति देउवा बिहीबारको बैठकमा उपस्थित भएनन् । उनी असोज २६ गतेको केन्द्रीय समितिको बैठकमा भने उपस्थित हुने पार्टी प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए ।
प्रदर्शनका क्रममा कांग्रेसको केन्द्रीय कार्यालयलगायतका पार्टीका विभिन्न जिल्ला कार्यालयलगायत विभिन्न नेताका घरमासमेतमा आगजनी र तोेडफोड भएको थियो ।
उक्त प्रदर्शनपछि पार्टीभित्र नेतृत्व परिवर्तनका विषयमा बहस तीव्र रुपले भइरहेको छ । जेन–जीका माग सम्बोधन गर्नुपर्नेमा पार्टीभित्र मन्थन भएको छ ।
त्यस्तै फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन तोकिएको अवस्थामा विशेष महाधिवेशन डाकेर नयाँ नेतृत्वबाट कांग्रेस अगाडि बढ्नुपर्नेमा समेत जोड दिइएको छ ।
Copyright © 2024 | All rights reserved.