0
प्रतिक्रिया
पाेखरा । आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट-एसिया प्यासिफिक छनोट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा नेपालले जापानलाई ५ विकेटले पराजित गरेको छ ।
यो जितसँगै नेपालले सुपर-६ मा २ अंक जोडेको छ । अब नेपालले सुपर-६ मा अन्य चार टोलीसँग खेल्नेछ । युएई र कतारले सुपर-६ मा स्थान पक्का गरिसकेका छन् ।
दुवै टोली यसअघि नै सुपर-६ मा पुगिसकेको थियो । ६ टोलीबीच हुने सुपर-६ को शीर्ष तीनमा पर्न सक्ने टोलीहरू आगामी वर्षको फेब्रुअरी-मार्चमा भारत र श्रीलंकामा हुने आइसीसी टी-२० विश्वकप-२०२६ मा स्थान बनाउने छ ।
शीर्ष तीन टोलीमा परेमा नेपाल दोस्रो पटक र समग्रमा तेस्रो पटक आइसीसी टी-२० विश्वकपमा छनोट हुनेछ ।
आजको खेल
ओमान क्रिकेट एकेडेमीमा शुक्रबार साँझ सम्पन्न खेलमा जापानले दिएको १ सय ३२ रनको लक्ष्य नेपालले ५ विकेटको क्षतिमा १८ ओभरमा पूरा गरेको हो ।
नेपालका लागि ओपनरद्वय आसिफ शेखले २१ बलमा ३८ र कुशल भुर्तेलले २१ बलमा २१ रन बनाए ।
यस्तै, गुल्सन झाले २० बलमा नटआउट २८ र दीपेन्द्रसिंह ऐरीले १४ बलमा नटआउट १४ रन बनाए । गुल्सनले १ चौका र २ छक्का प्रहार गरे ।
कप्तान रोहिकुमार पौडेल १८, सन्दीप जोरा ५ र कुशल मल्ल ४ रनमै आउट भए । बलिङमा जापानका शोमा स्लाटरले २ विकेट लिए ।
यसअघि टस जितेर नेपालले ब्याटिङको निम्तो दिएपछि जापानले ८ विकेटको क्षतिमा १ सय ३१ रनको मध्यम योगफल तयार गरेको थियो ।
जापानका लागि ओपनर तथा कप्तान कोडावाकी फ्लेमिङले ४६ बलमा ६० रन जोडे । उनले ५ चौका र ३ छक्का प्रहार गरे ।
यस्तै, इशम रहमानले २५ बलमा १ चौका र २ छक्काको मद्दतमा ३१ रन बनाए । उनीहरूबीच दोस्रो विकेटका लागि ८६ रनको साझेदारी भएको थियो ।
बलिङमा नेपालका गुल्सन झा र सन्दीप लामिछानेले समान २-२, नन्दन यादव र सोमपाल कामीले १-१ विकेट लिए ।
गुल्सनले ४ ओभरमा १ मेडन राख्दा २० रन खर्चिए । पहिलो २ ओभरमा खर्चिलो बनेका सन्दीपले पछिल्लो २ ओभरमा किफायती बलिङ गरे । उनले ४ ओभरमा २५ रन दिए ।
Copyright © 2024 | All rights reserved.