0
प्रतिक्रिया
पाेखरा । भारत र श्रीलंकाको संयुक्त आयोजनामा हुने विश्वकप टी-२० क्रिकेटका लागि नेपाल एक जित टाढा रहेको छ ।
नेपालले आज ओमानको मस्कटमा भइरहेको टी-२० विश्वकप एसिया-इष्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा कतारसँग खेल्दैछ ।
यो खेल जित्दा नेपाल विश्वकपमा छानिने लगभग पक्का हुनेछ । कतारविरुद्धको खेल राति ८ः४५ बजे शुरु हुनेछ ।
यसअघि नेपालले आइतबार यूएईमाथि एक रनको सनसनीपूर्ण विजय हात पारेको थियो । दाबेदार मानिएको यूएईमाथिको यस विजयपछि नेपाल विश्वकपको नजिक पुगेको हो ।
खेलमा टस जितेर ब्याटिङ गरेको नेपालले आसिफ शेखले ४७ बलमा ५१ रन बनाएपछि निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ४० रन बनाउन सकेको थियो ।
जवाफमा जित नजिक पुगेको यूएईलाई अन्तिम ओभरमा विजयका लागि १० रन आवश्यक भएको समयमा दीपेन्द्रसिंह ऐरीले ८ रनमात्र दिएका थिए ।
सो क्रममा नेपालले ३ विकेट लिँदै नाटकीय जित हात पारेको थियो । जसका कारण यूएई ९ विकेट गुमाई १ सय ३९ रनमात्र बनाउन सक्यो ।
दीपेन्द्रले अन्तिम ओभरको पहिलो दुई बलमा १ रनमात्र दिएका थिए । तेस्रो बलमा ध्रुव परासरले छक्का प्रहार गरे । त्यसपछि नेपालले लगातार तीन विकेट लिएको थियो ।
चौथो बलमा दीपेन्द्रले परासरलाई बाउन्ड्री लाइनमा क्याच गराएका थिए । पाँचौँ बलमा सन्दीप जोराले हैदर अलीलाई रनआउट गरे ।
छैटौँ तथा अन्तिम बलमा यूएईलाई विजयका लागि ३ रन चाहिन्थ्यो । तर जुनाइद सिद्धिकी २ रन लिने क्रममा रोहित पौडेलको थ्रोमा रनआउट भए ।
यसरी नेपालले रोमाञ्चक एक रनको जित हासिल गरेको थियो ।
सुपर सिक्समा नेपाल र ओमानको समान ४ अंक भएको छ ।
अब आज रातिको बहुप्रतिक्षित खेलले नेपाललाई थप उत्साही बनाइरहेको छ । यो खेल जित्दा आगामी फेब्रुअरी-मार्चमा भारत र श्रीलंकामा हुने विश्वकपमा स्थान लगभग पक्का हुनेछ ।
Copyright © 2024 | All rights reserved.