असोज २८, २०८२, मंगलबार

नेपाल विश्वकप टी–२० मा छानिने लगभग पक्का, कतारमाथि सनसनीपूर्ण जित


Advertisement Image
clock icon 2 hours, 42 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । आइसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्समा कतार विरुद्धको खेल पनि नेपालले जितेको छ ।

सोमबार राति १२ः३० बजे सम्पन्न निकै महत्वपूर्ण मानिएको खेलमा नेपालले कतारमाथि पाँच रनको सनसनीपूर्ण जीत हासिल गरेको हो ।

नेपाललाई जिताउन पूर्वकप्तान समेत रहेका सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गर्दै कतारको ५ विकेट लिन सफल भए । उनी नै म्यान अफ दी म्याच घोषित भए ।

नेपालले दिएको १ सय ४८ रनको लक्ष्य पछ्याएको कतार १९ ओभर ५ बलमा १ सय ४२ रनमा अलआउट भयो । कतारका लागि ओपनर इमाल लियानागे ३५ बलमा ५५ र जुबेर अली ५२ रन बनाए । कतारका अन्य ब्याट्सम्यानले भने उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

नेपालका लागि सन्दीपको ५ विकेटसँगै नन्दन यादवले २ तथा दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए ।

व्याटिङमा सोचेजस्तो प्रदर्शन गर्न नसकेको नेपालले कतारको १२ ओभर सकिँदासम्म बलिङ पनि फितलो थियो । त्यसपछि नेपालले खेलमा पुनरागमन गरेको थियो ।

कतारविरुद्ध पनि दीपेन्द्रको एक र आदिलको एक रनआउटले खेल नेपालको पक्षमा ल्याएको थियो ।

यसअघि टस हारेर पहिले ब्याटिङ रोजेको नेपालले कप्तान रोहित पौडेलको अर्धशतक मद्दतमा २० ओभरमा ९ विकेट गुमाएर १ सय ४७ रन बनाएको थियो ।

कप्तान रोहितले ४१ बलमा ५८ रन, उपकप्तान दीपेन्द्रसिंह ऐरीले २१ बलमा २६ रन बनाए । गुल्शन झाले ८ बलमा १६ रनको योगदान दिए।

कतारका लागि कप्तान मिर्जा बेगले ४ ओभरमा २९ रन दिएर ३, डानियल लुइसले पनि ३ विकेट लिए । मुहम्मद असिमले १ विकेट लिए । नेपालले सुपर सिक्समा आइतबार यूएईलाई एक रनले हराएको थियो ।

यो जीतसँगै नेपालको विश्वकप छनोट हुने सम्भावना बलियो भएको छ । कतारको हारले नेपालले दुई खेलअघि नै विश्वकपमा छानिने लगभग पक्का भएको हो । सुपर सिक्सबाट दुई टिम विश्वकपमा पुग्नेमा नेपाल र ओमानको समान ६ अंक छ । यूएई र जापानको समान २ अंक छ ।

अब नेपालले तेस्रो खेलमा बुधबार घरेलु टोली ओमानसँग र अन्तिम खेलमा सामोआसँग शुक्रबार प्रतिस्पर्धा गर्नेछ । अब एक खेलमात्र जितेमा नेपाल विश्वकपमा छनाेट हुनेछ ।

सुपर-६ का शीर्ष तीन टोलीले आगामी वर्षको फेब्रुअरी-मार्च भारत र श्रीलंकामा हुने आइसिसी टी-२० विश्वकप २०२६ मा मा स्थान पक्का गर्नेछन् ।

शीर्ष तीन टोलीमा परेमा नेपाल लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक आइसिसी टी-२० कपमा छनोट हुनेछ ।

Copyright © 2024 | All rights reserved.