0
प्रतिक्रिया
पोखरा । ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल ‘टान’ गण्डकीले गोरखाको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामालाई पोखरामा स्वागत गरेको छ । सो अवसरमा टानले मनास्लु पदमार्गमा पर्यटन विकासका सम्भावना, चुनौती र समाधानबारे छलफलसमेत गरेको छ ।
टानले विदेशी तथा स्वदेशी पर्यटकलाई मनास्लु क्षेत्रमा भ्रमणका लागि आवश्यक जानकारी अभाव हुने गरेको तथा त्यहाँ खटिने पथप्रदर्शकले समेत पर्याप्त ज्ञानका साथ पर्यटक डुलाउन नसकिरहेको समस्या गाउँपालिका अध्यक्ष लामासमक्ष राखेको छ ।
टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले मनास्लु क्षेत्रमा सञ्चालित होटल व्यवसायीले गुणस्तरीय सेवा, स्वच्छ खाना तथा मेनु सुधार गर्नुपर्नेमा जोड दिए । उनले आकस्मिक दुर्घटनाका अवस्थामा हेली-रेस्क्यु प्रक्रियालाई नेपाल सरकारले अझ सरल र व्यवस्थित बनाउनुपर्ने बताए ।
उनले भने, ‘पथप्रदर्शक र सहयोगीका लागि पोर्टर सेल्टर निर्माण गर्नुपर्ने आवश्यकता छ । पदमार्गको मर्मत-सम्भार, सरसफाइ र फोहोर व्यवस्थापनका लागि स्थानीयस्तरमा सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्छ ।’
पथप्रदर्शक तथा सहयोगीको सुरक्षा र बीमा व्यवस्थालाई सुदृढ बनाउनुपर्नेमा अध्यक्ष आचार्यको जोड छ ।
आचार्यले चुमनुब्री गाउँपालिकाले विदेशी पदयात्रीबाट प्रतिव्यक्ति एक हजार र नेपाली पदयात्रीबाट दुई सय उठाउने प्रणालीले पर्यटकलाई झन्झटिलो बनाएको भन्दै यसलाई एकद्वार प्रणालीबाट अनुमति जारी गर्ने व्यवस्था गर्न आग्रह गरे । उनले मनास्लु क्षेत्रको पदमार्गको विकासमा आफूहरू काम गर्न तत्पर रहेको बताए ।
आगामी मे ९, २०२६ मा ७०औं मनास्लु आरोहण दिवस चुमनुब्री गाउँपालिकामा मनाउने बारेमा पनि छलफल भएको अध्यक्ष आचार्यले जानकारी दिए ।
कार्यक्रममा सहभागीले मनास्लु क्षेत्र नेपालको सबैभन्दा आकर्षक हिमाली ट्रेकिङ गन्तव्य मध्येको एक भएको भन्दै यस क्षेत्रमा बढ्दो पर्यटक चापले स्थानीय विकास र आयस्रोतमा सकारात्मक प्रभाव पारेको दावी गरेका थिए । तर, नियमन, सूचना प्रवाह र व्यवस्थापन प्रणाली सुदृढ नहुँदा पर्यटनको दीर्घकालीन लाभ प्राप्त गर्न कठिनाइ भइरहेको पनि उनीहरुको भनाइ थियो ।
हाल मनास्लु सर्किट विश्वका आकर्षक हिमाली पदयात्रा मार्गमध्ये एकका रूपमा परिचित हुँदै आएको छ। यो मार्गले स्थानीय बासिन्दाको आय-आर्जन, होटल व्यवसाय, हस्तकला तथा यातायात क्षेत्रमा रोजगारी सिर्जना गर्दै गण्डकी प्रदेशको पर्यटन अर्थतन्त्रलाई सबल बनाएको छ ।
तथापि, मौसम, पूर्वाधार अभाव र व्यवस्थापनको कमजोरीले गर्दा यो सम्भावना पूर्णरूपमा उपयोग हुन नसकेको टान गण्डकीको मूल्यांकन छ ।
Copyright © 2024 | All rights reserved.