कात्तिक ०४, २०८२, सोमबार

पाेखरामा सयपत्री फूलको मूल्य कति पर्छ ?


Advertisement Image
clock icon 16 hours, 54 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरा महानगरपालिकाले तिहारको समयमा अत्यधिक माग हुने स्थानीय सयपत्री फूलको बिक्री मूल्य तोकेको छ ।

महानगर क्षेत्रमा क्रियाशील कृषि सञ्जाल, पोखरा उद्योग वाणिज्य सङ्घ, फ्यान कास्की, कृषि ज्ञान केन्द्र कास्कीलगायतसँगको छलफलपश्चात् स्थानीय सयपत्री फूलको विक्री मूल्य र विक्री स्थलसमेत तोकेको महानगरको आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले बताए ।

उनका अनुसार सयपत्री फूलमा आत्मनिर्भर रहेको पोखराका विभिन्न स्थानमा उत्पादन भएका सयपत्री फूलहरूको ग्रेडिङ गरी ’ए’, ’बि’ र ’सी’ फूलको आकार अनुसार मूल्य तोकिएको हो ।

’ए’ ग्रेड १५ देखि २० ग्राम प्रतिथुङ्गा फूलको मूल्य पाँच, प्रतिमाला एक सय ५० र प्रतिकेजी तीन सयदेखि चार सय रुपैयाँ तोकिएको छ ।

यस्तै, ’बि’ ग्रेड १० देखि १५ ग्राम प्रतिथुङ्गा फूलको मूल्य चार, प्रतिमाला एक सय ३० र ’सी’ ग्रेड ५ देखि १० ग्राम प्रतिथुङ्गा फूलको मूल्य दुई, प्रतिमाला एक सय रुपैयाँ तोकिएको कडरियाले बताए ।

उनका अनुसार पोखरा महानगरपालिकामा करिब २५ बढी स्थानमा स्थानीय सयपत्री फूलको विक्री स्थल पनि तोकिएको छ । तोकिएका स्थानबाट यही कात्तिक ३, ४ र ५ गते सयपत्री फूल खरिद गर्न सकिने छ ।

पोखरा महानगरपालिकाको सहयोगमा करिब तीन सय रोपनीमा सयपत्री फूलखेती भइरहेको छ । यस वर्ष तीन लाख माला उत्पादन हुने र करिब तीनदेखि चार करोडको कारोबार हुने अनुमान गरिएको छ ।

विगत तीन वर्षदेखि निरन्तर बीउमा अनुदान तथा बजारीकरणमा सहजीकरण गर्दै आएको पोखरा महानगरपालिकाले कृषकलाई न्यूनतम् समर्थन मूल्यसमेत प्रदान गर्दै आइरहेको छ ।

नगर प्रमुख धनराज आचार्यले स्थानीय सयपत्री फूलमा पोखरा महानगरपालिका आत्मनिर्भर भइसकेकाले प्लास्टिकका फूलमाला विक्री-वितरण नगर्न अनुरोध गरे ।

नगर क्षेत्रमा नै उत्पादन भएको स्थानीय सयपत्री फूलले नै यस वर्षको दीपावली मनाउन उनले आग्रह गरेका हुन् । कृषकको मनोबल उच्च बनाउनका लागि मल, बीउ, उत्पादनको बजारीकरण र समर्थन मूल्यमा समेत सहयोग गर्दै आइरहेको उनले बताए ।

Copyright © 2024 | All rights reserved.