0
प्रतिक्रिया
पाेखरा। तिहारको तेस्रो दिन आज घर-घरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिएर कुकुर तिहार मनाइँदैछ।
तिथिको घटबढका कारण यमपञ्चकको दोस्रो दिन पर्ने कुकुर तिहार यस वर्ष तेस्रो दिन पर्न गएको जनाएको छ।
नरक चतुर्दशी र कुकुर तिहार सूर्योदय कालमा चतुर्दशी भएको दिन मनाउनुपर्ने धार्मिक मान्यता छ।
कार्तिककृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा परिकार खान दिएमा यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वास छ।
कुकुरलाई आज्ञापालक, सुरक्षामा भरपर्दो घरपालुवा जनावर र धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिने जनावरका रूपमा लिइन्छ।
आज बिहानै अरुणोदयकालमा विभिन्न तीर्थ, नदी वा तलाउमा गई स्नान, तर्पण गरेर यमदीप दक्षिण फर्काएर बाली बगाउनाले मृत्युपश्चात् नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वासका कारण नरक चतुर्दशीमा नुहाउने विधि छ। यसरी बत्ती बालेर बगाउनुलाई ‘नरके बगाउने’ भनिन्छ।
यमपञ्चक अर्थात् तिहारका पाँचै दिन तिलको तेल लगाएर स्नान गर्ने प्रचलन छ, जसले शरीर स्वस्थ रहन्छ। त्यसैले तिहार स्वास्थ्य सुरक्षाका दृष्टिले पनि महत्त्वपूर्ण पर्वका रूपमा मनाइन्छ।
Copyright © 2024 | All rights reserved.