कात्तिक ०८, २०८२, शुक्रबार

आज गाई तिहार मनाइँदै


Advertisement Image
clock icon 1 day, 15 hours ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ । कार्तिकशुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ।

गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो। गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ।

खासगरी कार्तिकशुक्ल औँशीकै दिन गाई तिहार मनाउनु पर्ने भए पनि यस बर्ष तिथि घटबढका कारण प्रतिपदाका दिन गाईकाे पूजा गर्नुपरेकाे हाे । 

स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ।

गाईको पूजा गरी आजका दिन मीठामीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ।

नेपालका कतिपय भाग र केही समुदायमा कार्तिक कृष्ण औँसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता छ।

वैदिक सनातन हिन्दू धर्मावलम्बीले गर्ने प्रत्येक कर्ममा गाईदान गर्ने विधि छ, तर पछिल्लो समय गाईको अभावमा पैसा राखेर गाईको अभावमा भनी सङ्कल्प पढ्ने गरिन्छ। गाईलाई गौमाताका रूपमा सम्मान गर्दै नेपालको राष्ट्रिय जनावरका रूपमा पनि राखिएको छ।

आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिन दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत छ।

Copyright © 2024 | All rights reserved.