कात्तिक ०८, २०८२, शुक्रबार

आज गोरु तिहार मनाइँदै


Advertisement Image
clock icon 1 day, 15 hours ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गोवर्धन पर्वत, बलि, गोरु र हलीको पूजा आजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ ।

कार्तिकशुक्ल प्रतिपदाका दिन गोवर्धन पर्वत, बली, गोरु र हलीको पूजा आजा गरी सम्मान प्रकट गर्ने गरिन्छ । 

आजका दिनमा घर आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्धन पर्वत मानी पूजा गरिन्छ ।

द्वापर युगमा भगवान् श्रीकृष्णले हत्केलाले गोवर्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्धन पर्वतको पूजा गर्ने प्रचलन छ ।

गोवर्धन पूजा प्रतिपदाका दिन सूर्योदय भएका दिन गर्नुपर्ने विधि छ।

भगवान् विष्णुले बली राजालाई यमपञ्चकका पाँच दिन मत्र्यलोकको शासन गर्ने अधिकार दिएको विश्वासका आधारमा आज बलि राजाको पनि सम्झनास्वरुप पूजा आराधना गरिन्छ। यसैकारण तिहारमा देउसी भैलो खेल्नेले ‘हामी त्यसै आएनौँ बलि राजाले पठाए’ भनेर भट्याउने चलन चलेको हो ।     

वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजाआजा गरी मीठा मीठा खानेकुरा खान दिने प्रचलन छ ।

गोरुलाई देवाधिदेव महादेवको वाहन अर्थात् साँढेका रूपमा पनि पूजा गर्ने परम्परा छ । 

यसैगरी वर्षभर गोरु जोत्ने हली एवं अन्य कृषि कर्म गर्ने किसानलाई पनि आज पूजा गरी मीठामीठा परिकार खुवाइन्छ। यसैले आजको दिनलाई हली तिहार वा अपभ्रंश भई हलतिहार पनि भनिन्छ ।

आजैका दिन कृषि कर्म गर्न हलो जोतेर वर्षभर साथ दिने गोरुलाई समेत पूजा गरी मीठो मीठो खान दिने गरिन्छ। गोरुको साथमा जोत्ने हलीलाई समेत पूजा गरी खाना खुवाइन्छ। 

यसैले आजको दिनलाई गाईतिहार र हलीतिहार समेत भन्ने गरिन्छ। आज गाई, गोरु र हलीलाई समेत मीठा कुरा खान दिइन्छ।

आजैका दिन बेलुकी घर घरमा ‘देऊ शुभ’ भनी देउसी खेल्ने गरिन्छ। देऊ शुभ भन्ने क्रममा अपभ्रंश भई देउसी भएको हो । 

Copyright © 2024 | All rights reserved.