माघ ०३, २०८२, शुक्रबार

छठ पर्वको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै


Advertisement Image
clock icon 2 months, 2 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ। कार्तिकशुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिइँदैछ।

शनिबार कार्तिक शुक्ल चतुर्थीदेखि शुरू भएको सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्वमा बिहानै स्नान गरी दिनभर निर्जल व्रत गरेका वर्तालुले बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिने व्रत विधि छ।

ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरेको उल्लेख छ, जहाँबाट छठ मनाउने परम्पराको थालनी भएको मानिन्छ।

सूर्य पुराणअनुसार, सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूर्यले छठ व्रत गरेकी थिइन्, जसको फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन्।

छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ। साथै, साम्व पुराणमा कुष्ठरोगबाट पीडित साम्व सूर्यको आराधनाको फलस्वरूप रोग मुक्त हुन गएको भन्ने चर्चा छ।

धार्मिक विश्वासअनुसार, कार्तिकशुक्ल पक्षमा विधिपूर्वक सूर्यको पूजा आराधना गरी अर्घ्य दिएमा छाला रोग लाग्दैन। छठमा झुप्पा–झुप्पा फलहरू चढाउँदा सूर्य देवता प्रसन्न भई बर्तालुका कुटुम्बसहित सबै सन्तानको भलो हुने मान्यता छ।

छठ पर्वमा श्रद्धा र निष्ठाको निकै ख्याल गरिन्छ। बर्तालुहरू कार्तिक शुक्ल चतुर्थी (शनिबार) मा स्नान गरी एक छाक खाएर बस्छन्। दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खीर (खरना) षष्ठी मातालाई चढाई बर्तालुले प्रसादस्वरूप खाने र नुन नखाई फलाहार गर्छन्।

यो पर्वको मुख्य दिन आज (षष्ठी) कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिने विधि विधान रहेको गुह्येश्वरी गौरीघाट छठ पूजा समितिले जनाएको छ।

षष्ठीका दिन रातभर जागा बसी कार्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिएपछि यो पर्व समापन हुन्छ।

विसं २०४६ अघि तराईको सीमित क्षेत्रमा मनाइने छठले अहिले राष्ट्रिय स्वरूप ग्रहण गरेको छ। विसं २०४६ देखि सरकारले यस पर्वका अवसरमा राज्यभर सार्वजनिक बिदा दिने गरेको छ।

छठ पर्वका लागि राजधानीको गुह्येश्वरीबाट गौरीघाट क्षेत्र, कमलपोखरी लगायत वागमती, नख्खु र विष्णुमतीलगायत नदी किनारमा विशेष सजावट गरिएको छ। बर्तालुहरू कार्तिकशुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन्।

Copyright © 2024 | All rights reserved.