0
प्रतिक्रिया
काठमाडौँ । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग एनपीएल टी-२० क्रिकेटको क्वालिफायरमा पुगेको छ ।
बुधबार भएको इलिमिनेटर खेलमा काठमाडौँ गोर्खाजलाई ४ विकेटले हराउँदै लुम्बिनी फाइनल प्रवेशका लागि क्वालिफायरमा पुगेको हो ।
११२ रनको सामान्य चुनौती लुम्बिनीले १७ ओभर ४ बलमै ६ विकेटको क्षतिमा पूरा गर्यो । अष्ट्रेलियन खेलाडी डार्चि शर्टले ३३, सन्दीप जोराले २३ तथा कप्तान रोहित पौडेलले १८ रन बनाए ।
यसअघि खेलमा टस जितेर काठमाडौँले पहिले ब्याटिङ गर्दै १९ ओभर १ बलमा सबै विकेट गुमाएर १११ मात्ररन बनायो । सन्तोष यादवले २३ रन बनाए । मोहम्मद अदिल आलम र जोन सिम्पसनले समान १८ रन बनाए भने भीम शार्कीले १४ रन बनाए ।
शेर मल्ल र रोहित पौडेलले समान ३ विकेट लिए । त्यस्तै रुबेन ट्रम्पेल्मानले २ विकेट लिए । काठमाडौँ लिग चरणमा तेस्रो स्थानमा रहेर तथा लुम्बिनी चौथो स्थानमा रहेर इलिमिनेटर खेलेको थियो ।
विजेता लुम्बिनीले फाइनल प्रवेशका लागि बिहीबार दोस्रो क्वालिफायरमा विराटनगर किंग्ससँग खेल्नेछ । पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँ ७७ रनले पराजित हुँदै विराटनगर फाइनल पुग्न पाएको थिएन ।
विराटनगरले अर्को अवसर पाउनेछ । यता सुदूरपश्चिम भने लगातार दोस्रोपटक फाइनलमा पुगेको छ । पहिलो संस्करणमा जनकपुर बोल्टससँग फाइनलमा पराजित भएको सुदूर यसपालि उपाधि नै जित्ने लयमा छ ।
मंगलबार भएको पहिलो क्वालिफायर खेलमा विराटनगर किंग्समाथि शानदार ७७ रनको जित हासिल गर्दै सुदूरपश्चिम लगातार दोस्रो पटक फाइनलमा पुगेको हो ।
खेलमा १५६ रनको चुनौती पछ्याएको विराटनगरले कमजोर प्रदर्शन गर्दै १४ ओभर १ बलमा अलआउट हुँदै ७८ रन बनायो । दोस्रो ओभरमै ३ रन जोड्दा ३ विकेट गुमाएको विराटनगरका लागि फाफ डु प्लेसिसले २९ बलमा ३६ रन बनाए । हरमित सिंह, स्कट कुग्गेल्जेन र अविनाश बोहराले समान २ विकेट लिए ।
यसअघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ७ विकेटको क्षतिमा १५५ रन बनायो । ओपनर विनोद भण्डारीले संयमित ब्याटिङ गर्दै अर्धशतक बनाए । उनले ५२ बलमा ६३ रन जोडे ।
त्यस्तै शेल्डन ज्याक्सन र आरिफ शेखले समान २० रन जोडे । मर्चेन्ट डे लाङ्गे र प्रतिश जीसीले समान २ विकेट लिए ।
लिग तालिकाको शीर्ष स्थानमा रहेर सुदूर तथा दोस्रो स्थानमा रहेर विराटनगरले पहिलो क्वालिफायर खेलिरहेको हो । लिग चरणमा भने विराटनगरले सुदूरलाई ६ विकेटको जित हासिल गरेको थियो ।
आठ टिम सहभागी एनपीएलमा सुदूरपश्चिम १२ अंकसहित शीर्ष स्थानमा रहेर लिग चरण सकाएको छ । विराटनगर रन रेटमा काठमाडौँ गोर्खाजलाई पछि पार्दै १० अंकसहित दोस्रो स्थानमा छ ।
अब पहिलो क्वालिफायरमा सुदूर र विराटनगर खेल्नेछन् भने इलिमिनेटरमा काठमाडौँ र लुम्बिनी लायन्स खेल्नेछन् । लुम्बिनी ८ अंकसहित चौथो हुँदै प्लेअफमा पुगेको हो ।
योसँगै बाँकी चार टिम प्लेअफ होडबाट बाहिरिएका छन् । पोखरा एभेन्जर्स ७ खेलमा ६ अंकसहित पाँचौँ स्थानमा रह्यो ।
कर्णाली याक्स ७ खेलमा ४ अंकसहित छैटौँ स्थानमा रहन पुग्यो । चितवन राइनोज ७ खेलबाट ४ अंकसहित सातौँ स्थानमा रह्यो । साविक विजेता जनकपुर ७ खेलबाट २ अंकसहित पुछारमा रह्यो ।
Copyright © 2024 | All rights reserved.