0
प्रतिक्रिया
पोखरा । पोखरामा शृङ्खलाबद्ध चोरीमा गर्ने दुई जना पक्राउ परेका छन् ।
कास्की प्रहरी र वडा प्रहरी कार्यालय बैदामको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा प्युठान घर भई पोखरा-३ नदीपुर बस्ने २४ वर्षका सुमित थापा र धादिङ घर भई सोही ठाउँ बस्ने २७ वर्षका सुजन परियार रहेका प्रहरीले जानकारी दिएको छ ।
दुवै जनालाई पोखरा-९ रामघाटबाट नियन्त्रणमा लिइएको हो ।
प्रहरीका अनुसार, उनीहरुले पोखराका विभिन्न ठाउँमा चार ओटा ठूला चोरीका घटनामा संलग्न भएको खुलेको छ ।
पोखरा-१३ स्थित पोखरा लक्ष्मी ट्रेडर्सको काउन्टर फोडेर ४१ हजार रुपैयाँ र कागजात चोरेको पुष्टि भएको छ ।
यस्तै, पोखरा-४ आदर्श मार्गबाट ग१५प १०२० नम्बरको होन्डा डीओ स्कुटर चोरेको पनि अनुसन्धानबाट खुलेको छ ।
उनीहरूले पोखरा-१७ ड्यामसाइडस्थित आरुस स्टोर्सबाट दुई लाख ७३ हजार पाँच सय रुपैयाँ नगद र पोखरा-८ न्यूरोडमा पार्किङ गरेको गाडीबाट ३५ हजार रुपैयाँ र विभिन्न कागजात भएको झोला चोरेको स्वीकार गरेका छन् ।
प्रहरीका अनुसार पक्राउ परेकामध्ये सुमित निरन्तर अपराधमा संलग्न छन् ।
यसअघि अभद्र व्यवहार, चोरी उद्योग र चोरीलगायतका कसुरमा आठ पटकसम्म पक्राउ परिसकेका उनी भदौ २४ गते जेन-जी आन्दोलनको क्रममा कारागारबाट भागेका थिए ।
सुजन पनि यसअघि अभद्र व्यवहार मुद्दामा पक्राउ परेका व्यक्ति भएको कास्की प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक गणेश पाण्डेले जानकारी दिए ।
पक्राउ परेका दुवैलाई कास्की जिल्ला अदालतबाट चोरी तथा डाँकासम्बन्धी कसुरमा म्याद थप गरी थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
Copyright © 2024 | All rights reserved.