0
प्रतिक्रिया
पोखरा । धादिङ-पोखरा सम्पर्क समाजको २७औँ साधारणसभा शनिबार पोखरामा सम्पन्न भएको छ ।
कार्यक्रम उद्घाटन गर्दै इलाका मालपोत कार्यालय लेखनाथका अधिकृत कोमल प्रसाद प्याकुरेलले समाजले धादिङ र पोखराबीचको सामाजिक, सांस्कृतिक तथा आपसी सम्बन्ध मजबुत बनाउन खेलेको भूमिकाको प्रशंसा गरे ।
उनले समाजले स्थापना कालदेखि नै आपसी सद्भाव, सहयोग र एकताको भावना विकासमा निरन्तर योगदान दिँदै आएको आफूले पाएको उल्लेख गरे ।
धादिङबाट पोखरामा बसोबास गर्ने नागरिकहरूको हक, हित संरक्षण, आपत विपद्मा सहयोग तथा युवा पुस्तालाई सकारात्मक दिशामा अघि बढाउन समाजले अझ सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिए ।
साथै, शिक्षा, स्वास्थ्य र सामाजिक सेवाका क्षेत्रमा समाजले थालेका कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे ।
“सम्पर्क समाजहरू केवल औपचारिक संस्था मात्र होइनन्, यिनीहरू भावनात्मक एकताको सेतु हुन्,” उनले भने ।
उनले आगामी दिनमा समाजलाई अझ सशक्त, पारदर्शी र जनमुखी बनाउँदै लैजान सबै सदस्यलाई एकताबद्ध भएर अघि बढ्न आह्वान गरे ।
महिला सञ्जाल पोखरा-६ का अध्यक्ष बबिता मल्लले धादिङ समाज पोखराकै उत्कृष्ट संस्था भएको भन्दै समाजलाई गर्विलो बनाउन अग्रजले महत्वपूर्ण योगदान दिएको बताइन् । उनले सबै धादिङवासी गोलबन्द भएर समाजलाई थप गतिशील बनाउन आवश्यक रहेको स्पष्ट पारिन् ।
धादिङ त्रिपुरा बाराही महिला समूहका वरिष्ठ उपाध्यक्ष रचना अधिकारीले समाजसँग सहकार्य गरेर अघि बढ्दै आएको बताइन् । उनले समाज र समूह दुवै संस्थामार्फत धादिङवासीकै सेवा गरिँदै आएको उल्लेख गरिन् ।
कार्यक्रममा समाजका निवर्तमान अध्यक्ष रामप्रसाद पाण्डे, पूर्वअध्यक्ष नवराज दुवाडी, कृष्णबहादुर लम्साल, अन्तर समाज महासंघका कोषाध्यक्ष युगमराज अगस्तीलगायतले बोलेका थिए ।
समाजका अध्यक्ष सरस्वती श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष टीकाबहादुर लम्सालले स्वागत र महासचिव प्रकाश दुलालले सञ्चालन गरेका थिए ।
साधारणसभामा महासचिव दुलाल र कोषाध्यक्ष कमलबहादुर सापकोटाले प्रस्तुत गरेको प्रतिवेदन पारित भएको थियो ।
Copyright © 2024 | All rights reserved.